Trending
Prev Story
Next Story

विचार | मगनी मरिक : सामाजिक असमानताको ‘चक्करघिन्नी’

Ekantipur •
November 17, 2026 • 01:32 PM
1
1 reads 0 reactions

डोम समुदायको युवकको जीवनका कष्टकर आयाममार्फत जात व्यवस्था र वर्ग व्यवस्था कसरी परिपूरक हुन्छन्, सैद्धान्तिक व्याख्या नगरीकनै उपन्यासले प्रस्ट पारेको छ ।

विचार | मगनी मरिक : सामाजिक असमानताको ‘चक्करघिन्नी’

डोम समुदायको युवकको जीवनका कष्टकर आयाममार्फत जात व्यवस्था र वर्ग व्यवस्था कसरी परिपूरक हुन्छन्, सैद्धान्तिक व्याख्या नगरीकनै उपन्यासले प्रस्ट पारेको छ ।

एउटा व्यक्ति, जसको सिंगो समुदायकै आर्थिक–सामाजिक प्रतिष्ठा जातीय विभेदको दुष्चक्रले खोसिदिएको छ । जसको आफ्ना लागि आफैं निर्णय लिने सार्वभौमिकता सामाजिक शक्ति संरचनाका कारण खुम्चिएको छ । जसका निम्ति न्याय स्वाभाविक प्रक्रिया होइन, जीवन संघर्ष बन्छ । जसका निम्ति यात्रा गन्तव्यतर्फको पाइला होइन, यथास्थानबाट भाग्ने उपक्रम मात्रै बन्छ । त्यस्तै व्यक्ति हुन्, मगनी मरिक– जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ को केन्द्रीय पात्र । नबिराउँदा नबिराउँदै पनि डर र अन्योलमा बाँच्न बाध्य डोम समुदायका युवक ।

सुँगुर चराउने, त्यसका पाठा बेचेर आर्थिक जोहो गर्ने, श्रीमतीको पेटमा रहेको बच्चालाई सकुशल जीवन देखाउने, बाबुको उपचारमा लागेको खर्च तिर्ने जस्ता एक रेखीय सपनामा भुलेको मगनीको ‘माथा खराब’ गर्न आइपुग्छ, एउटा सरकारी पत्र ।

पत्रमा मगनीका बाबुलाई सम्बोधन गरिएको हुन्छ र उनै मगनीको साउदी अरबमा निधन भएको, शव नेपाल झिकाउन आवश्यक प्रक्रिया सुरु गर्नुपर्ने र त्यसका लागि जिल्लास्थित सरकारी कार्यालय वा कन्सुलर शाखामा सम्पर्क गर्न जानकारी गराइएको हुन्छ । जबकि, मगनीका बाबु केही समयअघि आफ्नो झुपडीबाटै ‘भगवान्को देर’ चलिसकेका हुन्छन्, मगनी स्वयं भने जिउँदै हुन्छ । आफू मरिसकेको पत्र खल्तीमा बोकेर हिँडेका मगनीले सरकारी कागजमा आफू जिउँदै भएको पुष्टि गर्नका लागि गरेको संघर्ष नै उपन्यासको केन्द्रीय कथा हो ।

मधेशको कुनै गाउँ सनकपुर, सौठाका २१ वर्षीय मगनीको ‘सबकुछ’ ठीकै थियो । ‘दोजिया’ श्रीमती फुलनियाका साथमा उसको आफ्नै हैसियतको ‘निमन’ दिन बितिरहेको थियो । तर, अप्रत्याशित हात लागेको सरकारी पत्रले गाउँदेखि काठमाडौंसम्मका शक्ति प्रयोगकर्ताको अघिल्तिर उसलाई लाचार भएर उभिन बाध्य पार्छ । यससँगै आममानिसका लागि सरकारी कार्यालयको कार्यशैली, संवाद शैली, सेवालाई दायित्वभन्दा पनि अधिकार प्रयोग सम्झिने अहम्का धेरै पक्ष उजागर हुन्छन् ।

