३० कात्तिक, काठमाडौं । राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा. डा. श्याम नारायण लाभ र रजिस्ट्रार डा. जीवन काफ्लेले आफ्नो १०० दिने प्रगति विवरण सार्वजनिक गरेका छन् ।
शैक्षिक गुणस्तर अभिवृद्धि, परीक्षा प्रणाली सुधार, डिजिटल रूपान्तरण, अनुसन्धान प्रवर्द्धन, भौतिक पूर्वाधार विकास तथा संस्थागत सुशासनका क्षेत्रमा काम सुरु गरिएको रजिस्ट्रार काफ्लेले बताए ।
‘विश्वविद्यालयलाई आधुनिक, अनुसन्धानमुखी, प्रविधिमैत्री तथा विद्यार्थीकेन्द्रित उच्च शिक्षण संस्थाका रूपमा विकास गर्ने उद्देश्यसहित नीतिगत, प्रशासनिक तथा संरचनागत सुधारका कार्यहरू अघि बढाइएका छौँ,’ उनले भने ।
शैक्षिक कार्यक्रम विस्तार र विद्यार्थी पहुँच
रजिस्ट्रार काफ्लेका अनुसार विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, स्वास्थ्य विज्ञान, व्यवस्थापन, कानुन तथा मानविकी क्षेत्रका २० भन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । हाल ५ हजार ९२७ विद्यार्थी अध्ययनरत छन् ।
‘विश्वविद्यालयले आगामी शैक्षिक वर्षमा थप करिब ६ हजार विद्यार्थी भर्ना गर्ने लक्ष्य लिएको छ,’ उनले भने ।
परीक्षा प्रणाली सुधार र नतिजा प्रकाशन
विद्यार्थीको शैक्षिक भविष्यलाई ध्यानमा राख्दै परीक्षा व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र समयबद्ध बनाउने कार्यलाई प्राथमिकता दिइएको उनले बताए ।
‘परीक्षा प्रणालीलाई डिजिटल माध्यममा रूपान्तरण गर्ने प्रक्रिया सुरु गरिएको छ । सम्पन्न परीक्षाका उत्तरपुस्तिका परीक्षण, प्राप्ताङ्क प्रविष्टि तथा नतिजा प्रकाशनलाई तीव्रता दिइएको छ,’ उनले भने ।
विश्वविद्यालयको दीर्घकालीन विकासका लागि आफ्नै भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ ।
धनुषाको नगराइन नगरपालिका–४ स्थित गुठी संस्थानबाट प्राप्त ९ बिघा १४ कठ्ठा जग्गामा आधुनिक केन्द्रीय प्रशासनिक तथा शैक्षिक परिसर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने प्रक्रिया प्रारम्भ गरिएको रजिस्ट्रार काफ्लेले बताए ।
जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रको भौतिक संरचना विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक प्रयोजनका लागि उपलब्ध गराउने निर्णय भएको छ ।
‘यसबाट विश्वविद्यालयको पठनपाठन, प्रशासनिक सेवा तथा प्राज्ञिक गतिविधि सञ्चालनमा थप सहजता आउने अपेक्षा गरिएको छ,’ उनले भने ।
रौतहटको गौरमा ३ बिघा २ कठ्ठा जग्गामा पण्डित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पस निर्माणको प्रक्रिया अघि बढाइएको छ ।
रजिस्ट्रार काफ्लेका अनुसार महोत्तरीको गौशाला इन्जिनियरिङ क्याम्पसमा प्रयोगशाला व्यवस्थापन तथा स्तरोन्नतिको कार्य भइरहेको छ ।
‘काठमाडौं उपत्यका तथा बारा जिल्लामा समेत नयाँ आङ्गिक क्याम्पस स्थापनाका लागि सम्भाव्यता अध्ययन अघि बढाइएको छ,’ उनले भने ।
कानुन तथा स्वास्थ्य विज्ञान शिक्षामा पूर्वाधार
कानुन संकायका कार्यक्रमलाई छुट्टै सुविधासम्पन्न भवनमा स्थानान्तरण गरी आधुनिक पुस्तकालय, नमुना अदालत तथा कानुनी अनुसन्धान केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए ।
