१५ देखि ३० कात्तिकसम्म १ लाख १९ हजार २९ सवारीले सुरुङ प्रयोग गर्दा औसत दैनिक १० लाख ९६ हजार रुपैयाँ संकलन भएको हो ।
काठमाडौं — नागढुंगा–सिस्नेखोला सुरुङमार्ग भएर गुड्ने सवारीसाधनबाट १५ कात्तिकदेखि शुल्क लिन थालेसँगै डेढ करोडभन्दा बढी राजस्व उठेको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार १५ देखि ३० कात्तिकसम्म १ करोड ६४ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन भएको हो । यो अवधिमा १ लाख १९ हजार २९ वटा सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका छन् ।
सडक बोर्ड नेपालका अनुसार सुरुङमार्ग प्रयोग गर्ने कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । मिनी बस, ट्रक र टिपरलाई काठमाडौं भित्रिँदा ११५ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ । बस र ट्रकले सुरुङमार्ग भएर काठमाडौं छिर्दा २६० र यही मार्ग भएर बाहिरिँदा २०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । ठूला ट्रक र हेभी सवारी (लरी) साधनले भने सुरुङबाट उपत्यका भित्रिँदा ६०० र बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार उक्त अवधिमा एक दिनमा सबैभन्दा बढी १० हजार ३५४ र सबैभन्दा कम ४ हजार २६६ सवारीसाधन गुडेका छन् । यस्तै, एकै दिन सबैभन्दा धेरै १४ लाख ६५ हजार ९१५ र सबैभन्दा कम ३ लाख ७१ हजार ८५० रुपैयाँ राजस्व उठेको छ । जसअनुसार औसतमा दैनिक ७ हजार ९३५ सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्ने गरेका छन् र १० लाख ९६ हजार ४६७ रुपैयाँ राजस्व उठ्ने गरेको छ ।
सुरुङ सञ्चालनको जिम्मा युसिन–एआरटी जेभीले लिएको हो । उक्त कम्पनीले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट उठेको टोल शुल्क दैनिक सडक बोर्ड नेपालको खातामा जम्मा गर्दै आएको छ । उक्त सेवा प्रदायक कम्पनीले ५ वर्षसम्म सुरुङको व्यवस्थापन र सञ्चालन गर्नुपर्नेछ ।
सुरुङमार्गभित्र सवारीका लागि गति तोकिएको छ । प्रतिघण्टा ४० किमिको गतिमा सवारी चलाउनुपर्नेछ । सुरुङ नहुँदा धादिङबाट काठमाडौं आउँदा नागढुंगा उकालोमा सवारी चाप हुने बेला साना सवारीलाई १५ र ठूलालाई ३५ मिनेट समय लाग्थ्यो । सुरुङमार्गबाट ७ मिनेटमै धादिङको सिस्नेखोलादेखि बलम्बुको किसिपिडी आइपुगिने आयोजनाको भनाइ छ ।
सुरुङभित्र भेन्टिलेसन प्रयोजनका लागि १५ वटा जेट फ्यान जडान गरिएका छन् । मुख्य सुरुङको दूरी २.६८८ र आपत्कालीन सुरुङको दूरी २.५५७ किलोमिटर छ । मुख्य सुरुङ र आपत्कालीन सुरुङबाट ३७५ मिटरमा ७ वटा क्रस प्यासेज निर्माण गरिएका छन् । सुरुङमार्गमा पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे सवारी र ननमोटोराइज्ड सवारीले भने प्रवेश पाउने छैनन् । डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरुङमार्गमा निषेध गरिएको छ । सुरुङ चौबीसै घण्टा खुला रहनेछ । टोल संकलन गर्नका लागि ६४ जना कर्मचारी परिचालन गरिएको छ ।
सुरुङको निर्माण जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरेको हो । हाज्माले जेठ २०८३ मा नागढुंगा सुरुङमार्ग निर्माण आयोजनालाई सुरुङको काम सकेर हस्तान्तरण गरेको हो । सम्झौताअनुसार एक वर्षभित्र सुरुङमा कुनै समस्या आए हाज्माले नै मर्मतसम्भार गर्नुपर्नेछ ।
विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।