साउदीमा मगनीको मृत्यु भएको भनेर पत्र नै आएपछि उपन्यासले वैदेशिक रोजगारीको कथा भन्छ भनेर सहजै बुझ्न सकिन्छ । र, मृत्यु भएको भनिएको मगनी स्वयं जिउँदै भएकाले युवालाई विदेश पठाउने प्रक्रियामा हुने गरेका जालझेल पनि स्वत: बुझिन्छ । आफूलाई जिउँदो प्रमाणित गर्न हिँडेको मगनीले काठमाडौंको कन्सुलर विभागमा वैदेशिक रोजगारीसँग जोडिएका अन्य कैयौं पात्रलाई भेट्छ, जसमार्फत वैदेशिक रोजगारीको पारिवारिक–सामाजिक लागतको विस्तारित आयाम बुझ्न सघाउँछ । जस्तो कि, कन्सुलर विभागमा भेटिएकी मनमायाका श्रीमान् तीन वर्षदेखि साउदी अरबमा बेपत्ता छन् र उनी भने दुई नाबालक छोरी स्याहारेर लोग्नेको खोजीमा सरकारी कार्यालय धाइरहेकी छन् । यसरी राज्य रेमिट्यान्सको रेकर्डमा मग्न छ, तर त्यसको मूल्य तिर्नेहरू को हुन् ? उपन्यासले ऐनाको काम गरेको छ ।

मगनीलाई नागरिकता र पासपोर्ट बनाउनुअघि बाबु जोगिन्दरले भनेको वाक्य सशक्त छ– ‘मैलेझैं रोज बड्का नेताको शरण परेर पनि हुन्न । म जस्तो सधैं नाला सफा गरेर पनि हुन्न । नागरिकता र पासपोर्ट दुवै एकसाथ बनाइदिन्छु, विदेश जा ।’ मगनी विदेश जान नपाए पनि यी र यस्ता प्रसंगले मधेश (समग्र देश) मा वैदेशिक रोजगारी कति बलियो विकल्प भइसकेको छ भन्ने बुझाउन सकेका छन् ।

गाउँको ‘मैनेजर’ पात्रमार्फत स्थानीय शक्ति संरचनालाई सजीव चित्रण गरिएको छ । राजनीतिक–सामाजिक–आर्थिक–प्रशासनिक रूपमा प्रभावशाली ‘बड्का आद्मी’ ले निमुखा समुदायको सार्वभौमिकतालाई कसरी निष्क्रिय तुल्याइदिन्छन्, उनीहरू कसरी पासो बिछ्याउँछन् र उम्किनै कठिन हुने परिस्थिति निर्माण गर्छन् भनेर प्रस्ट्याउन खोजिएको छ । ऋण दिने र चक्रीय ब्याजको मिटर घुमाएर जीवनभर शोषण गर्ने प्रवृत्ति त छँदै थियो । मगनीले भोग्नुपरेको आपत्लाई पनि ‘मैनेजर’ ले अवसरमा परिणत गर्न खोज्छन् । जस्तो कि, मगनीलाई आएको पत्रबारे ‘मैनेजर’ ले थाहा पाएपछि गर्भवती श्रीमती गाउँ छाडेर भाग्न दबाब दिन्छ । मगनी भागेपछि उसको मृत्युलाई प्रमाणीकरण गर्ने र क्षतिपूर्ति रकम हडप्ने उसको दाउ हुन्छ । मगनीलाई उसले भन्छ– ‘सबकुछ मिलाइसकेको छु । तँ केही महिना लुधियानातिरै बस् । फुलनियालाई केही महिनाका लागि विधवा बन्न मनाइराख् । खेल खत्तम । पैसा हजम !’

उपन्यासको बलियो पक्ष हो– मगनी र फुलनियाको दाम्पत्य प्रेम । उनीहरूको प्रेममा गुलाफ वा चन्द्रमा आउँदैनन्, बरु सुँगुरको पाठा आउँछन्, सिलौटोमा लोहोरो पिसिँदा निस्किने मधुरो संगीत आउँछन् । तर तिनले प्रगाढ प्रेमको अनुभूति दिलाउँछन् । पत्रले ‘हररोज’ ओइलाउँदै गएको मगनी र त्यसको हल्काफुल्का संकेत पाएर चिन्तित फुलनियाको प्रेम ताजा छ, लोभलाग्दो छ । बान्की मिलाइएका प्रेमिल संवादहरू त छैनन्, तर प्रेम यत्रतत्र छ । यो प्रेममा पनि वर्ग छ ।

