Trending
Prev Story
Next Story

सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान

Nagarik News •
November 16, 2026 • 05:23 AM
5
5 reads 0 reactions

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया ढिलो सुरु गर्ने भएपछि बर्दियाका किसान सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन्।

सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया ढिलो सुरु गर्ने भएपछि बर्दियाका किसान सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन्। हिउँदेबाली लगाउन खेत जोत्ने, मल तथा बीउ खरिद गर्ने र घरायसी खर्च जुटाउनुपर्ने भएपछि किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा निकै कम मूल्यमा धान बिक्री गरिरहेका छन्।

गुलरिया नगरपालिका–१२ भैसाहीका अगुवा किसान जगमोहन थारूले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले समयमै धान खरिद नगर्दा सस्तो मूल्यमा धान बिक्री गर्नुपरेको बताए। उनले प्रतिक्विन्टल रु दुई हजार ८०० का दरले ३०० क्विन्टल धान बिक्री गरेको बताए।

उनले बताए, “हिउँदेबाली लगाउन खेत जोत्ने खर्च र घरायसी आवश्यकता पूरा गर्न धान सस्तोमा बिक्री गर्नुपरेको छ।” उनीजस्तै बढैयाताल गाउँपालिका–७ का किसान रामदेव थारूले पनि सस्तो मूल्यमा धान बेचेका छन्। मल तथा हिउँदेबालीका लागि बीउ खरिद गर्न रकम अभाव भएपछि शनिबार धान बिक्री गरेको उनले बताए।

बर्दियामा अहिले मोटा धान प्रतिक्विन्टल रु दुई हजार ९०० मा बिक्री भइरहेको छ। बढैयाताल गाउँपालिका–५ बढैयागाउँका गल्ला व्यापारी सुरेश थारुले मोटा धान प्रतिक्विन्टल रु दुई हजार ९०० र मसिनो धान रु चार हजारका दरले खरिद गरिरहेको बताए।

बर्दियामा धान खरिद गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, राजापुरले मङ्सिर ३ गतेदेखि धान खरिद गर्ने जनाएको छ।

गत वर्ष कात्तिक १९ गतेदेखि खरिद सुरु गरेको कम्पनीले यस वर्ष करिब दुई साता ढिलो प्रक्रिया अघि बढाउँदा किसानले आधाभन्दा बढी धान सस्तो मूल्यमा बिक्री गरिसकेको नेपाल किसान महासङ्घका अध्यक्ष बिपी भण्डारीले बताए। किसानको धान समयमै खरिद गर्न कम्पनीलाई दबाब दिँदै आएको उनले बताए।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, राजापुरले यस वर्ष बर्दियाबाट ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ। कम्पनीका वरिष्ठ सहायक एवं सूचना अधिकारी चेतमान कठायतले गत वर्षझैँ यस वर्ष पनि बर्दियाका लागि ३० हजार क्विन्टल धान खरिद गर्ने अनुमति प्राप्त भएको बताए।

जिल्लाको प्राथमिक खरिद समितिले बीचमा तिहार बिदा परेका कारण मङ्सिरको पहिलो सातादेखि धान खरिद गर्ने निर्णय गरेको उनले बताए।

जिल्लाका आठवटै पालिकाबाट प्रतिपालिका तीन हजार क्विन्टलका दरले धान खरिद गर्ने योजना रहेको कठायतले बताए। उहाँका अनुसार २४ हजार क्विन्टल धान पालिकामार्फत र बाँकी छ हजार क्विन्टल कम्पनीको आफ्नै परिसरबाट खरिद गरिनेछ।

सरकारले यस वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ६६० र मध्यम धानको रु तीन हजार ८६० तोकेको छ। गत वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ४६३ र मध्यम धानको रु तीन हजार ६२८ तोकिएको थियो।

बर्दियामा ५० हजार एक सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ। उक्त क्षेत्रफलबाट दुई लाख २८ हजार ८१ मेट्रिक टन धान उत्पादन हुने गरेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका कृषि प्राविधिक अधिकृत एवं सूचना अधिकारी फिर्तुमान चौधरीले बताए।

प्रकाशित: ३० कार्तिक २०८३ ११:०८ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2d ago
बाँकेमा धान खरिददेखि प्रशोधनसम्म सहकारीको साथ, किसानलाई राहत

बाँकेमा धान खरिददेखि प्रशोधनसम्म सहकारीको साथ, किसानलाई राहत

२८ कात्तिक, नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्न सुरु गरेको छ । सहकारीले गाउँमै किसानको उत्पादन खरिद गर्न थालेपछि स्थानीय किसानलाई धान बिक्री …

#धान #खरिद #किसान
Compare →
Hamro Patro News
7h ago
धान काट्न व्यस्त छन् इलामका किसान

धान काट्न व्यस्त छन् इलामका किसान

इलामका तल्लो क्षेत्रमा धान काट्ने सिजन सुरु भएको छ । तिहार सकिएसँगै यहाँका किसान धान काट्न व्यस्त छन् । यस वर्ष समयमा वर्षा भएकाले धान उत्पादन राम्रो हुनुका साथै भित्र्याउने समयमा मौसमले साथ दिएपछि...

#धान #किसान
Compare →
Ekantipur
21h ago
हात्ती प्रभावित क्षेत्रका किसानको धान काट्न जनप्रतिनिधि र सुरक्षाकर्मी खेतमै

हात्ती प्रभावित क्षेत्रका किसानको धान काट्न जनप्रतिनिधि र सुरक्षाकर्मी खेतमै

समयमै धान नभित्र्याए हात्तीले नष्ट गर्ने डरबीच सुरक्षा निकाय, जनप्रतिनिधिले खेतमै पुगेर किसानको दुःखमा साथ दिएका हुन् ।

#धान #किसान
Compare →
Bizshala
2d ago
पूर्वआईजीपी दानबहादुर कार्की जोडिएको म्यादी प्रहरी पोशाक खरिद प्रकरणमा अख्तियार सक्रिय, ठेकेदारलाई फेरि बोलाएर बयान

पूर्वआईजीपी दानबहादुर कार्की जोडिएको म्यादी प्रहरी पोशाक खरिद प्रकरणमा अख्तियार सक्रिय, ठेकेदारलाई फेरि बोलाएर बयान

काठमाण्डौ । निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि पोशाक तथा अन्य सामग्री खरिदमा भएको भनिएको अनियमिततामाथि अख्तियार...

#खरिद
Compare →

Related Stories

Business & Economy
Build #2612