२ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले पुन: सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । काठमाडौंमा आजबाट सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।
उनले यसअघि पनि आफ्नो पार्टी संघर्षकै मैदानबाट सरकारमा भएको भन्दै कसैको कृपाले नगएको जिकिर गरे ।
‘संघर्षको मैदानबाट आएर लडेर जितेर कसैको कृपाले हामी सरकारमा गएका थिएनौं । जनताको कृपाले गएका हौं,’ ओलीले भनेका छन्, ‘अरु कुनै प्रतिक्रियावादी शक्ति, जनविरोधी शक्ति, देशद्रोही शक्तिका कृपा र आशीर्वादमा नेकपा एमाले सरकारमा गएको होइन ।’
उनले आफ्नो पार्टी पुन: सरकारमा जाने भन्दै कान खोलेर सुन्नका लागि पनि विपक्षीहरूलाई चुनौती दिए ।
‘फेरि नेकपा एमाले सरकारमा जान्छ । कान खोलेर सुने हुन्छ । देश बनाउँछ नेकपा एमालेले । विकासका काम जुन अगाडि सारेको छ, नेकपा एमालेले ती विकासका कामलाई फेरि अगाडि बढाउँछ,’ उनले भने, ‘समृद्ध नेपाल, सुखी नेपालीको सपना देख्न छोड्दैन । झन् प्रष्ट ढंगले देख्छ ।’