डोम समुदायको युवकको जीवनका कष्टकर आयाममार्फत जात व्यवस्था र वर्ग व्यवस्था कसरी परिपूरक हुन्छन्, सैद्धान्तिक व्याख्या नगरीकनै उपन्यासले प्रस्ट पारेको छ । त्यसैले मधेश, त्यहाँको शक्ति संरचना, जात व्यवस्था र वर्ग व्यवस्थाबारे रुचि राख्नेहरूका निम्ति ‘मगनी मरिक’ रोजाइमा पर्न सक्छ ।

उपन्यासमा कतिपय ठाउँमा मैथिली भाषामै संवाद छ । र, प्रशस्तै स्थानीय शब्दहरू प्रयोग भएका छन् । बकैनाका रुखदेखि सुँगुरको थुतुनोसम्मको मसिनो व्याख्या छ । यसले गैरमधेशी पाठकलाई पनि त्यहाँको स्थानीय भाषाशैलीदेखि सामाजिक सम्बन्धसम्म, भूगोलदेखि भोगाइसम्म, असुरक्षित बसोबासदेखि विभेदसम्म, आर्थिक व्यवहारदेखि अपेक्षासम्म, प्रेमदेखि पेसासम्म, शिक्षादेखि संघर्ष र चेतनादेखि चिन्तासम्मका विविध पक्षको स्वाद दिन्छ । र, यी सबै विषय एउटा डोम युवकको भोगाइबाट महसुस गर्न सकिन्छ ।

उपन्यासको मूल समय सन्दर्भ दुई–चार हप्ताजतिको मात्रै छ, यद्यपि यसले दलितभित्रको पनि दलित भनिने डोम समुदायको सदियौं पुराना समस्या– भूमिदेखि विभेदसम्म– को कथा भन्छ । उपन्यासमा डोम परिवारको गहिरो पारिवारिक, सामाजिक, शैक्षिक, आर्थिक, सांस्कृतिक पक्ष समेटिएको छ । ‘सुँगुरका पाठा गन्न र आफ्नो नाम भन्न जान्नेभन्दा धेरै पढेर काम छैन’ भन्ने चेतना–चिन्तन छ । किशोरावस्थामै हुने गरेका विवाह र सन्तानका कारणले थिचिएको जिन्दगी छ । झुपडी र सुँगुरको खोरबीचको दूरी छ । वर्गीय साथीहरू र तिनका जीवनकथा छन् । गर्मी लागेपछि पुग्ने सरकारी कम्बल र जाडो लागेपछि पुग्ने झुलका विवरण छन् । ‘चर्पी में हगल सुरु करी’ लेखेको पोस्टर टाँसेर दायित्व पूरा गर्ने गैरसरकारी संस्थाको रबैया छ । वैदेशिक रोजगारीका दलालका चिप्ला भाषा छन् । न्यायका घुमाउरा बाटा छन् । त्यस्तै, मधेश क्षेत्रको तत्कालीन भूमिगत राजनीति, मन्दिरमा दलित प्रवेशको संघर्ष, मिटरब्याज जस्ता प्रसंग पनि उपन्यासले समेटेको छ । यद्यपि, सहायक प्रसंगमा जोडिएका यस्ता कैयौं विषयले गहिरो विमर्श गर्न सक्दैन ।

पाठकीय मनोवृत्ति हुन्छ– जे हुनुपर्ने हो, छिटोछिटो भइहालोस्, छिटोभन्दा छिटो नतिजा थाहा होस् । यस उपन्यासको सुरुआतमा पत्रमा के लेखिएको होला भनेर तानिने पाठक त्यसपछि मगनी आफ्नो समस्याबाट बाहिर निस्केला कि ननिस्केला वा कस्तो ‘टिडिक लगाएर’ निस्केला भनेर दौडिन्छन् । उपन्यासका शब्दभन्दा पाठकीय हुटहुटी तीव्र हुँदा कथा–प्रस्तुति सुस्त लाग्न सक्छ ।

मूल कथाको आसपास रहेर धेरै सन्दर्भलाई उपन्यासको प्रसंग त बनाइएको छ, तर तिनले मूल कथालाई भुलाउने सामथ्र्य राख्दैनन् । त्यसैले पाठकले जतिखेर पनि मगनीकै गोजीको पत्र छामछुम गरिरहन्छन् र त्यसको निकास पर्खिबस्छन् ।

