अत्यधिक र अनियन्त्रित रूपमा डिजिटल उपकरण प्रयोग गर्ने बानीलाई आत्मअनुशासनबाट व्यवस्थित गरौं र समयअनुसार प्रविधिसँग लय मिलाएर अघि बढौं।
मनोचिकित्सा सेवा लिन आउने किशोर र युवाहरूमध्ये अधिकांशमा डिजिटल व्यवहार असन्तुलित र अस्वस्थकर भएको पाउँछु । बाल, किशोर र युवावयमा मस्तिष्कमा विशेष गरेर हाम्रो व्यवहारमा नियन्त्रण गर्न विशेष भूमिका खेल्ने भाग ‘प्रिफ्रोन्टल कर्टेक्स’ अपरिपक्व हुने हुँदा डिजिटल ग्याजेट र व्यवहारमा आकर्षित भएमा त्यसले लतकै रूप लिने धेरै सम्भावना हुन्छ । यसैले यसबारे विद्यार्थी, अभिभावक, शिक्षकलगायत सबै पक्ष सजग हुन आवश्यक छ ।
स्मार्टफोन, ट्याब्लेट, ल्यापटप आदि डिजिटल उपकरणमा सामाजिक सञ्जाल, अनलाइन गेम, भिडियो गेमको अत्यधिक तथा अनियन्त्रित प्रयोग भई दैनिक जीवन, स्वास्थ्य र आफ्नो नियमित काम र जिम्मेवारीमा नकारात्मक असर पर्दा पनि यसको प्रयोग गरिराख्ने अवस्थालाई डिजिटल लत वा स्क्रिन लत भनेर बुझ्न सकिन्छ । सामाजिक सञ्जालका एप, फिड र मनोहारी नोटिफिकेसन तीव्र रूपमा डोपामिन निष्कासन गराउनकै लागि डिजाइन गरिएका हुन्छन्, जसले लागूऔषध दुव्र्यसनको बानीजस्तै निरन्तर प्रतिक्रियाको चक्र (फिडब्याक लुप) सिर्जना गर्छ । डिजिटल व्यवहारमा आत्मनियन्त्रण गुमाउनु, अफलाइन रहँदा रिस उठ्नु वा बेचैनी हुनु, आफ्ना कामकर्तव्यलाई बेवास्ता गर्नुजस्ता लक्षणका आधारमा लत वा व्यसनलाई परिभाषित गरिन्छ ।
पढाइ, कुराकानी वा कुनै अरू हिसाबले सुरु भएको डिजिटल व्यवहार लामो समयसम्म स्क्रिन (मोबाइल, कम्प्युटर आदि) को प्रयोगमा रुमलिँदा पछि गएर गम्भीर लतको समस्यामा परिणत हुन्छ । डिजिटल लतले व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्य तथा सामाजिक सम्बन्धलाई गम्भीर रूपमा कमजोर बनाउँछ ।
डिजिटल लतका कारण विभिन्न मानसिक र मनोवैज्ञानिक जटिलता पैदा हुन्छन् । जस्तै: सामाजिक सञ्जालमा लगातार हुने तुलना, तनाव र डोपामिन नामक स्नायुरसायनको अनियन्त्रित उतारचढावले प्राय: मुड बिगार्ने र आत्मसम्मान गिर्दा चिन्ता र उदासीनता वा डिप्रेसनको सम्भावना बढ्छ ।
अनियन्त्रित स्क्रोलिङले ध्यान केन्द्रित गर्ने क्षमतालाई नष्ट गर्छ, कार्यस्मृति (वर्किङ मेमोरी) लाई कमजोर बनाउँछ र गहिरो चिन्तन गर्ने क्षमता घटाउँछ । समग्रमा बौद्धिक क्षमतामा ह्रास हुन्छ ।
इन्टरनेटबाट टाढा बस्नुपर्दा वा इन्टरनेट सेवा अवरुद्ध हुँदा प्रयोगकर्तामा अक्सर चिडचिडापन, मुडमा उतारचढाव र आक्रामक व्यवहार देखिन्छ । वास्तविक जीवनका तनावबाट उम्किन डिजिटल संसार एउटा माध्यम बन्न पुग्छ, जसले गर्दा समस्याको मुख्य कारण बेवास्तामा पर्छ ।
डिजिटल लतबाट विभिन्न शारीरिक दुष्प्रभाव उत्पन्न हुन्छन् । जस्तै: नीलो प्रकाशको सम्पर्कले मेलाटोनिनको उत्पादनलाई दबाउँछ, जसले अनिद्रा, कम गुणस्तरको निद्रा लाग्ने र दिउँसो अत्यधिक थकान हुने हुन्छ ।
धेरै लामो समयसम्म एकै ठाउँमा बसिरहने बानीले दीर्घकालीन रूपमा मोटोपना, मुटुसम्बन्धी रोग र टाइप २ मधुमेहको जोखिम बढ्छ । घाँटीको मेरुदण्डमा पर्ने तनाव, हत्केला र नाडीको समस्या र तल्लो ढाड दुख्ने पुरानो समस्या यसमा आम रूपमा देखिन्छन् ।
