नबिल बैंक नवौँ पटक सम्मानित भएको हो, सीजी इम्पेक्स पहिलोपटक सम्मानित भएकाे हाे ।
काठमाडौँ — सीजी कर्प ग्लोबल (चौधरी ग्रुप) काे नबिल बैंक र सीजी इम्पेक्स राष्ट्रिय कर दिवस २०८३ को अवसरमा सम्मानित भएका छन् । नबिल बैंक लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा नेपाल सरकारबाट सम्मानित भएको हो । नबिल बैंक नवौँ पटक सम्मानित भएको हो । सीजी इम्पेक्स पहिलोपटक सम्मानित भएकाे हाे। यसै सन्दर्भमा नबिल बैंकका अध्यक्ष एवं सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरीसँग कान्तिपुले गरेको कुराकानी :
१. सरकारबाट सम्मान प्राप्त गर्दा तपाईंलाई कस्तो लागिरहेको छ ? यो सम्मानले तपाईं र तपाईंको संस्थाका लागि के अर्थ राख्छ ?
नबिल बैंक र सीजी इम्पेक्सका लागि यो सम्मान लिन पाउँदा हामी अत्यन्तै गौरवान्वित र सम्मानित महसुस गरिरहेका छौँ । यो सम्मान हाम्रो सम्पूर्ण टिम, साथै हामीप्रति विश्वास राख्ने ग्राहकवर्ग र व्यावसायिक साझेदारहरूको पनि हो, जसको विश्वासले हाम्रो प्रगतिलाई सम्भव बनाएको छ । समग्रमा सीजी र नबिल परिवारले नेपालको कुल कर राजस्वमा २.५ प्रतिशतभन्दा बढी योगदान गर्दै आएक छन् । हाम्रा लागि सफलता भनेको जिम्मेवारी पनि हो । रोजगारी सिर्जना गर्नु, व्यवसाय विस्तार गर्नु र देशको प्रगतिमा अर्थपूर्ण योगदान पुर्याउनु नै हाम्रो मुख्य उद्देश्य हो ।
२. के यो सम्मानले नेपालको लगानी वातावरणप्रतिको तपाईंको विश्वासलाई थप बलियो बनाएको छ र थप लगानी गर्न प्रोत्साहित गरेको छ ?
नेपालप्रतिको हाम्रो प्रतिबद्धता सधैँ दीर्घकालीन रहँदै आएको छ । यस सम्मानले नेपालमा लगानी गर्ने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र व्यवसाय विस्तार गर्ने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ । नेपालमा अपार सम्भावना छन् । तर ती सम्भावनालाई वास्तविक लगानीमा रूपान्तरण गर्न नीतिगत स्थिरता, प्रभावकारी कार्यान्वयन र जिम्मेवार उद्यमशीलतालाई प्रोत्साहन गर्ने वातावरण चाहिन्छ । हामी नेपालको भविष्यप्रति विश्वस्त छौँ र यसको निर्माणमा योगदान दिन सधैँ प्रतिबद्ध छौँ ।
३. विशेषगरी कुन-कुन क्षेत्रमा लगानी गर्न वा व्यवसाय विस्तार गर्न इच्छुक हुनुहुन्छ ?
हाम्रा प्राथमिकताका क्षेत्रहरूमा स्वच्छ ऊर्जा, डिजिटल पूर्वाधार, वित्तीय सेवा, विद्युतीय सवारी र उत्पादनमूलक उद्योग हुन् । यसका साथै स्वास्थ्य सेवा र शिक्षामा पनि हामी ठूलो सम्भावना देखेका छौं । हाम्रो मुख्य ध्यान नेपालको उत्पादन क्षमता अभिवृद्धि गर्ने, दक्ष रोजगारी सिर्जना गर्ने र अत्यावश्यक सेवाहरूलाई बढीभन्दा बढी नागरिकको पहुँचमा पुर्याउने व्यवसाय बनाउनु हो । हामी नेपालका लागि दीर्घकालीन मूल्य सिर्जना गर्ने संस्थाहरू निर्माण गर्न चाहन्छौँ ।
४. सबैजना धनी र ठूलो करदाता बन्न चाहन्छन्। यस सन्दर्भमा तपाईंको सुझाव के छ?
युवाहरूलाई मेरो सरल सुझाव छ । अर्थपूर्ण काम गर्ने र केही नयाँ सिर्जना गर्ने लक्ष्य राख्नुस् । वास्तविक समस्या समाधान गर्नुस्, मानिसहरूको विश्वास जित्नु र छोटो बाटो अपनाउने प्रलोभन देखिए पनि इमानदारिता कहिल्यै नत्याग्नुस् । सम्पत्तिसँगै जिम्मेवारी पनि जोडिएर आउँ छ। ठूलो करदाता बन्ने आकांक्षा राख्नुहोस्, किनकि ठूलो करदाता बन्नु भनेको रोजगारी सिर्जना गर्नु, व्यवसाय विस्तार गर्नु र आफ्नो देशलाई अगाडि बढाउन योगदान पुर्याउनु हो ।