पाठकले जहिले पनि मूल पात्रको सानदार सफलता खोज्छन् । गहिरो असफलताले पनि पाठकमा छाप पार्छ । तर, यो उपन्यास न सफलता, न त असफलतामा अन्त्य हुन्छ । मगनीको जीवनमा विद्रोह छैन, पलायन छ । अन्योलग्रस्त मनस्थितिमा उसलाई छाडेर उपन्यासको अन्त्य गरिएको छ । हुन त सामाजिक असमानताको ‘चक्करघिन्नी’ मा घुम्दाघुम्दै जिन्दगी पूरा गर्न बाध्य भुइँमान्छेको दैनिकी प्राय: अन्योलग्रस्त हुने भएकैले यथार्थसँग तादत्म्य मिलाउन उपन्यासमा त्यस्तै अन्त्य रोजिएको हुन सक्छ । तर, पाठकलाई भने खल्लो लाग्छ ।

उपन्यासको मूल कथा (मगनीले पत्र पाउँदा) कुन सालको हो भनेर प्रस्टसँग कहीँ भनिएको छैन, तर फरक–फरक प्रसंगबाट समयको आकलन गर्दा विरोधाभास देखिन्छ । सरकारी पत्रमा मगनी मरिकको जन्ममिति २०५५ वैशाख भनिएको र त्यही पत्र पाएका समयमा उनको उमेर २१ वर्ष (पृष्ठ ३/१४०) भनिएकाले २०७६ को सन्दर्भ हो भन्ने अनुमान गर्न सकिन्छ । अर्कोतर्फ, विदेश नगए पनि नागरिकता र पासपोर्ट बनाइँदा मगनी १६ वर्षका मात्रै हुन्छन् तर १८ वर्षको भनेर बनाइन्छ । यसर्थ, सरकारी पत्रमा उसको उमेर २०५५ भए पनि उनी खासमा २०५७ को भएको बुझिन्छ । २०५५ लाई नै आधार मानेर गाविसको पत्रमा पनि उनको उमेर २१ वर्ष (पृष्ठ १४०) ‘लेखिएको’ छ ।

उल्लिखित सन्दर्भअनुसार, नागरिकताको जन्ममितिलाई आधार मान्दा मगनीलाई पत्र आएको साल २०७६ र वास्तविक जन्ममितिलाई आधार मान्दा २०७८ हुन आउँछ । मूल विरोधाभास त्यसपछि सुरु हुन्छ । किनकि, २०५५ लाई जन्ममिति राखेर नागरिकता र पासपोर्ट बनाएको साल २०७३ हुनुपर्छ, १८ वर्ष भनिएकाले । तर, सरकारी पत्रमा मृतक मगनीको घटना भएको (मृत्यु भएको) २०७२ जेठमा भनिएको छ । मगनीले नै जन्ममिति ठीक भएको भनेकाले उसको नागरिकता र पासपोर्ट बन्नुभन्दा धेरै अघि नै साउदी अरबमा मृत्यु भइसकेको विवरण अमिल्दो छ । अर्कोतर्फ, सरकारी पत्र प्राप्त भएपछि गाविसको सरजमिन र गाविस सचिव जस्ता प्रसंग छन् । जबकि, ती सबै २०७४ अघिका प्रसंग हुन् । ‘मैनेजरले आउने स्थानीय चुनावमा टिकट पाएर उठ्दै छन् रे’ (पृष्ठ ६६) भनिएकाले समग्र कथा २०७४ को स्थानीय निर्वाचनअघिको प्रसंग हो भन्ने आकलन गर्न सकिन्छ, तर मगनीको जन्ममिति, नागरिकता बनाएको मिति, ऊ २१ वर्ष पुगेको प्रसंग तथा पत्रमा लेखिएको घटना भएको मिति जस्ता विवरण एकै ठाउँमा राखेर हेर्दा संगतिपूर्ण देखिँदैनन् ।

किशोर दहाल कान्तिपुरको दैनिकको अप-एड व्युरोका संयोजक हुन् । उनी राजनीतिक इतिहास र संसदीय परम्पराबारे रुचि राख्छन् ।

Prev Swipe Story Next

Related Stories

Opinion & Editorial
Build #2612