एभरेस्ट युनाइटेडले आयोजना गर्ने प्रतियोगिताले विभिन्न सांस्कृतिक पृष्ठभूमिका समुदायलाई जोड्दै युवा तथा अनुभवी खेलाडीलाई मैदानमा अवसर दिनेछ ।
अस्ट्रेलिया — अस्ट्रेलियाको मेलबर्नमा एभरेस्ट सकर मिट २०२६ फुटबल प्रतियोगिता हुने भएको छ । आउँदो शनिबार र आइतबार हुने प्रतिस्पर्धामा तीन विधामा १६ टोलीले हभागिता जनाउने छन् ।
मेलबर्नमा रहेको आयोजक एभरेस्ट युनाइटेड क्लबले सियरा ओपन कप, एलायन्स वाइज कप र ग्रेस योङ गन्स कप विधामा प्रतिस्पर्धा हुने जनाएको छ । आयोजक क्लबका संयोजक मोहन हमालका अनुसार सियरा ओपन कपमा ६ टोलीको सहभागिता रहनेछ भने एलायन्स वाइज कपमा ३५ वर्ष वा सोभन्दा माथि उमेर समूहका ६ टोलीको सहभागिता रहनेछ ।
१० देखि १४ वर्ष उमेर समूहका खेलाडीसम्मिलित योङ गन्स कपमा ४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सियरा ओपन र वाइज कप इलेभेन ए साइडमा खेलिनेछ भने योङ गन्स नाइन ए साइडमा हुनेछ ।
मेलबर्नकै होपर क्रसिङमा आयोजना हुन लागेको प्रतियोगिताको माध्यमबाट नयाँ खेलाडीको खोजी गरिनुका साथै बहुसांस्कृतिक समूह तथा पृष्ठभूमिबाट आएका सबैलाई एकैसाथ ल्याउने प्रयत्न रहेको आयोजकको भनाइ छ ।
फुटबलको माध्यमबाट आपसी भाइचारा, चिनजान बढाउने र समुदायका बीचमा आपसी समन्वय कायम गर्ने रहेको हमालले बताए ।
अस्ट्रेलियाको मेलबर्न पछिल्लो समयमा नेपाली फुटबलका लागि उर्बर बन्दै गएको छ । वर्षेभर हुने फुटबल प्रतियोगिताको माध्यमबाट नया“ प्रतिभाको खोजी गरी उनीहरूलाई स्थानीय फुटबलमा स्थान बनाउन प्रोत्साहन गर्ने गरिएको छ ।
केही वर्षदेखि नेपालबाट कयौं राष्ट्रिय तथा स्थानीय क्लबका फुटबल खेलाडी अस्ट्रेलिया आएका कारण समेत नेपाली फुटबलले लोकप्रियता पाइरहेको छ ।
नारायण खड्का अस्ट्रेलियाका कान्तिपुर प्रतिनिधि हुन् । उनले प्रवासी नेपाली समाज, राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।