२ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सम्बन्धन पाएका निजी कलेजमा विषय थप गर्ने तयारी गरेको छ । त्रिवि अधिकारीका अनुसार १० वर्षपछि निजी क्याम्पसमा विषय थप गर्न लागिएको हो ।
त्रिविले जारी गरेको सूचनामा विज्ञान तथा प्रविधि अध्ययन संस्थान, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र शिक्षाशास्त्र सङ्कायका मापदण्ड पूरा गरेका निजी कलेजको सूचि सार्वजनिक गरिएको छ ।
डिनको कार्यालयले सम्बन्धन प्राप्त कलेजहरूमा कार्यक्रम थपका लागि आवेदन दिन प्रकाशित सूचना बमोजिम प्राप्त हुन आएका आवेदनहरू मध्ये तोकिएका मापदण्डहरू पुरा गरी न्युनतम ६० अङ्क वा सो भन्दा बढी अङ्क प्राप्त गर्ने कलेजको सूची त्रिविले प्रकाशित गरेको हो ।
त्रिविको मापदण्डमा १०० पूर्णाङ्कमा क्याम्पसको आफ्नो जग्गा भएमा १० नम्बर, भवनलाई ४० नम्बर, मानव संशाधनलाई २५ नम्बर, क्यूएए अथवा दुर्गमको भएमा २० नम्बर र कलेजको वैज्ञानिक स्थितिलाई ५ नम्बर तोकिएको थियो । यी मापदण्डको आधारमा डिन कार्यालयले कलेजहरूमा गएर अनुगमन गरेर मूल्याङ्कन गरेको त्रिविले जनाएको छ ।
त्रिविका अनुसार अब ६० नम्बर बढी ल्याएको एउटा कलेजले दुई नयाँ कार्यक्रम वा विषय मात्र थप गर्न पाउने छन् ।
‘डिन कार्यालयले अनुगमन गरेर मापदण्ड पूरा गरेका कलेजको नाम प्रकाशित भएको हो । अहिले नै सम्बन्धन पाएको होइन । मापदण्ड पूरा भएका कलेजले अब दुई विषय मात्र रोज्न पाउँछन्,’ शिक्षाशास्त्र संकायका डिन बेदराज आचार्यले भने ।
कुनै कलेजले दुईभन्दा बढी विषयसमेत माग गरेका छन् । त्रिविले सार्वजनिक गरेको सूचिमा दुईभन्दा बढी विषय उल्लेख भएपनि एउटा कलेजले रोजेर दुई विषयको मात्र समबन्धन पाउने छन् । त्रिविले सार्वजनिक गरेको कलेजलाई विषय थपका लागि फारम भर्न भनेको छ ।
शिक्षाशास्त्र संकायको स्नातकोत्तर तहमा ६० अंक ल्याउने कलेजको संख्या ४८ वटा रहेको छ । साथै सोही संकायको पीजीडीई तहमा १४ वटा रहेको छ । शिक्षाशास्त्र संकायकै स्नातक तहमा ७२ वटा कलेजको सूचि सार्वजनिक गरेको छ ।
विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा स्नातक तहमा न्यूनतम अंक पाउने कलेजको संख्या १२८ रहेको छ । त्यसैगरी मानविकी तथा सामाजिक शास्त्र संकायको स्नातक तहमा न्यूनतम अंक पाउने कलेजको संख्या १०४ वटा रहेको छ । सोही संकायको स्नातकोत्तर तहमा न्यूनतम अंक ल्याउनेको संख्या ४० वटा रहेको छ ।
व्यवस्थापन संकायको स्नातक तथा स्नातकोत्तर तहको लागि न्यूनतम अंक पाएका कलेजको संख्या २७५ वटा रहेको छ । कतिपय निजी कलेज सञ्चालकहरूले नै विषय थप गरेकोमा प्रश्न उठाएका छन् । मापदण्ड पूरा नभएको र एउटै विषय धेरैवटा क्याम्पसलाई सम्बन्धन दिँदा विद्यार्थीको अभाव हुने उनीहरूको तर्क छ ।
यी हुन् त्रिविले सार्वजनिक गरेको कलेज र विषयको सूची–