Trending
Prev Story
Next Story

साझा पर्वमै विभेद, छठमा जातअनुसारका घाट र पण्डाल

Ekantipur •
November 15, 2026 • 04:02 PM
3
3 reads 0 reactions

दलित समुदायका व्यक्ति भन्छन्, ‘बाँसको चोयाबाट हामीले बनाएको ढाकी, छिटी, नाङलोमा राखेर फलफूल, मिठाईलगायत सामग्री भगवान्लाई चढाउँछन् तर हामीसँग विभेद गरेको देख्दा मन भक्कानिएर आउँछ’

साझा पर्वमै विभेद, छठमा जातअनुसारका घाट र पण्डाल

दलित समुदायका व्यक्ति भन्छन्, ‘बाँसको चोयाबाट हामीले बनाएको ढाकी, छिटी, नाङलोमा राखेर फलफूल, मिठाईलगायत सामग्री भगवान्लाई चढाउँछन् तर हामीसँग विभेद गरेको देख्दा मन भक्कानिएर आउँछ’

रौतहट, राजविराज — मधेशको ठूलो चाड छठ मनाउन पोखरी, नदी र जलाशयका डिल सिँगारिएका छन् । कतै केराका खम्बा र बाँसका सामग्रीले घाट सजाइएको छ, कतै झिलिमिली बत्ती र फूलले । आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालु सोमबार बिहान उदाउँदो सूर्यको पूजा गर्न उत्साहित छन् । तर, यही उत्सवका बीच केही घाट र पण्डालमा जातअनुसारको दूरी पनि देखिन्छ । एउटै जलाशयमा पनि दलित समुदायका लागि छुट्टै घाट र पण्डाल बनाइएका छन् ।

सप्तरीको विष्णुपुर गाउँपालिका–५ कट्टीस्थित दर्पी पोखरीमा दक्षिणतर्फको छठघाट बेहुलीझैं सिँगारिएको छ । सोही पोखरीको पूर्वीछेउमा डोम समुदायका लागि छुट्टै घाट छ । पीपलको रुखछेउमा डोम समुदायले घाट बनाएको छ । त्यसको उत्तरतर्फ भने अन्य समुदायले घाट बनाएका छैनन् । विगत ८/१० वर्षदेखि त्यहाँ छुट्टै घाट बनाएर छठ मनाउँदै आएका स्थानीय बैजनाथ मरिकका लागि यो दृश्य नौलो होइन । गैरदलित समुदायको घाटमा जानसमेत नपाउने उनीहरू नै आफ्नै घाटमा बसेर पर्व मनाइरहेका छन् ।

बैजनाथको परिवारसहित शम्भु र गंगानारायण मरिकका तीन परिवारले त्यहाँ छुट्टै घाट बनाएर छठ मनाउँदै आएका छन् । ‘रुखभन्दा पूर्व–दक्षिणतर्फ गैरदलितले घाट बनाएर पर्व मनाउँदै आएका छन्,’ बैजनाथले भने, ‘पहिला अलिक बढी नै विभेद हुन्थ्यो । अहिले केही कम भए पनि अझै भेदभाव हटेको छैन ।’ उनका लागि छठको उत्सवसँगै विभेदको पीडा पनि जोडिएर आउँछ ।

‘हामी उनीहरूको घाटमा जान मिल्दैन । छेउछाउबाट हेर्न मात्रै पाइन्छ,’ उनले भने, ‘बाँसको चोयाबाट हामीले बनाएको ढाकी, छिटी, नाङलोसहितका सामग्रीमा राखेर फलफूल, मिठाईलगायत सामग्री भगवान्लाई चढाउँछन् तर हामीसँग विभेद गरेको देख्दा मन भक्कानिएर आउँछ ।’ घाटमा मात्रै होइन, बालबालिकाको आवागमनमा समेत रोकटोक गर्नुपर्ने अवस्था रहेको उनले सुनाए । ‘खै, किन हामी अछुत भएर जन्मियौं π खासगरी चाडपर्वको बेला जहिले विभेद खेप्नुपर्छ,’ उनले भने, ‘मानव भएर जन्मिँदा पनि कहिल्यै मानवसरह व्यवहार नपाउँदाको पीडा छ । सुनाउनु पनि कसलाई ? पीडा बुझ्ने कोही छैन ।’

