Trending
Prev Story
Next Story

आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बन्दै उत्तरवाहिनी कालीगण्डकी क्षेत्र

Onlinekhabar •
November 15, 2026 • 08:30 AM
4
4 reads 0 reactions

२९ कात्तिक, बुटवल ।  पाल्पा र स्याङजा संगमस्थल नजिकै उत्तरवाहिनी कालिगण्डकी क्षेत्रलाई धार्मिक तथा आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बनाउने अभियानमा कालीगण्डकी ज्ञान–विज्ञान प्रतिष्ठान लागेको छ । पाल्पा रम्भा गाउँपालिका–१ असेर्दी र स्याङ्जा गल्याङ नगरपालिका–१ मालुंगा क्षेत्रलाई …

आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बन्दै उत्तरवाहिनी कालीगण्डकी क्षेत्र

२९ कात्तिक, बुटवल ।  पाल्पा र स्याङजा संगमस्थल नजिकै उत्तरवाहिनी कालिगण्डकी क्षेत्रलाई धार्मिक तथा आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बनाउने अभियानमा कालीगण्डकी ज्ञान–विज्ञान प्रतिष्ठान लागेको छ ।

पाल्पा रम्भा गाउँपालिका–१ असेर्दी र स्याङ्जा गल्याङ नगरपालिका–१ मालुंगा क्षेत्रलाई उत्तरवाहिनी आध्यात्मिक पर्यटन गन्तव्य बनाउने अभियानको नेतृत्व प्रतिष्ठानका संस्थापक आचार्य चैतन्यकृष्णले गरिरहेका छन् ।

२०५९ सालदेखि निरन्तर धार्मिक गतिविधि सञ्चालन हुँदै आएको यो क्षेत्रको योजनाबद्ध विकासका लागि चैतन्यकृष्णले ११ वर्षअघि प्रतिष्ठान नै स्थापना गरेर पूर्वाधार निर्माण र धार्मिक गतिविधि बढाएका छन् ।

उत्तरवाहिनीको धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्त्व राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउँदै आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बनाउने उनको लक्ष्य छ ।

भारत बनारसमा भागीरथी गंगा नदी करिब डेढ किलोमिटर उत्तरवाहिनी भएर बगेका कारण त्यो क्षेत्र विश्वप्रसिद्ध धार्मिक गन्तव्य बनेको छ । तर, स्याङजा र पाल्पा क्षेत्रमा कालीगण्डकी नदी बनारसको गंगाभन्दा दोब्बर लामो दुरीसम्म उत्तरवाहिनी भएर बगेकाले यसको विशेषतालाई व्यापक प्रचार गर्न सके भारत सहित विश्वभरिका लाखौं हिन्दु धर्मावलम्बीलाई बर्सेनि यहाँ आकर्षित गर्न सकिने उनको भनाइ छ ।

यो क्षेत्रमा धार्मिक कार्यक्रम सञ्चालनसँगै उत्तरवाहिनीको पूर्वाधार विकास, विशाल शालग्राम मन्दिर निर्माण, गुरुकुल सञ्चालन, प्राकृतिक चिकित्सालय स्थापना र १ सय ८ धारा निर्माण प्राथमिकतामा राखेर व्यवस्थित धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्न खोजिरहेको चैतन्यकृष्णले बताए ।

‘उत्तरवाहिनीलाई धार्मिक पर्यटनको केन्द्र बनाउने योजना अन्तर्गत विशाल शालग्राम मन्दिर निर्माण, गुरुकुल सञ्चालनका लागि अक्षयकोष स्थापना, भूमि विस्तार र १ सय ८ धारा निर्माणलाई पूर्णता दिने काम अघि बढाइएको छ,’ चैतन्यकृष्णले भने, ‘साढे ३ किलोमिटर लामो दुरीसम्म उत्तरवाहिनी नदी विश्वमै कालीगण्डकी मात्र हो, यसको व्यापक प्रचार गर्न सके अन्तर्राष्ट्रिय धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिन्छ ।’

