१ मंसिर, काठमाडौं । साबा महिला बास्केटबल डिसेम्बर ६ देखि भारतको चेन्नाईमा हुने भएको छ ।
फिफा महिला एसिया कप २०२७ डिभिजन बी साबा क्वालिफायर्स अन्तर्गत दक्षिण एसियाको टिम सहभागि हुने यस प्रतियोगिता चेन्नाईस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा डिसेम्बर ६ देखि १० तारिखसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा आयोजक भारतसहित नेपाल, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।
सिंगल राउण्ड रोविनका आधारमा प्रतियोगिताको खेलहरु हुनेछ । लिग चरणपछि फाइनल खेल हुनेछ ।
नेपालले डिसेम्बर ६ मा भारतसँग पहिलो खेल खेल्नेछ । यस्तै मा्लदिभ्ससँग डिसेम्बर ७ र श्रीलंकासँग डिसेम्बर ८ मा खेल्नेछ ।
लिग चरणको खेलपछि शीर्ष दुईमा रहने टिमले फाइनल खेल्नेछन् । तेस्रो र चौथो स्थानमा हुनेले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।
साबा च्याम्पियनको विजेता सिधै फिफा महिला एसिया कपमा छनोट हुने र उपविजेता टिमको छनोट बारे फिबाले अन्तिम निर्णय गर्न बाँकी रहेको राष्ट्रिय महिला बास्केटबल टिमका मुख्य प्रशिक्षक विकास शाहीले जानकारी दिए ।
हाल नेपाली महिला बास्केटबल टोली प्रशिक्षणमा रहेको र साबा बास्केटबलका लागि छिटै १२ सदस्यीय अन्तिम टोली घोषणा गरिने नेपाल बास्केटबल संघका अध्यक्ष भिमसिंह गुरुङले जानकारी दिए ।
साबा बास्केटबलको लागि राष्ट्रिय टोलीमा समावेश हुने खेलाडीले दशौँ राष्ट्रिय खेलकुद नखेल्ने गुरुङले जानकारी दिए ।
दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ गतेदेखि कर्णाली प्रदेशको सुर्खेतमा सुरु हुनेछ । महिला बास्केटबलको प्रतिस्पर्धा भने मंसिर ८ गतेदेखि नै सुरु हुनेछ । तर राष्ट्रिय खेलकुद खेलेर लगत्तै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा ट्राभल देखि धेरै कुराले असर गर्ने हुँदा राष्ट्रिय खेलकुद नखेल्ने प्रशिक्षक शाहीले जानकारी दिए ।