२९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको लिग चरणका सबै २८ खेल सकिएपछि प्लेअफको समीकरण पनि तय भएको छ ।
आइतबार लिग चरणको अन्तिम खेलअघि नै प्लेअफ पुग्ने चार टोलीको टुङ्गो लागेको थियो ।
अन्तिम लिग खेलमा पोखरा एभेन्जर्सले काठमान्डु गोर्खाजलाई पराजित गरेपछि प्लेअफको समिकरण पनि तय भएको छ ।
अब पहिलो क्वालिफायरमा साविक विजेता लुम्बिनी लायन्स र दुई पटकको उपविजेता सुदूरपश्चिम रोएल्सबीच खेल हुनेछ । यस्तै एलिमिनेटरमा काठमान्डुले चितवन राइनोजसँग खेल्नेछ ।
काठमान्डुलाई शीर्ष दुईमा उक्लँदै प्लेअफ खेल्न अन्तिम खेलमा पोखरालाई हराउनुपर्ने थियो । तर, यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको पोखराले लिग चरणको अन्तिम खेलमा काठमान्डुलाई ५५ रनले पराजित गरेपछि काठमान्डु तेस्रो स्थानमा रह्यो ।
काठमान्डुका लागि यो हार महँगो बन्यो । अब काठमान्डुले दोस्रो क्वालिफायर पुग्नका लागि एलिमिनेटर खेल्नुपर्नेछ । यस खेलमा पराजित हुने टोली बाहिरिनेछ ।
७ खेलमा ४ जित र ३ हारबाट ८ अंक जोडेको काठमान्डु लिगमा तेस्रो स्थानमा रहेको हो ।
साविक विजेता लुम्बिनी लायन्स ११ अंक जोडेर लिगमा पहिलो हुँदा साविक उपविजेता सुदूरपश्चिम रोएल्स १० अंक जोडेर दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने भएका छन् ।
पहिलो क्वालिफायरमंगलबार हुनेछ । यस खेलको विजेता सिधै फाइनल पुग्नेछ । यस्तै पराजित हुने टोलीले फाइनल पुग्नका लागि एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।