काठमाडौं । अमेरिकामा देशभरका उडान रोक्ने निर्णय गरिएको दुई दिन बितिसक्दा पनि हवाई यातायात सेवा सामान्य अवस्थामा फर्किन सकेको छैन ।
आइतबार मात्रै अमेरिकामा हजारौँ उडान रद्द भएका छन् भने धेरै उडान ढिलाइ भएका छन् । अमेरिकी यातायातमन्त्री सीन डफीले सोमबारसम्म हवाई सेवा सामान्य अवस्थामा फर्किन सक्ने बताएका छन् ।
उनले बीबीसीको अमेरिकी साझेदार सीबीएससँग कुरा गर्दै धेरै विमान र तिनका चालक दल निर्धारित स्थानमा नरहेकाले हवाई सेवा पूर्ववत् अवस्थामा फर्काउन केही समय लाग्ने बताए ।
आइतबार अमेरिकामा ८ हजार ८०० भन्दा बढी उडान ढिलाइ भएका थिए भने २ हजार ४०० उडान रद्द गर्नुपरेको थियो ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाई यातायात नियन्त्रण प्रणालीलाई आधुनिक बनाउन थप बजेट स्वीकृत गर्न अमेरिकी संसद् (कंग्रेस) समक्ष आग्रह गरेका छन् ।
शुक्रबार अमेरिकाबाट उडान भर्ने सबै विमान रोक्ने निर्णय गरिएपछि देशभरका विमानस्थलमा अस्तव्यस्तता सिर्जना भएको थियो । उक्त निर्णयको प्रभाव दुई दिन बितिसक्दा पनि कायमै रहँदा हवाई यातायात सेवा पूर्ण रूपमा नियमित हुन नसकेको हो ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।