सम्भावित सुरक्षा खतरालाई मध्यनजर गर्दै बहराइनका अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्
तेहरान — इरानले खाडी मुलुक बहराइनस्थित अमेरिकी सैन्य अखडामा ड्रोन आक्रमण गरिएको दाबी गरेको छ । आइतबार बिहान त्यहाँ विस्फोटका आवाज सुनिएका थिए ।
सम्भावित सुरक्षा खतरालाई मध्यनजर गर्दै बहराइनका अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् ।
एएफपीका अनुसार आइतबार बिहान स्थानीय समय करिब ४ बजे विस्फोटको आवाज सुनिएको थियो । त्यसपछि बिहान ६ः३० बजेतिर पुनः विस्फोट भएको स्थानीय बासिन्दाले बताएका छन् ।
घटनापछि सुरक्षा साइरन बजाइएको थियो भने अधिकारीहरूले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई सतर्क रहन सूचना जारी गरेका थिए ।
बहराइनको गृह मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत नागरिकलाई शान्त रहन, नजिकैको सुरक्षित स्थानमा जान र सुरक्षासम्बन्धी जानकारीका लागि आधिकारिक सञ्चारमाध्यमको सूचना पालना गर्न आग्रह गरेको छ ।
इरानको सरकारी टेलिभिजनमार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनस्थित अल–रिफ्फा हेलिकप्टर बेसमा रहेको अमेरिकी हवाई रक्षा राडार प्रणालीलाई लक्षित गरी छ वटा ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।
आईआरजीसीले हर्मुज जलमार्ग बन्द रहेको उल्लेख गर्दै अमेरिकाबाट हुने कुनै पनि आक्रमणको अझ कडा जवाफ दिने चेतावनीसमेत दिएको छ ।
इरान र अमेरिका–इजरायलबीच फेब्रुअरी २८ मा सुरु भएको युद्धपछि खाडी क्षेत्रको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ । युद्धका क्रममा इरानले हर्मुज जलमार्गबाट हुने ढुवानीमा अवरोध सिर्जना गर्नुका साथै विमानस्थल, बन्दरगाह, ऊर्जा पूर्वाधार र अमेरिकी सैन्य संरचनालाई लक्षित गर्दै आक्रमण गरेको छ ।
बहराइनमा अमेरिकाको जलसेनाको अखडा रहेको छ । यसअघि शुक्रबार पनि आईआरजीसीले बहराइनस्थित अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणालीलाई लक्षित गरेको दाबी गरेको थियो। अमेरिकी सेनाले भने त्यतिबेला आफ्नो क्षेत्रमा लक्षित दुई इरानी ड्रोन खसालेको जनाएको थियो ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले उक्त घटनामा कुनै मानवीय क्षति वा भौतिक नोक्सानी नभएको जनाएको थियो ।
खाडी क्षेत्रमा बढ्दो सैन्य तनावले विश्वको ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय तेल व्यापारमा थप असर पार्न सक्ने चिन्ता बढाएको छ ।