लामो समयसम्म स्क्रिनमा हेरिरहँदा कम्प्युटर भिजन सिन्ड्रोम, आँखामा गम्भीर तनाव, धमिलो देखिने, आँखा सुक्खा हुने र डिजिटल माइग्रेन अर्थात् टाउको दुख्ने समस्या हुने गर्छ ।
आजको जमानामा कामकाज, पठनपाठन र सञ्चारका लागि डिजिटल उपकरण र व्यवहार अत्यावश्यक भएकाले यसलाई पूर्ण रूपमा हटाउन सम्भव छैन । तर डिजिटल साक्षरता र आत्मअनुशासनको सीमाबाट यसलाई व्यवस्थित गर्न सकिन्छ । यसका लागि हाम्रो डिजिटल बानीमा व्यावहारिक परिवर्तन र वातावरणमा केही संरचनात्मक परिमार्जन गर्न सकिन्छ ।
१. बानी लाग्ने खालका सामाजिक सञ्जाल वा गेमिङ एपहरूलाई होम स्क्रिनबाट हटाएर फोल्डरहरूभित्र लुकाउने । यसरी कुनै एप म्यानुअल रूपमा खोजिराख्दा स्वचालित रूपमा यस्ता एप खोल्ने बानी तोडिन जान्छ ।
२. फोनको डिस्प्लेलाई ‘ग्रेस्केल’ (श्यामश्वेत) बनाउने । चम्किला रङहरू हटाएर स्क्रिन कम आकर्षक बनाउँदा डोपामिनको लत कम गराउँछ ।
३. मानिसहरूले पठाउने प्रत्यक्ष सन्देशबाहेक अन्य सबै नोटिफिकेसन बन्द गर्ने । प्रत्यक्ष टेक्स्ट मेसेज वा फोन कलका लागि मात्र अलर्टहरू खुला राख्ने र सबै समाचार, सामाजिक सञ्जाल, सपिङ र गेमका अलर्टलाई निष्क्रिय पार्ने ।
४. समस्या हुने एपहरूमा दैनिक समय सीमा तोक्न एप्पलको ‘स्क्रिन टाइम’ वा एन्ड्रोइडको ‘डिजिटल वेलबिइङ’ जस्ता इन–बिल्ट सुविधा प्रयोग गर्न सकिन्छ । अझ बलियो सीमाका लागि, कुनै भरपर्दो साथी वा पार्टनरलाई यसको पासकोड सेट गर्न लगाउने ताकि आफैंले यसलाई सजिलै हटाउन नसकियोस् ।
डिजिटल लतको रोकथामका लागि भौतिक सीमा र स्थानको रूपरेखा
१. सुत्ने कोठामा प्रविधि निषेध गर्ने । आफ्नो फोन रातभरि सुत्ने कोठाभन्दा अर्कै कोठामा राख्ने । यसले राति अबेरसम्म स्क्रोलिङ गर्ने बानी रोक्छ र बिहान ओछ्यानबाट उठ्नासाथ फोन हेर्ने बानी हटाउँछ ।
२. उपकरणमुक्त क्षेत्रहरू निर्धारण गर्ने, निश्चित कोठा वा समयलाई पूर्ण रूपमा प्रविधिमुक्त घोषणा गर्ने । जस्तै: खाना खाने समयमा डाइनिङ टेबल, यात्रा गर्दा गाडीभित्र वा बिहान उठेपछिको पहिलो ३० मिनेट ।
३. मुख्य ढोका नजिकै एउटा टोकरी वा चार्जिङ स्टेसन राख्ने । जब घर आइपुगिन्छ, आफ्नो फोन त्यहाँ राख्ने । यसले मस्तिष्कलाई अब अफलाइन र व्यक्तिगत समयमा प्रवेश गर्दै छु भन्ने संकेत दिन्छ ।
डिजिटल लत न्यूनीकरण गर्न वास्तविक संसारका अरू स्वाभाविक गतिविधिलाई बढावा दिनुपर्छ । खाना पकाउने, खेलकुद गर्ने, पढ्ने, हस्तकला वा वाद्यवादनजस्ता हातैले गरिने रमाइला कामका लागि समय तालिका बनाउन सकिन्छ ।
प्रत्यक्ष भेटघाट र उपस्थित हुनुपर्ने निश्चित क्रियाकलापलाई प्राथमिकता दिनुपर्छ । जस्तै: हाइकिङ जाने वा खेलकुद खेल्ने, जहाँ फोन हेर्दा सामाजिक रूपमा अप्ठ्यारो वा बाधा पुग्ने हुन्छ ।
आफ्ना सन्तान वा कोही परिवारजन वा विद्यार्थी कसैका लागि स्वस्थ डिजिटल व्यवहारसम्बन्धी कुरा गर्दा सुरुआत आफैंबाट गर्न जरुरी हुन्छ । सबैले डिजिटल साक्षरता हासिल गरी उत्तरदायी व्यवहार अपनाऔं । डिजिटल लतबाट पनि बचौं र समयअनुसार प्रविधिसँग लय मिलाएर अघि बढौं ।
डा. शाक्य धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मनोरोग विभागका प्रमुख हुन्।