मध्यावधि निर्वाचनमा आफ्नो पार्टीले ठूलो धक्का व्यहोरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै हप्ता एसिया भ्रमणमा निस्कँदै छन्।
एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको साइडलाइनमा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग त्रिपक्षीय भेटवार्ता गर्ने सम्भावना छ । जहाँ नेताहरूले युक्रेन र इरानका युद्धहरू, आणविक हतियार र एआई लगायतका विश्वव्यापी संवेदनशील विषयहरूमा छलफल गर्ने अपेक्षा गरिएको छ।
चीनमा ट्रम्प-सी-पुटिन त्रिपक्षीय बैठक
अमेरिकी प्रशासनले शुक्रबार नोभेम्बर १८–१९ सम्म चीनको सेन्जेनमा आयोजना हुने उक्त कार्यक्रममा ट्रम्पको सहभागिताको पुष्टि गरेको छ। यद्यपि, प्रतिवेदनहरूले कुनै ठूलो सम्झौता हुने सम्भावना भने न्यून रहेको सङ्केत गरेका छन्। तीन नेताहरू ट्रम्प, चिनफिङ र पुटिन त्रिपक्षीय भेलामा भेट्न लागेको यो पहिलो पटक हुनेछ।
चीनमा हुने एपेक शिखर सम्मेलनको साइडलाइनमा आयोजना हुने त्रिपक्षीय बैठकमा छलफल हुने सम्भावित विषयहरूमध्ये आणविक अप्रसार (न्युक्लियर नन–प्रोलिफरेसन) हो। ट्रम्पले आणविक हतियारबारेको छलफलले विश्वका सबैभन्दा ठूला आणविक शक्ति सम्पन्न राष्ट्रहरूबीच नयाँ सम्झौता गराउन सक्ने बताएका छन्।
ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सका अनुसार, ‘राष्ट्रपतिले अन्य विषयहरूका अतिरिक्त विश्वमा आणविक हतियारको कटौतीबारे छलफल गर्ने स्पष्ट पार्नुभएको छ। यो प्रसार (प्रोलिफरेसन) निकै खतरनाक छ भन्ने राष्ट्रपति ट्रम्पको विश्वास छ।’
क्रेमलिनद्वारा नोभेम्बर १९ को बैठक पुष्टि, चीनको प्रतिक्रिया आउन बाँकी
क्रेमलिनले पनि उक्त बैठक नोभेम्बर १९ मा सेन्जेनमा हुने तय भएको बताएको छ, तर चिनियाँ प्रशासनबाट भने अहिलेसम्म कुनै पुष्टि भएको छैन।
वासिङ्टनस्थित बेइजिङको दूतावासका एक प्रवक्ताले यसअघि भनेका थिए, ‘तीन राष्ट्रप्रमुखहरूबीचको बैठकका सम्बन्धमा चीन सम्बन्धित पक्षहरूसँग सम्पर्कमा छ। अहिले हामीसँग साझा गर्नका लागि केही छैन,’ रोयटर्सले रिपोर्ट गरेको छ।
प्रस्तावित शिखर सम्मेलनलाई याल्टासँग किन तुलना गरिँदै छ?
यस हप्ता नेताहरूबीच हुन लागेको प्रस्तावित बैठकलाई सन् १९४५ मा अमेरिका, बेलायत र सोभियत सङ्घबीच भएको याल्टा सम्मेलनसँग तुलना गरिँदै छ । जसले प्रभाव क्षेत्रहरू (स्फेयर अफ् इन्फ़्लुएन्स ) लाई औपचारिकता दिन मद्दत गर्दै दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्थाको आधार तयार पारेको थियो। इन्डियन एक्सप्रेसको सहयोगमा