चैतन्यकृष्णले यहाँ विभिन्न धार्मिक कार्यक्रम आयोजना गरी स्वेच्छिक दानबाट प्राप्त रकम समेत परिचालन गरेर ९० रोपनी जग्गा खरिद गरेर प्रतिष्ठानको स्वामित्वमा गराएका छन् ।

हालसम्म करिब २५ करोड रुपैयाँ लगानीमा कालीगण्डकी गुरुकुल, १० शैय्याको प्राकृतिक चिकित्सा अस्पताल लगायत धार्मिक महत्त्वका भौतिक पूर्वाधार निर्माण गरेका छन् ।

उनको नेतृत्वमा सञ्चालित गुरुकुलमा संस्कारसँगै आविष्कारलाई मूल नाराका रूपमा अघि सारिएको छ । ‘संस्कारयुक्त र आधुनिक आविष्कारयुक्त शिक्षा संयोजन तथा सन्तुलनले मात्रै शान्तिपूर्ण समाज, असल र जिम्मेवार नागरिक उत्पादन गर्न सक्छ,’ उनी भन्छन् ।

गुरुकुलमा हाल ४७ जना आवासीय विद्यार्थी अध्ययनरत छन् । कक्षा ६ देखि १० सम्म पढाइ हुने यो गुरुकुल अंग्रेजी माध्यममा सञ्चालित नेपालको एकमात्र आधुनिक गुरुकुल भएको चैतन्यकृष्णको दाबी छ ।

उनका अनुसार गुरुकुलमा संस्कार र वैज्ञानिक ऋषि उत्पादनलाई जोड दिइएको छ । वैज्ञानिक ऋषि उत्पादनबाट मात्रै विश्वमा शान्ति कायम हुन सक्ने उनको मान्यता छ ।

अस्पतालमा बहिरंग सेवातर्फ दैनिक दर्जनौं बिरामीको जाँच तथा परामर्श हुने गरेको छ । पूर्वी नवलपरासीको रजहरमा उपलब्ध हुने प्रकृतिको उपचार सेवासरह सुविधा यहाँ पनि उपलब्ध रहेको उनले बताए ।

रम्भा गाउँपालिकाकी उपाध्यक्ष राधादेवी श्रेष्ठले चैतन्यकृष्णको सक्रियतामा उत्तरवाहिनी कालीगण्डकी क्षेत्रको पाल्पा हुंगीतर्फ कालीगण्डकी गुरुकुलम सञ्चालनमा आइसकेको, लक्ष्मीनारायण धाममा एक मन्दिर बनिसकेको  र अब विशाल शालग्राम मन्दिर र धर्मशाला बन्ने क्रममा रहेको बताइन् ।

‘यी पूर्वाधार बनिसक्दा यो क्षेत्र बेग्लै विशेषताको धार्मिक र आध्यात्मिक पर्यटन गन्तव्य बन्ने छ,’ श्रेष्ठले भनिन्, ‘चैतन्यकृष्णले यस क्षेत्रलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटन केन्द्र बनाउन निकै मिहिनेत गर्नुभएको छ, गाउँपालिकाले पनि सकेको साथ दिएको छ ।’

४ अर्बभन्दा बढी सामाजिक क्षेत्रमा योगदान

गल्याङ नगरपालिका–१ मालुंगामा २०४० साल चैतमा जन्मिएका चैतन्यकृष्णले गाउँकै सार्वजनिक उच्च माध्यमिक विद्यालयबाट एसएलसीसम्मको शिक्षा पूरा गरेका थिए । त्यसपछि तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसमा विज्ञान विषय अध्ययन गरेका उनले नेपाल संस्कृत विश्वविद्यालयबाट आचार्य तहसम्मको अध्ययन पूरा गरेका हुन् ।

