हवाई उडानसम्बन्धी तथ्याङ्क राख्ने वेबसाइट फ्लाइटअवेयरका अनुसार शनिबार रातिसम्म अमेरिकामा ६ हजार ४ सयभन्दा बढी उडान रद्द भएका छन्
वासिङ्टन — अमेरिकाको हवाई यातायात प्रणाली सामान्य अवस्थामा फर्कनका लागि कम्तीमा आइतबार रातिसम्म प्रतिक्षा गर्नुपर्ने सङ्घीय उड्डयन प्रशासन (एफएए) का प्रमुख ब्रायन बेडफोर्डले बताएका छन् ।
नियमित मर्मतसम्भारका क्रममा भएको प्राविधिक त्रुटिका कारण शुक्रबार देशभरका उडानहरू ठप्प भएका हुन् ।
हवाई उडानसम्बन्धी तथ्याङ्क राख्ने वेबसाइट फ्लाइटअवेयरका अनुसार शनिबार रातिसम्म अमेरिकामा ६ हजार ४ सयभन्दा बढी उडान रद्द भएका छन् भने ८ हजारभन्दा बढी उडान ढिलाई भएका छन् ।
यसअघि शुक्रबार करिब ९ हजार २ सय उडान रद्द र ७ हजार ५ सय उडानमा ढिलाई भएको थियो । आइतबारका लागि तय गरिएका ८७५ उडानसमेत रद्द भइसकेका छन् ।
शुक्रबार एफएएले करिब पाँच घण्टासम्म देशभरका उडानमा रोक (ग्राउन्ड स्टप) लगाएको थियो, जुन सन् २००१ को सेप्टेम्बर ११ को आक्रमणपछिकै सबैभन्दा लामो हवाई अवरोध हो ।
सुरुमा साइबर आक्रमणको आशङ्का गरिए पनि यातायातमन्त्री सन डफीले दुर्गम स्थानमा राउटर जडान तथा अद्यावधिक गर्दा समस्या आएको स्पष्ट पारेका छन् ।
युनियनका अनुसार आर्कान्सास र टेक्सासका दुई राउटर अद्यावधिक गर्ने क्रममा डेटा ओभरलोड भई देशभरका २२ मध्ये १७ वटा हवाई ट्राफिक नियन्त्रण केन्द्रको सञ्चार र राडार प्रणालीमा अवरोध पुगेको थियो ।
उडान अवरुद्ध हुँदा डेल्टा, युनाइटेड र अमेरिकन एयरलाइन्सका करिब २५ प्रतिशत तथा जेटब्लूका करिब ४५ प्रतिशत उडान शनिबार रद्द भए, जसका कारण दसौँ हजार यात्रु विमानस्थलमै अलपत्र परेका छन् ।
यस घटनाले जीर्ण बन्दै गएको अमेरिकी हवाई ट्राफिक प्रणालीको कमजोरीलाई पुनः उजागर गरेको छ ।