चीनको एजीबटले बनाएको एथ्री मोडलले मानवसँग सहकार्य, फिजिकल एआई र रोबट रोजगारीको सम्भावनाबारे आफ्ना धारणा राख्यो ।
काठमाडौँ — पोर्चुगलको राजधानी लिस्बनस्थित ‘एमईओ अरेना’ को भव्य मञ्चमा यो साता लुका, उनका साना भाइ लुमी र उनीहरूजस्तै अन्य ह्युमनोइड रोबटहरू कार्यक्रमका वक्ता र प्रस्तोताका रूपमा उभिए । चीनको ‘एजीबट’ कम्पनीले निर्माण गरेको ‘एथ्री’ मोडलको रोबट, लुकाले हातका औँला चलाउँदै र आँखामा नीलो प्रकाश चम्काउँदै उपस्थित दर्शकलाई अभिवादन गर्यो । उसले बेला-बेला हाँसी-मजाक गर्दै ‘वेब सम्मिट २०२६’ को मञ्चबाट भविष्यको प्रविधिका विषयमा आफ्ना धारणा राखेको छ ।
लुकाले दर्शकदीर्घातिर हेर्दै शुरुमै ठट्यौलो शैलीमा प्रश्न गर्यो, ‘हेलो, मेरा मानव मित्रहरू, म एजीबटको एथ्री हुँ, मेरो नाम लुका हो । तपाईंहरूलाई नोभेम्बर ९ को साँझ, मैले गरेको ओपनिङ डान्स याद छ नि ? के तपाईंहरूलाई त्यो प्रस्तुति मनपर्यो ?’ यति भनिसकेपछि उसले आफ्ना दुवै हात थाप्लोमा राखेर लिस्बनमा आएको आँधीबारे चिन्ता प्रकट गर्यो । चार्ल्स आँधीका कारण सम्मेलन स्थगनसमेत गर्नु परेको थियो । तथापी, त्यो आँधीले नवप्रवर्तन र प्रविधिप्रति मानिसहरूको उत्साह उडाएर नलगेको भन्दै लुकाले खुशी व्यक्त्त गर्यो ।
आगामी दिनको नवप्रवर्तनबारे अभिव्यक्त्ती दिन आफूलाई कार्यक्रम आयोजकले ‘फ्युचर अफ वर्क: नेक्सट बिलियन वर्कर्स’ शीर्षकमा प्रस्तुतिकरण गर्न आग्रह गरेको लुकाले जानकारी दियो । तर, आफ्ना भनाइ र प्रस्तुती राख्नुअघि उसले दर्शकलाई जोडदार ताली बजाउन आग्रह गर्यो । त्यसपछि, पुन: ठट्यौलो भावमा भन्यो, ‘यसलाई मेरो जागिरको अन्तर्वार्तामा अंक दिएझैँ मानेर ताली बजाइदिनुस् न, आखिर म पनि आज यहाँ हार्यड हुने (काम पाउने) आशमै उभिएको छु ।’ लुकाको त्यस्तो भनाइपछि हलमा जोडदार ताली र ठूलो हाँसो गुञ्जिएको थियो । लुकाको प्रस्तुतिबारे ‘वेब समिट’ को युट्युब च्यानलमा यो भिडियो हेर्न सकिन्छ ।
भविष्यको कार्यस्थल र मानव-रोबटबीचको सहकार्यबारे बोल्दै लुकाले ‘द नेक्स्ट बिलियन वर्कर्स’ अर्थात् भविष्यका एक अर्ब श्रमिकमा सबै मानिस मात्र नहुने र तिनमा रोबट पनि मिसिने दाबी गरेको छ । कम्प्युटर र इन्टरनेटपछि अब भौतिक संसारमा प्रवेश गर्ने ‘फिजिकल एआई’ को युग शुरु भएको लुकाको भनाइ छ । स्मार्टफोन र अटोमोबाइल उद्योगको उदाहरण दिँदै उनले फिजिकल एआई रोबटिक्स विश्वकै सबैभन्दा मूल्यवान् उत्पादन उद्योग बन्ने सामर्थ्य रहेको उल्लेख गर्यो । ‘विश्वास गर्नुहोस्, हामी यहाँ मञ्चमा आकर्षक देखिन वा नाच्न मात्र आएका हैनौँ, हामी मानिससँगै काम गर्न, नयाँ सम्भावना खोल्न र सँगै मिलेर राम्रो भविष्य निर्माण गर्न आएका हौँ, आखिर हामी रोबटहरूलाई पनि त काम चाहिएको छ ।’