दर्पी पोखरीमा देखिएको यो विभेद सप्तरीकै अर्को पोखरीमा भने फरक रूपमा देखिएको छ । विष्णुपुर गाउँपालिका–७ स्थित अमृत पोखरीमा दशकौंदेखि छठ मनाउँदै आएका राम (चमार) समुदायले पनि वर्षौंदेखि छुट्टै घाट बनाउनुपर्ने बाध्यता भोगे । गैरदलित एकातिर र दलित अर्कोतिर घाट बनाएर पर्व मनाउनुपर्ने अवस्था देखेपछि त्यहाँका युवाले प्रतिवाद गरे । उनीहरूले उक्त पोखरीमा छठ मनाउनै छाडे ।

विभेद असह्य भएपछि पाँच/सात वर्षदेखि सोही वडास्थित तरबरा र गोसाई पोखरीमा घाट बनाएर दलित परिवारले छठ मनाउन थालेको कासिन्द्र रामले बताए । जलकुम्भीले ढाकिएको तरबरा पोखरी सफा गरेर उनीहरूले आफ्नै घाट बनाएका हुन् । ‘जलकुम्भीले ढाकिएको तरबरा पोखरीलाई त्यसबेला झबर राम, जगजीवन राम, लालेश्वर राम, रामविलास रामलगायत मिलेर सफा गरेर यस पोखरीमा छठघाट बनाएर दलित समुदायले पर्व मनाउन थालेका हौं,’ उनले भने, ‘पहिला यो पोखरीमा सिनो फाल्ने गरेकाले दलित समुदायबाहेक अन्य समुदायका कोही घाट बनाउनसम्म आएका छैनन् ।’

उनका अनुसार तरबरा पोखरीमा १७ र गोसाई पोखरीमा ३२ दलित परिवारले छठ मनाउँदै आएका छन् । एउटै पोखरीमा सँगै बसेर पर्व मनाउन नपाएपछि उनीहरूले नयाँ ठाउँ रोजेको दाबी गरेका छन् । छठलाई सबै जातजाति एकै ठाउँमा बसेर मनाउने साझा पर्वका रूपमा विकास गर्नुपर्ने उनको भनाइ छ । ‘शिक्षा र चेतना विकाससँगै सबै जातजाति एकैथलोमा बसेर सामूहिक रूपले मनाउनुपर्ने छठ आज पनि छुट्टाछुट्टै मनाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘जातीय विभेद अन्त्य गर्न बनेका ऐन, नीति तथा नियमको फेहरिस्त रहँदारहँदै पनि सामाजिक व्यवहारमा भने अझै जातीय विभेदजन्य अभ्यास भई नै रहँदा दुःख लाग्छ ।’

विष्णुपुर–७ का वडाध्यक्ष लोचन साहु (तेली) छठ मनाउन कुनै किसिमको जातीय विभेद नरहेको दाबी गर्छन् । ‘हामीले पनि नहरमा छठ पर्व मनाइरहेका छौं, यहाँ सबै समुदाय सँगै छौं,’ उनले भने, ‘केहीले पायक पर्ने ठाउँ रोजेको मात्रै हो । कुनै विभेद छैन ।’

सप्तरीका पोखरीमा देखिएको यो अवस्थासँग मिल्दोजुल्दो दृश्य रौतहटको चन्द्रपुर नगरपालिका–५ राजपैडास्थित चाँदी नदी किनारमा पनि छ । त्यहाँ माझी (मुसहर) र महरा समुदायका लागि छुट्टै पण्डाल बनाइएको छ । चौधरी समुदायको बाक्लो बस्ती रहेको राजपैडामा महरा/मुसहर समुदायका करिब ३० घरपरिवार छन् । उनीहरूमध्ये केही परिवारले तीन वर्षयता अलग्गै पण्डालमा बसेर छठ मनाउँदै आएका छन् ।