‘राजर्षि जनक स्कूल अफ हेल्थ साइन्सेजका कार्यक्रमलाई छुट्टै भवनमा व्यवस्थित गर्ने तथा आधुनिक जनस्वास्थ्य प्रयोगशाला स्थापना गर्ने तयारी भइरहेको छ,’ उनले भने ।
शैक्षिक तथा प्रशासनिक सेवाहरूलाई प्रविधिमैत्री र कागजरहित बनाउने उद्देश्यले डिजिटल रूपान्तरणको काम विश्वविद्यालयले अगाडि बढाएको छ ।
‘अनलाइन भर्ना तथा परीक्षा प्रणाली, एकीकृत क्याम्पस व्यवस्थापन प्रणाली, सिकाइ व्यवस्थापन प्रणाली, डिजिटल पुस्तकालय, मानव संसाधन व्यवस्थापन प्रणाली तथा वित्तीय व्यवस्थापन प्रणाली कार्यान्वयनको तयारी भइरहेको छ,’ उनले भने ।
राजर्षि जनक अनुसन्धान केन्द्रमार्फत अनुसन्धानमा विश्वविद्यालयले जोड दिएको छ । ‘प्राध्यापक तथा अनुसन्धानकर्तालाई अनुसन्धान अनुदान, गुणस्तरीय शोधपत्र प्रकाशन पुरस्कार तथा प्राज्ञिक क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालनमा ल्याइएको छ,’ उनले भने ।
विश्वविद्यालयले आर्थिक वर्ष २०८३/८४ मा विज्ञान, प्रविधि तथा इन्जिनियरिङ, व्यवस्थापन, मानविकी तथा कानुन र स्वास्थ्य विज्ञान संकायअन्तर्गत एक–एक वटा अन्तर्राष्ट्रिय सेमिनार आयोजना गर्ने गरी बजेट विनियोजन गरेको छ ।
‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालय र अनुसन्धान संस्थाहरूसँग सहकार्य विस्तार गरी विश्वविद्यालयमा अनुसन्धानमुखी प्राज्ञिक वातावरण निर्माण गर्ने लक्ष्य लिइएका छौँ,’ रजिस्ट्रार काफ्लेले भने ।
विद्यार्थीमैत्री नीति तथा समावेशी शिक्षा
विश्वविद्यालयले आर्थिक रूपमा विपन्न, पिछडिएका वर्ग, शहीद परिवार तथा अपाङ्गता भएका विद्यार्थीका लागि छात्रवृत्ति र निःशुल्क शिक्षाको व्यवस्था गरेको छ । ‘विद्यार्थीको अध्ययनसँगै व्यावहारिक अनुभव र आत्मनिर्भरता प्रदान गर्ने उद्देश्यले ‘पढ्दै कमाउँदै’ कार्यक्रमसमेत अघि बढाइएको छ,’ उनले भने ।
विश्वविद्यालयको ११ औँ सभाबाट आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट तथा नीति कार्यक्रम स्वीकृत भएको छ । डीन छनोट प्रक्रियालाई सहज र पारदर्शी बनाउन संगठन संरचना तथा व्यवस्थापन नियमावली संशोधन गरिएको उनले बताए ।
‘आर्थिक प्रशासनका कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरेका छौँ,’ उनले भने ।
मिथिला सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण
राजर्षि जनक विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको संयुक्त आयोजनामा ‘मिथिला सम्पदा संवाद शृङ्खला’ सञ्चालन गर्ने तय भएको छ । मिथिलाको भाषा, दर्शन, कला, संस्कृति तथा प्राचीन सभ्यताको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मंसिर ६ गते उद्घाटन गर्ने कार्यक्रम छ ।
‘आगामी दिनमा स्वीकृत नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै राजर्षि जनक विश्वविद्यालयलाई मधेस प्रदेशको मात्र नभई राष्ट्रिय स्तरकै उत्कृष्ट, अनुसन्धानमुखी, प्रविधिमैत्री र विद्यार्थीकेन्द्रित विश्वविद्यालयका रूपमा स्थापित गर्ने योजना छ,’ रजिस्ट्रार काफ्लेले भने ।