धरान रंगशालामा आइतबार भएको क्वाटरफाइनल खेलमा स्वर्णिमले गाईघाट फुटबल क्लब उदयपुरलाई ५–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
सुनसरी — रात्रिकालीन प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आयोजक स्वर्णिम फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
धरान रंगशालामा आइतबार भएको क्वाटरफाइनल खेलमा स्वर्णिमले गाईघाट फुटबल क्लब उदयपुरलाई ५–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
स्वर्णिमको जितमा सजीना स्याङताङले ह्याट्रिक गरिन् भने समीक्षा मगरले २ गोल थपिन् । सजीना खेलको १२औँ, ६३औँ र इन्जुरी समयको ९१औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । समीक्षाले ३७औँ र ८६औँ मिनेटमा गोल गरेकी थिइन् ।
एकपक्षीय बनेको खेलमा आयोजक स्वर्णिमले सुरुवातदेखि नै गाईघाटमाथि दबाब कायम राखेको थियो । लगातार आक्रमण बुनेको स्वर्णिमले पहिलो हाफमै २ गोलको अग्रता बनाएको थियो ।
प्रतियोगिताअन्तर्गत सोमबार त्रिभुवन आर्मी क्लब र बागमती युथ क्लबबीच तेस्रो क्वाटरफाइनल खेल हुनेछ ।
डी–१९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) क्लब काठमाडौं विजयी हुँदै यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ।
प्रतियोगिता ५ मंसिरसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालका ३ विभागीय टोलीसहित विभिन्न क्लबका गरी ८ टोली सहभागी छन् ।
प्रतियोगिताको विजेताले ट्रफीसहित ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ भने उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ईभी स्कुटर प्रदान गरिनेछ ।