यो बजारकै सबैभन्दा महंगो सेयर भएको कम्पनी हो ।
काठमाडौँ — नेपाली सेयर बजारमा एउटा यस्तो कम्पनी छ, जसको एउटै सेयर किन्न लगानीकर्तासँग कम्तिमा ४८ हजार सात ५० रूपैयाँ हुनुपर्छ ।
यो बजारकै सबैभन्दा महंगो सेयर भएको कम्पनी हो । ७ असार २०४९ मा स्थापना भएको युनिलिभर नेपालको ६ असोज २०५१ बाट कारोबार भएको हो ।
बुधबार सेयर बजारमा युनिलिभिरको सेयर मूल्य प्रतिकित्ता ४८ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । यसले प्रतिकित्ता १५४० रूपैयाँको दरमा लाभांश दिने भएको छ । मंसिर ९ गतेसम्म सेयर स्वामित्व हुनेले यसले प्रस्ताव गरेको सेयर पाँउनेछन् ।
बजारमा सेयर मूल्यको आधारमा यसको लाभांश प्रतिलब्धि (यिल्ड) भने मात्रै ३ प्रतिशत हो ।
तरपनि किन यसको मूल्य हालसम्मकै उच्च छ । त्यसको मुख्य कारण भनेकै यसको निरन्तर उच्च लाभांश दर हो । बजारमा यसले निरन्तर उच्च लाभांश दिने कम्पनीको छवि बनाएको छ ।
यसको अंकित मूल्य एक सय रूपैयाँ हो । कम्पनीले सुरूमा सेयर जारी गर्ने समयमा प्रतिकित्ता एक सय रूपैयाँमा जारी गरेको हो । अंकित मूल्यको आधारमा अहिले यसले दिएको १५४० रूपैयाँको लाभांश भनेको १५४० प्रतिशत लाभांश हो ।
निरन्तर उच्च लाभांशको कारण पनि धेरैले यसको कम्तिमा केही कित्ता सेयर किनेर राख्ने गर्छन् । तर, यसको सेयर बजारमा सजिलै किन्न पाइदैन् । किनभने यसको बजारमा सूचीकृत सेयर संख्या नै न्युन छ । यसले कहिले पनि बोनस सेयर वा हकप्रद सेयर दिएर पुँजी बढाउने प्रयास गरेन ।
हाल यसको जम्मा एक लाख ३८ हजार कित्ता सेयर सर्वसाधारणको स्वामित्व छ । यही सेयर बजारमा किनबेच हुने गर्छ ।
कुन ९ करोड २१ लाख रूपैयाँ चुक्ता पुँजी रहेको यसको सञ्चितिमा मात्रै पाँच अर्ब ३६ करोड रूपैयाँ छ । यसले यसैमध्ये एक अर्ब ४२ करोड बराबरको रकम लाभांश बाड्ने भएको हो । यसरी लाभांश बाडेर पनि यससँग तीन अर्ब ८६ करोड रूपैयाँ बाँकी रहन्छ ।
यसले ब्युटि प्रडक्टका साथै दैनिक उपभोग्य बस्तु उत्पादन गर्दै आएको छ । कम्पनीका अनुसार वार्षिक करिब २७ हजार मेट्रिक टन उत्पादन हुँदै आएको छ । उत्पादित वस्तु नेपालभरका ४५ हजारभन्दा बढी खुद्रा पसल तथा डिजिटल व्यापारिक सञ्जालमार्फत उपभोक्तासम्म पु¥याइन्छ ।
यसले यस्ता उत्पादन बिक्रीबाट मात्रै बार्षिक आठ अर्ब बराबरको आम्दानी गर्ने गरेको छ । तीन वर्षयता यसको आम्दानी सामान्य दरले घटबढ भएपनि आठ अर्ब माथि नै छ ।
यसले दुई वर्ष यता बार्षिक दुई अर्ब हाराहारी नाफा गरिरहेको छ । यसको प्रतिसेयर आम्दानी दुई वर्षदेखि दुई हजार माथि छ ।
यसले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण पनि सार्वजनिक गरिसकेको छ । यो अवधिमा यसको आम्दानी दुई अर्ब २४ करोड रूपैयाँ र नाफा २५ करोड २३ लाख रूपैयाँ छ । आम्दानी १२ प्रतिशतले बढेपनि नाफा करिब १६ प्रतिशतले घटेको हो ।
यसअघि यो अवधिको नाफा दुई अर्ब ३७ लाख र नाफा ३० करोड रूपैयाँ थियो । कच्चा पद्धार्थको मूल्यमा भएको वृद्धि र अन्य खर्च केही बढेकोले नाफामा प्रभाव परेको हो ।
पहिलो त्रैमासमा बार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी एक हजार ६ सय ७८ रूपैयाँ छ भने प्रतिसेयर नेटवर्थ पाँच हजार आठ सय ३० रूपैयाँ छ ।
बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालमा हिन्दुस्तान लिभरको ८० प्रतिशत, आइजी ग्रुप होल्डिङस्को ५ प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत सेयर स्वामित्व छ । आइजी ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् नेपाली व्यवसायी रवी भक्त श्रेष्ठ ।
कम्पनीले विश्वव्यापी प्रिमियम ब्रान्डका ३३ वटा उत्पादनलाई नेपालमै उत्पादन गर्दै आएको छ। हेयर केयर, स्किन केयर, ओरल केयर र होम केयरअन्तर्गतका यी उत्पादन नेपाली बजारमा उपलब्ध गराइँदै आएको कम्पनीले जनाएको छ।
कम्पनीले उत्पादनसँगै वातावरणीय दिगोपनमा पनि जोड दिएको जनाएको छ। ‘अवनी भेन्च’ सँगको सहकार्यमा सञ्चालन हुने फोहोर व्यवस्थापन कार्यक्रमअन्तर्गत प्रयोग भएको प्लास्टिकको ७० प्रतिशत पुनः प्रयोग तथा पुनः प्रशोधन गर्ने गरेको छ । त्यस्तै, विद्युतीय बोइलर र हिट पम्प जडानपछि कार्बन डाइअक्साइड उत्सर्जन ५८ प्रतिशतले घटेको कम्पनीको दाबी छ ।
नियमित कारोबार नहुने भएकोले यसको प्राविधिक विश्लेषण त्यति भरपर्दो मानिदैन । तर, रेखा चित्रबाट हेर्दा यसले केही समयदेखि ४५ हजार आसपास टेवा पाएर बढ्न थाल्ने र ४९ हजार आसपासमा प्रतिरोध पाएर घट्ने गरेको छ । यसले दुई वर्षअघि ५६ हजार ६ सय ८८ रूपैयाँमा उच्च मूल्य बनाएको थियो ।
विजयराज खनाल कान्तिपुर मिडिया ग्रुपको आर्थिक व्युरोमा काम गर्छन् । उनी सेयर बजार र बैंक र लगानीका बिषयमा रुची राख्छन् ।