कामबाट हटाइएपछि महिनौंसम्म पारिश्रमिक नपाउने र अर्को रोजगारीमा जान वा स्वदेश फर्कनसमेत कठिनाइ भोग्नुपरेको एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनमा उल्लेख छ ।
साउदी अरबमा अमेजनका गोदाममा काम गर्ने नेपालीसहितका आप्रवासी श्रमिकले अझै शोषण र दुर्व्यवहार भोग्नुपरेको पाइएको छ । श्रमिक आपूर्ति गर्ने तेस्रो पक्षका कम्पनीमार्फत काममा लगाइएका उनीहरूलाई अमेजनले चाहेका बेला कामबाट हटाउन सक्ने र त्यसपछि महिनौंसम्म पारिश्रमिकविहीन बनाउने गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।
एम्नेस्टीले सोमबार सार्वजनिक गरेको ‘साउदी अरबमा अमेजन : आप्रवासी श्रमिक किन अझै शोषणको जोखिममा छन्’ शीर्षकको प्रतिवेदन मा नेपाली र भारतीय श्रमिकले भोगिरहेका समस्या उजागर गरिएको छ । सन् २०२५ सेप्टेम्बरदेखि २०२६ मार्चसम्म गरिएको अनुसन्धानका क्रममा रियादस्थित अमेजनको एउटा गोदाममा काम गर्ने वा हालै काम छाडेका नेपाल र भारतका २४ श्रमिकसँग अन्तर्वार्ता गरिएको थियो ।
प्रतिवेदनअनुसार अमेजनले श्रमिकको भर्ना शुल्कमा हुने अनियमितता घटाउने, आवासको अवस्था सुधार्ने र गुनासो सुनुवाइको व्यवस्था गर्ने प्रयास गरे पनि श्रमिकको रोजगारी र आवागमनमाथि श्रमिक आपूर्ति कम्पनीको नियन्त्रण कायमै छ । सन् २०२३ मा एम्नेस्टीले यस विषयमा अनुसन्धान सार्वजनिक गरेपछि अमेजनले साउदी अरबमा कार्यरत १ हजार १ सय ८० श्रमिकलाई २४ लाख ५० हजार अमेरिकी डलरभन्दा बढी रकम फिर्ता गरेको थियो ।
तर तेस्रो पक्षका कम्पनीमार्फत श्रमिक भर्ना गर्ने अमेजनको प्रणालीले उनीहरूलाई रोजगारी, पारिश्रमिक र कानुनी हैसियतका लागि श्रमिक आपूर्ति कम्पनीमै निर्भर बनाएको प्रतिवेदनमा उल्लेख छ । नेपालका प्रकाशले अमेजनले चाहेका बेला आफूहरूलाई कामबाट हटाउन सक्ने भन्दै असुरक्षा व्यक्त गरेका छन् । ‘अमेजनले चाहेका बेला हामीलाई कामबाट निकाल्न सक्छ । आज वा भोलि कहिले कामबाट निकाल्ने हो भन्ने टुंगो हुँदैन । हामी अस्थायी श्रमिक हौं,’ उनले भनेका छन् ।
अन्तर्वार्ता दिएकामध्ये झन्डै सबै श्रमिकले अमेजनले जुनसुकै बेला गोदामको कामबाट हटाउन सक्ने बताएका छन् । कामबाट हटाइए पनि उनीहरूलाई भिसा प्रायोजन गर्ने श्रमिक आपूर्ति कम्पनीसँगै आबद्ध रहनुपर्ने हुन्छ । त्यसपछि अर्को काम नपाएसम्म हप्तौं वा महिनौंसम्म पारिश्रमिक नपाउने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ ।
अमेजनबाट काम गुमाएपछि श्रमिक आपूर्ति कम्पनीले तीन महिनासम्म पारिश्रमिक नदिएको भारतका अयानको भनाइ छ । भारत फर्कने प्रतीक्षामा रहेका बेला आर्थिक अभावका कारण सहकर्मीको सहयोगमा खाना खानुपरेको उनले जनाए ।
भारतका रविलाई नजिकका आफन्तको मृत्यु भएपछि बिदामा बसेका बेला अमेजनले कामबाट हटाएको थियो । श्रमिक आपूर्ति कम्पनीले बिदा स्वीकृत गरे पनि उनलाई पुनः काममा लगाउने व्यवस्था नगरेको उनको भनाइ छ । घर फर्कनका लागि बहिर्गमन भिसाको प्रक्रिया अघि बढाउन दुई महिनाको तलबबराबर रकम मागिएको उनको गुनासो छ ।