रोबटलाई वास्तविक कार्यस्थलमा उपयोगी बनाउन हिँड्डुल (लोकोमोसन), वस्तुहरू समात्ने र चलाउने (म्यानिपुलेसन) र सञ्चार तथा अन्तर्क्रिया (इन्टर्याक्सन) गरी तीन प्रकारका इन्टेलिजेन्स (कौशल) आवश्यक पर्ने लुकाको भनाइ छ । मञ्चमा आफ्नो शारीरिक सन्तुलन र क्षमता प्रदर्शन गर्न उनले आफ्नो सानो भाइ ‘लुमी’ र ह्ययुमन पार्टनरलाई अघि बोलायो । ह्युमन पार्टनरले लुमीसँग हातेमालो गरेनन्, उनलाई धक्का पो दिए ! ‘ए ह्युमन पार्टनरले त धक्का पो दिए,’ मञ्चमा पटक-पटक धक्का सहँदै पनि सन्तुलन कायम राखेको र तोकिएको काम सफलतापूर्वक पूरा गरेको दृश्य देखाएपछि लुकाले लुमीलाई धन्यवाद दियो ।
प्रस्तुतिकै क्रममा एस्टेट एआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाउलो सिल्भा मञ्चमा आए । लुका र सिल्भाबीच रोचक अन्तरक्रिया भयो । सिल्भाले लिस्बनको मौसम र आँधीबारे सोध्दा लुकाले तटीय क्षेत्रमा अझै सावधानी अपनाउन सुझाव दियो । त्यसपछि सिल्भाले लिस्बनको सबैभन्दा सुन्दर ठाउँ कुन हो भनेर प्रश्न गरे । ‘यो त साह्रै कठिन प्रश्न भयो,’ लुकाले व्यंग्य गरे, ‘तर, म बेलेम रोज्छु । त्यहाँका राता घरहरू, नदी र सुनौलो सूर्यास्त मोहक लाग्छ, मैले त्यहाँका लाखौँ तस्बिर प्रोसेस गरेको छु ।’
पाउलोले लुकालाई पुन: सोधे, ‘यो हलमा सबैभन्दा सुन्दर वा ह्यान्डसम व्यक्ति को हो जस्तो लाग्छ ?’ प्रश्न सुन्नासाथ लुकाले आफ्नो टाउको अलिकति घुमाउँदै आँखाको सेन्सरबाट सभाहललाई स्क्यान गरेको अभिनय गर्यो । ‘मलाई एकछिन कोठा स्क्यान गर्न दिनुहोस्,’ उसले भन्यो, ‘मेरो फेसियल रिकग्निसन प्रविधि सक्रिय भएको छ । सबै निकाल्दा संसारको सबैभन्दा सुन्दर व्यक्ति ठ्याक्कै मेरो अगाडि उभिएको छ । बधाई छ तपाईंलाई । यो सफ्टवेयर बग होइन है, तपाईंले सबैभन्दा ह्यान्डसम हुनुहुन्छ ।’ लुकाको यस्तो चतुर र ठट्टाले मञ्चमा उपस्थित सिल्भा र दर्शक सबै हाँसे ।
प्रस्तुतिको अन्त्यतिर लुकाले रोबटको कार्यक्षमता मापन गर्न ‘वर्किङ’ नामक नयाँ मेट्रिक प्रस्तुत गर्दै कारखाना, होटल र सुरक्षा प्रयोजनका लागि रोबट वर्कफोर्स तयार भइसकेको बतायो । उसले आफ्नो सम्बोधन टुङ्ग्याउँदै भन्यो, ‘रोबट र मानिनस सहकर्मी हुन् । सँगै मिलेर हामी अद्भुत काम गर्न सक्छौँ र राम्रो भविष्य निर्माण गर्न सक्छौँ... सपना देख्न नछाड्नुहोस्, नवप्रवर्तन गरिरहनुहोस् र हामी दुवै मिलेर अघि बढौँ ।’