देश तथा विदेशमा विभिन्न कार्यक्रम सञ्चालन गरेर उनले समाजका लागि ४ अर्ब रुपैयाँ बराबर रकम संकलन गरी सामाजिक कार्यमा परिचालन गरेको बताए ।

‘देशका विभिन्न जिल्लामा विद्यालय, क्याम्पस लगायत संस्थाले आयोजना गर्ने महायज्ञमा एक दशक बढी अवधिसम्म प्रमुख वाचक भएर समुदायको हितका लागि करिब ४ अर्ब रुपैयाँ संकलन गरिदिएको छु,’ उनले भने, ‘मानव सेवा आश्रमको हेटौँडास्थित मुख्य भवन निर्माण लगायत दर्जनौं स्कुल–क्याम्पसका लागि रकम संकलनमा योगदान गरेको छु ।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी दुई दर्जन आध्यात्मिक संस्थासँग आबद्ध उनले विद्यालय तथा कलेजका १० लाखभन्दा बढी विद्यार्थीमाझ पुगेर विश्व शान्ति, मानवता र नैतिक शिक्षासम्बन्धी सन्देश प्रवाह गरिसकेको बताए ।

चैतन्यकृष्णले अध्यात्म, ध्यान, योग, प्रवचन, धार्मिक अनुसन्धान र संस्कारयुक्त नैतिक शिक्षालाई प्राथमिकता दिने गरेका छन् । उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवचन तथा प्रशिक्षण मार्फत मानवता, नैतिकता र विश्वशान्तिको सन्देश फैलाउँदै आएका छन् । हिन्दु धर्म र दर्शनमा आधारित रहेर उनले आध्यात्मिक तथा दार्शनिक विषयमा अध्ययन, अनुसन्धान र लेखन समेत गर्दै आएका छन् ।

नेपाल संस्कृत विश्वविद्यालयमा ऐतिहासिक रूपमा सर्वाधिक अंक प्राप्त गरेका उनले हालसम्म पाँच स्वर्ण पदक हासिल गरेको बताए । उनी राष्ट्रपतिबाट ‘जनसेवाश्री’ पदकबाट विभूषित भएका छन् । यसैगरी उनले ‘विद्याभूषण ख’ पदक समेत प्राप्त गरेका छन् ।

नेपाली, संस्कृत, हिन्दी र अंग्रेजी गरी चार भाषामा प्रवचन तथा संवाद गर्न सक्ने उनी विश्वव्यापी पारस्परिक प्रेम, भाइचारा, सहिष्णुता र सद्भाव अभिवृद्धिबाट विश्वमा दिगो शान्ति कायम गर्न सकिने मान्यता राख्छन् ।

उनले उच्चपदस्थ निजामती कर्मचारीलाई नैतिक विज्ञान र मानवता सम्बन्धी विभिन्न प्रशिक्षण समेत प्रदान गरेका छन् । यसका साथै टेलिभिजनमा प्रसारण हुने ‘जीवन दर्शन’ कार्यक्रमको प्रस्तोता तथा सञ्चालकका रूपमा साढे पाँच वर्षसम्म काम गरेका उनले बेलायतको संसद्मा संस्कृत भाषामा पहिलो पटक सम्बोधन गरेका छन् ।

धर्मोत्सवमा लाखौं भक्तजन सहभागी हुने अपेक्षा

उत्तरवाहिनी क्षेत्रको धार्मिक महत्त्व थप प्रचारप्रसार गर्ने उद्देश्यले यहाँ २५ वर्षदेखि दामोदर रजत उत्सव तथा सद्भाव महामेला सञ्चालन हुँदै आएको छ ।

यस वर्षको रजत उत्सवमा दैनिक योग, ध्यान, गण्डकी महास्नान, आध्यात्मिक तथा धार्मिक प्रवचन एवं विविध सांस्कृतिक प्रस्तुति भइरहेका उनले बताए ।