आइतबार दिउँसो ६५ वर्षीया भगलीदेवी माझी (मुसहर) यस पटक पनि दलित समुदायका लागि बनाइएको छुट्टै पण्डालमा पूजाको तयारी गर्दै थिइन् । वर्षौंदेखि अन्य समुदायसँग एउटै पण्डालमा बसेर छठ मनाउँदै आएकी उनलाई अहिलेको व्यवस्थाले खिन्न बनाएको छ । छठजस्तो साझा पर्वमा समेत जातीय विभेदको अनुभूति गर्नुपरेको उनले सुनाइन् ।

राजपैडामा तीन वर्षअघिसम्म ठूलो पण्डालभित्र दलित समुदायका लागि एउटा कुना छुट्याइन्थ्यो । त्यही कुनामा बसेर उनीहरू पूजा गर्थे । तर, कुना छुट्याएर राख्ने व्यवहारबाट चित्त दुखेपछि उनीहरूले छुट्टै पण्डाल बनाउन थालेका हुन् । एक दशकभन्दा बढी समयदेखि चाँदी नदीमा छठपूजा गर्दै आएको माझी/महरा समुदायका झन्डै १६ घरपरिवारले यस वर्ष अलग्गै पण्डालमा बसेर पूजा गरेका छन् । स्थानीय रामनाथ महराले मन नमिलेपछि छुट्टै पण्डाल बनाएर बस्नुपरेको सुनाए । ‘जब जब पर्वको समय आउँछ, उपल्लो जातिका मानिसले अर्कै व्यवहार देखाउँछन्,’ उनले भने, ‘व्यवहारमा परिवर्तन आएन । हामी दुःखी छौं ।’

छुट्टै पण्डालमा पूजा गर्नुपर्दा अर्की व्रतालु रामतरियादेवी पनि दुःखी थिइन् । वर्षौंदेखि सबैसँगै बसेर छठ मनाउँदै आएकी उनलाई यसपटकको व्यवस्थाले चित्त दुखाएको छ । ‘खै किन हो किन तीनवर्षदेखि उपल्लो जातका व्यक्ति बसेको पण्डालमा बस्नै मन भएन,’ उनले भनिन्, ‘हामीलाई अलि अर्केै ब्यवहार गरेको जस्तो अनुभूति हुन थाल्यो । त्यसैले अलग्गै बस्ने निर्णय गर्यौं ।’

तर, राजपैडा छठघाट समितिका अध्यक्ष गणेश चौधरी भने दलित समुदायमाथि विभेद भएको आरोप स्वीकार गर्दैनन् । उनका अनुसार पहिले सबै समुदाय एउटै पण्डालमा बसेर छठ मनाउने गरेका थिए । दलित समुदायका केही व्यक्ति आफैं अलग्गिएको उनको दाबी छ । ‘हामीबाट कुनै किसिमको जातीय बिभेद भएको छैन । सबै जात, धर्मप्रति उच्च सम्मान छ,’ उनले भने । चौधरीको भनाइको प्रतिवाद गर्दै स्थानीय सुनिता महराले एउटै पण्डालभित्र राखिए पनि कुना पारेर आफूहरूका लागि ठाउँ छुट्याउने गरिएकाले चित्त दुखेको सुनाइन् ।