एम्नेस्टीका अनुसार कतिपय श्रमिक आपूर्ति कम्पनीले काम गुमाएका श्रमिकलाई अर्को रोजगारदाताकहाँ पठाउनुको सट्टा कम पारिश्रमिकको काम गर्न दबाब दिने गरेका छन् । कतिपयलाई घर फर्कनसमेत अवरोध हुने गरेको छ । यसले अमेजनमा काम गरिरहेका अन्य श्रमिकलाई पनि जुनसुकै बेला रोजगारी गुम्ने त्रासमा राखेको छ ।
अमेजनले केही सुधार गरे पनि श्रमिकको भर्ना र रोजगारीको जिम्मा बाह्य कम्पनीलाई दिइरहँदा उनीहरू शोषणको जोखिममा रहेको एम्नेस्टी इन्टरनेसनलकी कार्यक्रम निर्देशक मार्टा साफको भनाइ छ । अमेजनलाई श्रमिकको आवश्यकता नपरेपछि उनीहरू काम र पारिश्रमिक दुवैबाट वञ्चित हुने गरेका छन् । तर श्रमिक आपूर्ति कम्पनीसँगको सम्बन्धका कारण न घर फर्कन सक्छन्, न अर्को रोजगारीमा जान ।
अमेजनका गोदाममा काम गर्ने श्रमिकले उत्पादन लक्ष्य पूरा गर्न अत्यधिक दबाब खेप्नुपरेको पनि प्रतिवेदनले औंल्याएको छ । कामको निरन्तर निगरानी हुने र लक्ष्य पूरा गर्न नसके व्यवस्थापकले कामबाट निकाल्ने धम्की दिने गरेको श्रमिकहरूको भनाइ छ ।
लक्ष्य पूरा गर्न नसक्दा व्यवस्थापकले चर्को स्वरमा गाली गर्ने र कामबाट हटाउने धम्की दिने गरेको एक वर्षभन्दा बढी समयदेखि सामान संकलन गर्ने काम गर्दै आएका दीपकले बताएका छन् । श्रमिकहरूले अमेजनको ‘माइभ्वाइस’ गुनासो सुनुवाइ प्रणाली प्रयोग गर्न सक्ने भए पनि श्रमिक आपूर्ति कम्पनीले प्रतिशोध साँध्न सक्ने डरले कतिपयले उजुरी गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ । अमेजनको गोदामबाट बाहिरिएपछि उक्त प्रणालीमा पहुँचसमेत गुम्ने भएकाले रोजगारदाता कम्पनीसँग सम्बन्धित समस्याबारे गुनासो गर्न थप कठिन हुने गरेको छ ।
यता अमेजनले भने श्रमिक आपूर्ति कम्पनीमाथिको अनुगमन बढाएको र काम सकिएपछि बाँकी पारिश्रमिक तथा सुविधा भुक्तानी गर्न निर्देशन दिइएको जनाएको छ । अर्को रोजगारदाताकहाँ काममा पठाउन नसके श्रमिकलाई स्वदेश फर्काउने खर्चसमेत श्रमिक आपूर्ति कम्पनीले बेहोर्नुपर्ने अमेजनको भनाइ छ ।
कफला प्रणालीअन्तर्गत रोजगारदाताको प्रायोजनमा आप्रवासी श्रमिकको बसोबास तथा रोजगारीको कानुनी हैसियत जोडिने भएकाले उनीहरू रोजगारदाता परिवर्तन र देश छाड्ने प्रक्रियामा समेत निर्भर रहनुपर्ने अवस्था छ । साउदी अरबले कफला प्रणालीमा सुधार गरे पनि व्यवहारमा श्रमिकमाथिको नियन्त्रण कायमै रहेको एम्नेस्टीको निष्कर्ष छ ।
तेस्रो पक्षका श्रमिक आपूर्ति कम्पनीमाथिको निर्भरता हटाएर श्रमिकलाई प्रत्यक्ष रोजगारी दिन एम्नेस्टीले अमेजनलाई सुझाएको छ । अनुसन्धानका निष्कर्ष अमेजन र साउदी सरकारलाई पठाइएको एम्नेस्टीले जनाएको छ । अमेजनले आफ्नो जवाफ दिएको भए पनि प्रतिवेदन सार्वजनिक हुँदासम्म साउदी सरकारले प्रतिक्रिया नदिएको संस्थाको भनाइ छ ।
होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।