उनले निर्वाचन जित्दैमा कानुन मिच्ने लाइसेन्स प्राप्त नहुने उल्लेख गर्दै लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको सम्मान गर्नुपर्नेमा जोड दिए ।
स्याङ्जा — कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन् । उनले कांग्रेस रहेसम्म देशमा लोकतन्त्र र प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने बताए ।
कांग्रेस स्याङ्जा-२ (क)को प्रदेश कार्यसमितिको पद हस्तान्तरण तथा प्रशिक्षण कार्यक्रममा महामन्त्री पौडेलले लोकतन्त्रको वकालत गर्ने कांग्रेस पार्टीको आवाज दबाउने प्रयास भइरहेको बताए । निर्वाचन जित्दैमा कानुन मिच्ने लाइसेन्स प्राप्त नहुने उल्लेख गर्दै उनले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको सम्मान गर्नुपर्नेमा जोड दिए ।
कांग्रेसलाई कमजोर बनाएर देशमा लोकतन्त्र नै कमजोर बनाउने खेल भइरहेको भन्दै उनले मुद्दा हाल्दैमा २ जना सभापति नहुने स्पष्ट पारे । सरकारविरुद्ध अदालतमा मुद्दा पर्दैमा अर्को सरकार नबन्ने उदाहरण दिँदै उनले राजनीतिक विषयलाई कानुनी प्रक्रियासँग जोडेर भ्रम सिर्जना गर्न नहुने धारणा राखे ।
वर्तमान सरकारले नागरिकको जनस्तरसम्म पुगेर काम गर्न नसकेको आरोप लगाउँदै महामन्त्री पौडेलले संविधान संशोधन, भोटेकोसी बाढी प्रभावितको समस्या तथा सुकुम्बासी समस्या समाधानमा सरकारको अपरिपक्वता देखिएको बताए । सरकार नागरिकको विश्वास गुमाउँदै गएको उनले बताए ।
कांग्रेसले निर्वाचन हारे पनि विचारको जित भएको उल्लेख गर्दै पौडेलले कांग्रेस राजनीतिको विश्वविद्यालय भएको बताए ।
उनले आगामी ९ मंसिरदेखि स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै ‘हामी तयार छौँ’ भन्ने अभियान सञ्चालन गरिने जानकारी दिए । कार्यक्रममा कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले सबै राजनीतिक दल एउटै हुन् भन्ने भास्य निर्माण भइरहेको अवस्थामा कांग्रेस अन्य दलभन्दा फरक रहेको कुरा जनतालाई बुझाउन आवश्यक रहेको बताए । कांग्रेसले आफ्नो इतिहास, विचार र योगदान जनतामाँझ स्पष्ट पार्न सके पार्टी पुनः पुरानै गौरवशाली इतिहासमा फर्किने उनले बताए ।
नेपाल नेपाल न्यूज बैंक न्युज एजेन्सी हो ।