८ मंसिरसम्म सञ्चालन हुने महोत्सव अन्तर्गत विशेषगरी ठूलो एकादशीका दिन दशौँ हजार भक्तजन आउने परम्परा छ । गत वर्ष एक महिनासम्म चलेको धार्मिक मेलामा ७ लाख भक्तजन सहभागी भएको उनले जानकारी दिए ।

यस वर्ष पनि देश तथा विदेशका आध्यात्मिक वक्ता र विभिन्न क्षेत्रका अगुवा, लुम्बिनी र गण्डकी प्रदेश तथा संघीय सरकारका सभामुख, मन्त्री र सांसदहरू समेत गरी करिब १० लाख भक्तजन  आउने आकलन गरिएको चैतन्यकृष्णले बताए । यहाँ आउने भक्तजनलाई प्रतिष्ठानले नि:शुल्क भोजन उपलब्ध गराउँदै आएको छ ।

प्रतिष्ठानका आजीवन सदस्य रुपन्देही तिलोत्तमाका सामाजिक अगुवा मोहन चापागाईंले चैतन्यकृष्णले उत्तरवाहिनी क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन गरिहेको मिहिनेत र सक्रियता साँच्चिकै अनुकरणीय रहेको बताए ।

‘उनको अभियानले केही वर्षमा उत्तरवाहिनी क्षेत्र धार्मिक आस्था, प्राकृतिक सम्पदा, शालग्रामको विशिष्टता र कालीगण्डकीको महिमा एकै ठाउँमा जोडेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा धार्मिक र आध्यात्मिक गन्तव्य बन्न सक्छ,’ उनले भने ।

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
29m ago
आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बन्दै उत्तरवाहिनी कालीगण्डकी क्षेत्र

आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बन्दै उत्तरवाहिनी कालीगण्डकी क्षेत्र

२९ कात्तिक, बुटवल । पाल्पा र स्याङजा संगमस्थल नजिकै उत्तरवाहिनी कालिगण्डकी क्षेत्रलाई धार्मिक तथा आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बनाउने अभियानमा कालीगण्डकी ज्ञान–विज्ञान प्रतिष्ठान लाग...

#आध्यात्मिक #पर्यटन #गन्तव्य
Compare →
Nagarik News
7h ago
छठ पर्वको आध्यात्मिक आधार वैदिक परम्परासँग जोडिएको छ : सभापति थापा

छठ पर्वको आध्यात्मिक आधार वैदिक परम्परासँग जोडिएको छ : सभापति थापा

छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताको प्रतीकका रूपमा छठ पर्व मनाइने बताएका हुन्।

#आध्यात्मिक
Compare →
Bizshala
1d ago
बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

काठमाण्डौ । बढ्दो बसाइँसराइका कारण सुनसान बन्दै गएको मकवानपुरको एउटा गाउँमा पर्यटन व्यवसायले नयाँ जीवन भरेको छ।...

#पर्यटन
Compare →
Ekantipur
1w ago
एनपीएलले पर्यटन प्रवर्द्धन भइरहेछ : मन्त्री पोखरेल

एनपीएलले पर्यटन प्रवर्द्धन भइरहेछ : मन्त्री पोखरेल

एक्सट्रिम इनर्जी कान्तिपुर म्याक्स स्पोर्ट समिट २०२६ उद्घाटनमा उनले एनपीएलले खेल इकोसिस्टम, लगानी र अन्तर्राष्ट्रिय पर्यटनमा योगदान पुर्‍याएको बताए।

#पर्यटन
Compare →
Arthasansar
1w ago
पर्यटन बोर्ड सीईओका लागि १६ जना सर्टलिस्ट सार्वजनिक

पर्यटन बोर्ड सीईओका लागि १६ जना सर्टलिस्ट सार्वजनिक

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरिएको छ । नेपाल पर्यटन...

#पर्यटन
Compare →

Related Stories

World News
Build #2612