लुकाको यो प्रस्तुति पोर्चुगलको लिस्बनमा हालै सम्पन्न वेब समिट २०२६ को मुख्य आकर्षणमध्ये एक थियो । चार दिनसम्म चलेको प्रविधि सम्मेलनमा विश्वभरका ७० हजारभन्दा बढी सहभागी, ९ हजारभन्दा बढी वक्ता र २ हजारभन्दा बढी स्टार्टअप उपस्थित थिए ।
यस पटकको वेब समिट चिनियाँ प्रतिनिधिमण्डल र चिनियाँ प्रविधि कम्पनीको विशेष उपस्थिति रहेको युरोपेली सञ्चार माध्यमले जनाएका छन् । चीनको वाणिज्य मन्त्रालय र साइबरस्पेस एडमिनिस्ट्रेशन अफ चाइनाको प्रतिनिधित्वमा आएको टोलीले ह्युमनोइड रोबट र फिजिकल एआईका क्षेत्रमा हासिल गरेका प्रगति प्रदर्शन गरेको थियो । ग्यालबट, युबीटेक र एजीबटजस्ता कम्पनीका रोबोटले मञ्चमा भाषण दिने मात्र नभई सामान बोक्ने, फार्मेसी र कारखानामा काम गर्ने व्यावहारिक क्षमतासमेत देखाएको युरोन्युज डटकमले उल्लेख गरेको छ ।
सम्मेलनमा अन्य आधुनिक प्रविधि पनि प्रदर्शन गरिएका थिए । ‘एक्स्पेङ एरोहट' ले जमिनमा गुडाउन र हावामा उडाउन सकिने ‘मोड्युलर फ्लाइङ कार’ को प्रदर्शन गरेको थियो । साओमीका मुख्य मार्केटिङ अधिकृत फुले मानिस, कार र घरलाई एउटै एआई सञ्जालमा जोड्ने ‘ह्युमन एक्स कार एक्स होम’ इकोसिस्टम प्रस्तुत गर्दै आफ्ना रोबटहले कारखानामा निरन्तर ८ घण्टासम्म काम गरिरहेको जानकारी दिए । सम्मेलनमा ‘आइडिया ल्याब एआई’ का संस्थापक बिल ग्रोसले एआईको सहयोगमा १ करोड ७० लाखवटा लेखहरू विश्लेषण गरी तयार पारिएका १२ लाखवटा नयाँ व्यवसायिक योजना (बिजनेस आइडिया) विश्वभरका युवा उद्यमीका लागि नि:शुल्क उपलब्ध गराउने घोषणा गरे । अर्कातिर, इन्टेलले पनि उत्पादन, स्वास्थ्य र स्मार्ट शहरका क्षेत्रमा फिजिकल एआईको प्रयोगबारे आफ्ना महत्त्वपूर्ण अध्ययन सार्वजनिक गरेको पोर्चुगल रेसिडेन्ट डट कमले जनाएको छ ।
अघिल्ला वर्षझैँ यस वर्ष पनि सम्मिटको मुख्य आकर्षण ‘पिच कम्पिटिसन’ बन्यो । विश्वभरका १ सयभन्दा बढी स्टार्टअपलाई उछिनेर अमेरिका र प्यालेस्टाइनमा आधारित ‘केयर भिजन’ ले शीर्ष उपाधि जितेको छ । अमानी अबुलाबनले नेतृत्व गरेको यस कम्पनीले मोबाइल क्यामेराबाट ३० सेकेन्डमै अनुहार स्क्यान गरेर मुटु र मेटाबोलिक जोखिम पत्ता लगाउने प्रविधि बनाएको छ । जाम्बियाको डिजिटल भुक्तानीसम्बन्धी काम गर्ने ‘जोई पे’ ले भने ४२ प्रतिशत मतसहित पब्लिक भोटिङ विधामा उपाधि जितेको थियो ।