मधेशी समुदायले छठ पर्वलाई श्रद्धा, भक्ति र लोकआस्थाको महापर्वका रूपमा मान्दै आएको परम्परा भए पनि पछिल्ला वर्षहरूमा बुटवल र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मधेशीसँगै पहाडी समुदायले पनि छठ पर्व मनाउन थालेका छन्।
बुटवल — बुटवलको तिनाउका विभिन्न घाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व समापन गरिएको छ। छठको रौनकले बुटवलस्थित तिनाउ नदीको छठीघाटमा व्रतालुहरूको घुइँचो लागेको थियो।
मधेशी समुदायले छठ पर्वलाई श्रद्धा, भक्ति र लोकआस्थाको महापर्वका रूपमा मान्दै आएको परम्परा भए पनि पछिल्ला वर्षहरूमा बुटवल र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मधेशीसँगै पहाडी समुदायले पनि छठ पर्व मनाउन थालेका छन्।
शनिबार पञ्चमी तिथिका दिन मध्यरातपूर्वदेखि निराहार व्रत गरेका व्रतालुहरूले आज सोमबार सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्वको समापन गरेका हुन्।
बुटवलमा बसोबास गर्ने भारतीय, तराईवासी र कतिपय पहाडी समुदायका व्रतालुसमेतले सूर्योदय हुनासाथ सूर्यदेवलाई अर्घ्य दिएका हुन्। चौथीका दिन पवित्र स्नान गरी चोखो खाएर व्रत सङ्कल्प गरेर ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरी पञ्चमी तिथिका दिन हिजो राति एक छाक मात्र अलिनो खाएर ‘खरना’ विधि सम्पन्न गरी आज अर्घ्य दिएर छठ पर्व समापन गरेको बुटवल उपमहानगरपालिका–११, बुद्धनगरका मुन्ना साह गुप्ताले बताए।
‘पहिला हामी तराईवासीले मात्र तिनाउ किनारमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाउँथ्यौं,’ उनले भने, ‘अहिले त हामीभन्दा पनि पहाडी समुदायका व्रतालु धेरै हुन थाल्नुभयो। त्यसले झन् रमाइलोसँगै आस्था पनि बढाएको छ।’ सँगै छठ पर्व मनाएपछि समुदायमा पनि मिलेर बस्न सहज हुने गरेको उनले बताए।
पर्वको अन्तिम दिन सोमबार बिहानैदेखि बुटवलस्थित तिनाउ नदी किनारको छठीघाटमा श्रद्धालु तथा व्रतालुहरूको भीड लागेको थियो। रातभर नदी किनारमा जाग्राम बसेका व्रतालुहरूले बिहान सूर्योदय हुनासाथ उदाउँदो सूर्यलाई अर्घ्य चढाएर परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरेका थिए।
व्रतालुहरूले बाँसका ढाकी, नाङ्लो तथा पूजा थालीमा फलफूल, ठेकुवा, भुसुवा, उखु, नरिवललगायतका परिकार सजाएर विधिपूर्वक सूर्यदेव र छठी माताको पूजाआजा गरेको बुटवल–११, मजुवाकी पूजा गुप्ताले बताइन्। सोमबार बिहानैदेखि तिनाउ घाट भक्तिमय वातावरण, शंखध्वनि र मन्त्रोच्चारणले गुञ्जायमान बनेको थियो।
घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।