सोमबार साउदी राजा सलमानको शाही आदेशमार्फत साउदी-यमन गठबन्धनको संयुक्त फौजको नेतृत्व फेरिएको घोषणा गरेका थिए
रियाद — साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता तुर्की अल-मलिकले हुथी विद्रोहीहरुविरुद्धको विशेष सैन्य कारबाही प्रभावकारी बन्दै गएको दाबी गरेका छन् ।
उनका अनुसार मंगलबार गठबन्धनले साना, हुदाइदाह, अम्रान र सादा प्रान्तहरूमा रहेका हुथी समूहका ६० वटा सैन्य लक्ष्यहरूमा प्रहार गरेको छ । ती स्थानहरु आक्रमणले ध्वस्त भएको दाबी पनि उनले गरेका छन् । उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो दाबी गरेका हुन् ।
मलिकले उक्त कारबाहीको मुख्य उद्देश्य हुथीहरूको ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रहार गर्ने क्षमतालाई कमजोर बनाउनुको साथै समुद्रमा उनीहरूको खतरालाई समाप्त पार्नु रहेको बताएका छन्।
यस कारबाहीको क्रममा गठबन्धन सेनाले ब्यालिस्टिक क्षेप्यास्त्र भण्डारण गर्न प्रयोग गरिने हुथीहरूको पहाडी सुरुङहरू पनि ध्वस्त पारेको उनले दाबी गरे ।
त्यसैगरी, मलिकले सोही दिन हुथीहरूले साउदी अरबको रियाद प्रान्तलाई लक्षित गरी प्रहार गरेको क्रुज क्षेप्यास्त्रलाई पनि गठबन्धन सेनाले आकाशमै रोकी ध्वस्त पारेको जानकारी गराएका छन्।
यसअघि सोमबार साउदी राजा सलमानको शाही आदेशमार्फत साउदी-यमन गठबन्धनको संयुक्त फौजको नेतृत्व फेरिएको घोषणा गरेका थिए ।
नयाँ सैन्य व्यवस्थाअनुसार यसअघिका कमाण्डर लेफ्टिनेन्ट जनरल फहद बिन हमद अल-सलमानलाई साउदी रक्षा मन्त्रीका सैन्य मामिला सल्लाहकारमा नियुक्त गरिएको छ।
त्यस्तै, चिफ अफ जनरल स्टाफ जनरल फैयाद अल-रुआइलीलाई संयुक्त फौजको कमाण्ड सम्हाल्नेगरी जिम्मेवारी दिइएको छ। यमनमा साउदीले हुथीविरुद्धको लडाइँमा त्यहाँको सरकारी सेनालाई साथ दिइरहेको छ ।