सरकारले छठ पर्वमा छुट्टाछुट्टै घाट नबनाउन आग्रह गरेको छ तर त्यो कार्यान्वयन गराउने निकायले कति वटा छठघाटमा पुगेर निरीक्षण गरेको छ ? अर्कोतिर स्थानीय सरकारकै भूमिका पनि सन्तोषजनक छैन । अनि विभेद अन्त्य हुन्छ त ! - रामजी राम, चिकित्सक तथा सामाजिक अभियन्ता रौतहटको गढीमाई नगरपालिका–९ का डा. रामजी राम छठ सबैको साझा पर्व भए पनि भौतिक रूपमै जातीय विभेदको अभ्यास कायम रहेको बताउँछन् । ‘गैरदलितले आफुलाई बलियो र ठूलो देखाउन छुट्टै घाट बनाउने र दलितलाई अलग्गै राख्ने कुप्रथा हाम्रो समाजमा व्याप्त देखिन्छ,’ उनले भने, ‘पूजा गर्ने देउता उही हो तर त्यही देउतालाई पूजा गर्ने दलित समुदाय र दलितले पूजा गर्ने ठाउँसम्मै स्वीकार गर्न नसक्नु दुःखद् हो । आखिर, दलितले सार्वजनिक स्थलमा सम्मान र सामूहिक अपनत्वको बोध गर्न कहिलेसम्म पाउने हो ?’

रामले राज्य संयन्त्रको कमजोरीका कारण चाडपर्वका बेलासमेत दलित समुदाय विभेदमा पर्नुपरेको बताए । सरकारले छठपर्वमा जातीय विभेद र छुवाछुत नगर्न तथा दलित समुदायका लागि छुट्टै घाट नबनाउन आग्रह गरे पनि त्यसको कार्यान्वयनमा प्रभावकारी अनुगमन नभएको उनको गुनासो छ । ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेर छठ पर्वमा छुट्टछुट्टै घाट नबनाउन आग्रह गरेको छ तर त्यो कार्यान्वयन गराउने निकायले कति वटा छठघाटमा पुगेर निरीक्षण गरेको छ ?’ उनले भने, ‘अर्कोतिर दलित–गैरदलितबीचको खाडल र सामाजिक सद्भाव कायम गर्नका लागि स्थानीय सरकारकै भूमिका पनि सन्तोषजनक छैन । अनि विभेद अन्त्य हुन्छ त !’

संविधानले धारा १८ मा समानताको हक र धारा २४ मा छुवाछुत तथा भेदभावविरुद्धको हक सुनिश्चित गरेको छ । जातीय भेदभाव तथा अन्य छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ ले जातजाति, वंश, समुदाय वा पेसाका आधारमा छुवाछुत वा भेदभाव गर्न, सार्वजनिक स्थानमा प्रवेश निषेध गर्न वा भेदभावपूर्ण व्यवहार गर्नुलाई दण्डनीय कसुर मानेको छ । कानुनी व्यवस्था र सरकारी आग्रह हुँदाहुँदै पनि व्यवहारमा भने जातीय विभेदका अभ्यास कायम छन् ।

शुक्रबारदेखि सुरु भएको पर्वमा तराइ–मधेशका पोखरी, तलाउ, नदी र नहरका डिल यतिबेला छठको प्रसाद र पूजासामग्रीले सजिएका छन् । आइतबार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिए । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिनसम्म चल्ने छठपर्व विधिपूर्वक सम्पन्न हुनेछ । छठको पहिलो दिन नुहाएर चोखो खाने परम्परा छ । दोस्रो दिन दिनभरि व्रत बसेर साँझ गुड, घिउ र दूधमा थोरै चामल मिसाएर बनाइएको प्रसाद खाने गरिन्छ । तेस्रो दिन निर्जल व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन हुन्छ ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
59m ago
साझा पर्वमै विभेद, छठमा जातअनुसारका घाट र पण्डाल

साझा पर्वमै विभेद, छठमा जातअनुसारका घाट र पण्डाल

साझा पर्वमै विभेद, छठमा जातअनुसारका घाट र पण्डाल दलित समुदायका व्यक्ति भन्छन्, ‘बाँसको चोयाबाट हामीले बनाएको ढाकी, छिटी, नाङलोमा राखेर फलफूल, मिठाईलगायत सामग्री भगवान्लाई चढाउँछन् तर हामीसँग विभेद...

#हामी #विभेद #साझा
Compare →

Related Stories

National (Nepal)
Build #2612