१५५ थान मोबाइल र ४९ कम्प्युटर (ल्यापटप) को जिल्ला प्रहरी कार्यालय धुलिखेलमा प्राविधिक अनुसन्धान भइरहेको छ।
पाँचखाल नगरपालिका–७ शिखरपुरबाट मंगलबार अपराह्न नियन्त्रणमा लिइएका ३६ चिनियाँ नागरिकले उक्त डिजिटल सामग्री प्रयोग गर्दै आएको आशंकामा प्राविधिक अनुसन्धान गर्नुपरेको प्रहरीले जानकारी दिएको छ।
रिसोर्टमा बस्दै आएका चिनिया नागरिकको शङ्कास्पद गतिविधि देखिएपछि स्थानीयबासीको गुनासोलाई मनन् गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्राविधिकले बरामत उपकरणको अनुसन्धान गरिरहेको कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए।
उनका अनुसार मंगलबार देखिनै हिरासतमा राखिएका नियन्त्रित चिनियाँ नागरिकबारे कम्प्युटर र मोबाइलको अनुसन्धानपछि सिआईबीको रायअनुसार कानुनी प्रक्रिया अघि बढने बताइएको छ।
‘पर्यटकीय भिसामा काम गरेर बसेको जस्तो देखिन्छ, दोषी ठहरिय काननुअनुसार कारबाही हुन्छ, अन्यता अध्यागमन विभागमा बुझाइन्छ’, विष्टले भने।
थाङ्का चित्र बनाउने र पर्यटन तथा प्रविधिसम्बन्धी काम गर्ने भन्दै उक्त रिसोर्टमा तीन महिनादेखि ती नागरिक बस्दै आएका थिए।
स्थानीयको गुनासोपछि प्रहरीले छापा मार्दा उनीहरुका गतिविधि शङ्कास्पद देखिएको र रिसोर्टका दुई कोठामा ल्यापटप तथा मोबाइल फोन फेला परेको प्रहरीले जनाएको हो।
चिनियाँ नागरिक उक्त रिसोर्टमा बस्न थालेपछि वडाध्यक्ष रामशरण दङ्गालले चासो दिएपनि सामान्य गतिविधिबाहेक अन्य विषयमा जानकारी लिन नसकेको बताउछन्।
‘केही हप्ताअघि प्रहरीसहित हामी रिसोर्ट गएर बुझ्दा दुईचार जनाले हामी थान्का चित्र बनाउने हो भनेपछि फर्किएका थियौँ’, दङ्गालले भने।
रिसोर्टका सञ्चालक सूर्य भेटुवालका अनुासर तीन महिनाअघि उक्त टोलीलाई रिसोर्ट नै भाडामा दिइएको बताए। चिनियाँ नागरिकले पर्यटन तथा प्रविधिसम्बन्धी काम गर्ने भन्दै रिसोर्ट भाडामा लिएको भेटुवालको भनाइ छ।
रिसोर्टमा विदेशी नागरिकको समूह लामो समयदेखि बसिरहेको भए पनि उनीहरुले के गरिरहेका छन् भन्नेबारे स्थानीय जनप्रतिनिधि नै अनभिज्ञ रहेको बताइन्छ।
वडाध्यक्ष दङ्गालले भने पछिल्लो समय चिनियाँ नागरिकको गतिविधिबारे शङ्का लागेको र स्थानीयबाट थप गुनासो आएपछि जिल्ला प्रहरी कार्यालयलाई खबर गरिएको र छानबिनका लागि सहजीकरणसमेत गरेको बताए।
भेटुवालले चिनियाँ नागरिक आफैँ रिसोर्ट खोज्दै आएकाले रिसोर्टभै भाडामा दिइएको बताए। ‘सेफ’समेत उनीहरुले आफैँसँग ल्याएकाले रिसोर्टका कुनैपनि कर्मचारी त्यहाँ नरहेको भेटुवालले बताए।
यसैबीच, पाँचखालको घटनापछि काभ्रेपलाञ्चोकको धुलिखेल, पनौती र बल्थली क्षेत्रमा चिनियाँ नागरिकको बसाइ र गतिविधिबारे चासो बढाइएको छ।
पनौतीका एक निर्माण ब्यवसायीका अनुसार बल्थली क्षेत्रमा नयाँ तथा ठूला होटल–रिसोर्टमा केही महिनादेखि चिनियाँ नागरिकको चहलपहल बढिरहेको छ।
काभ्रेपलाञ्चोकका अन्य क्षेत्रमा पनि विदेशी नागरिकको बसाइ, उनीहरुले गर्ने गतिविधि तथा कानुनी वैधानिकताबारे अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याउन थालिएको छ।
‘आजदेखि थप प्रहरी परिचालन गरी शङ्कास्पद क्षेत्रका होटल–रिसोर्टमा अनुगमन÷निरीक्षण थालिएको छ’, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भने।
उनका अनुसार पर्यटकीय क्षेत्र मानिएका जिल्लाको धुलिखेल, पनौती, पाँचखाल, दोलालघाट, नगरकोटलगायका क्षेत्रमा विदेशीको बसाई तथा गतिविधिबारे ‘संयन्त्र’द्वारा थप सूचना लिइनेछ। रासस
प्रकाशित: २ मंसिर २०८३ १६:४६ बुधबार