Trending
Prev Story
Next Story

पाल्पामा संस्थागत प्रसूति बढे पनि मातृ तथा नवजात शिशुको मृत्यु घटेन

Ekantipur •
November 15, 2026 • 07:32 AM
4
4 reads 0 reactions

पाल्पा संस्थागत प्रसूति सेवायुक्त घोषित भए पनि नियमित परीक्षण, जोखिम पहिचान र आकस्मिक उपचारको अभावले मातृ तथा नवजात शिशुको मृत्यु हुने क्रम रोकिएको छैन।

पाल्पामा संस्थागत प्रसूति बढे पनि मातृ तथा नवजात शिशुको मृत्यु घटेन

पाल्पा संस्थागत प्रसूति सेवायुक्त घोषित भए पनि नियमित परीक्षण, जोखिम पहिचान र आकस्मिक उपचारको अभावले मातृ तथा नवजात शिशुको मृत्यु हुने क्रम रोकिएको छैन।

पाल्पा — पाल्पालाई गत वर्ष संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा गरियो । स्वास्थ्य संस्थामा सुत्केरी गराउने दर बढेको र घरमै हुने प्रसूति घटेको भन्दै लुम्बिनी प्रदेश सरकारले जिल्लालाई यस्तो घोषणा गरेको हो । तर, संस्थागत प्रसूति सेवा बढे पनि मातृ तथा नवजात शिशुको मृत्यु भने अपेक्षाअनुसार घट्न सकेको छैन । बरु पछिल्लो वर्ष नवजात शिशुको मृत्यु संख्या बढेको स्वास्थ्य कार्यालय पाल्पाको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा एक जना आमाको र १९ जना नवजात शिशुको मृत्यु भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा एक जना आमा र १४ जना नवजात शिशुको मृत्यु भएको थियो । २०८१/८२ मा मातृ मृत्यु शून्यमा झरे पनि १७ जना नवजात शिशुको मृत्यु भएको तथ्यांक स्वास्थ्य कार्यालयसँग छ । पछिल्ला तीन आर्थिक वर्षमा मृतजन्मको संख्या पनि क्रमशः ४१, ४३ र २१ रहेको स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स शान्ति भण्डारीले बताइन् ।

संस्थागत प्रसूति सेवा विस्तार हुँदैमा मातृ तथा नवजात शिशुको मृत्यु स्वतः घट्ने अवस्था नहुने उनले बताइन् । ‘गर्भावस्थादेखि नै नियमित स्वास्थ्य परीक्षण, जोखिमको समयमै पहिचान र प्रसूति जटिलता हुँदा तत्काल उपचारको व्यवस्था हुन आवश्यक रहेछ,’ उनले भनिन् ।

पाल्पामा मात्र नभई लुम्बिनी प्रदेशमै मातृ तथा नवजात शिशुको मृत्यु चुनौतीका रूपमा देखिएको प्रदेशको तथ्यांकले देखाउँछ । राष्ट्रिय जनगणनाको मातृ मृत्यु अध्ययनअनुसार नेपालमा प्रति एक लाख जीवित जन्ममा औसत १ सय ५१ जना आमाको मृत्यु हुने गरेको छ । लुम्बिनी प्रदेशमा यो दर सबैभन्दा बढी २ सय ७ छ । मुलुकका सात प्रदेशमध्ये बागमतीमा भने सबैभन्दा कम ९८ रहेको जनगणनाले देखाएको छ ।

प्रदेशका तराईका जिल्लामा मातृ मृत्यु बढी देखिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार गत आर्थिक वर्ष बाँके र कपिलवस्तुमा १६/१६ जना, रुपन्देहीमा १३ र दाङमा ८ जना आमाको मृत्यु भएको छ । अघिल्लो वर्ष बाँकेमा सबैभन्दा बढी ३६ र रुपन्देहीमा ३० जनासम्म मातृ मृत्यु अभिलेख भएको निर्देशनालयको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशकी वरिष्ठ अस्पताल नर्सिङ प्रशासक ईश्वरी केसीका अनुसार बालविवाह र कम उमेरमै गर्भवती हुने प्रवृत्तिले आमा र शिशु दुवैको स्वास्थ्यमा जोखिम बढाएको छ । ग्रामीण क्षेत्रमा प्रसूति जटिलता देखिए पनि समयमै सुविधासम्पन्न अस्पताल पुर्‍याउन नसक्दा समस्या हुने गरेको उनले बताइन् । एम्बुलेन्स तथा यातायातको असुविधा र एक स्वास्थ्य संस्थाबाट अर्कोमा बिरामी पठाउने प्रक्रियामा हुने ढिलाइले पनि जोखिम बढाएको उनको भनाइ छ ।

‘पहिलेको तथ्यांक हेर्दा समग्र सात प्रदेशमै सबैभन्दा धेरै मातृ तथा नवजात शिशु मृत्युदर धेरै देखिएको थियो,’ उनले भनिन्, ‘त्यसैले प्रदेशले सुरक्षित मातृत्व अभियान सञ्चालन गरेपछि यो संख्यामा धेरै कमी आएको छ ।’ लुम्बिनी प्रदेशले गर्भवतीका लागि रगत जाँच, भिडियो एक्सरेलगायतमा २ हजार ३ सय रुपैयाँसम्मको निःशुल्क सेवा दिँदै आएको उनले बताइन् । प्रदेश सरकारले फेमिली हेल्थ प्रोफाइल सञ्चालन गरेपछि पनि मृत्यु संख्या घटाउन सहयोग पुगेको उनको भनाइ छ । ग्रामीण भेगमा अल्ट्रासाउण्ड सेवा, एम्बुलेन्स र हवाई उद्धारजस्ता कार्यक्रमसमेत सञ्चालन गरिएको छ । प्रदेशका १४ अस्पतालमध्ये ११ वटामा शिशु जन्मिनेबित्तिकै दिनुपर्ने सेवा उपलब्ध गराइएको छ । ‘यस्ता विभिन्न सेवाका कारण मातृ तथा नवजात शिशु मृत्युदरमा कमी आएको छ,’ उनले भनिन् ।

लुम्बिनी प्रदेशका कतिपय गर्भवतीमा कुपोषण र रक्तअल्पताको समस्या पनि देखिने गरेको छ । भौगोलिक विकटता र आर्थिक अभावका कारण नियमित गर्भ जाँच गराउन नसक्दा यस्तो समस्या देखिएको स्वास्थ्यकर्मी बताउँछन् । अत्यधिक रक्तस्राव र उच्च रक्तचापजस्ता समस्या देखिँदा समयमै उपचार नपाउनु मातृ मृत्युका प्रमुख कारणमध्ये रहेको रुपन्देहीका वरिष्ठ तथ्यांक अधिकृत टुकप्रसाद पोखरेलले बताए । मातृ तथा नवजात शिशुको मृत्यु घटाउन गर्भवतीको स्वास्थ्य अवस्थाको नियमित निगरानी आवश्यक रहेको उनले बताए ।

‘तराईका जिल्लामा पनि मातृ तथा नवजात शिशु मृत्युदर घटाउन प्रयास गरे पनि सकिएको छैन,’ उनले भने । जोखिममा रहेका गर्भवतीको पहिचान गरी स्वास्थ्य संस्थामा समयमै उपचारको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, उपकरण र उपचार सेवाको पहुँच बढाउनुपर्ने उनले बताए ।

स्वास्थ्य कार्यालय पाल्पाका वरिष्ठ जनस्वास्थ्य प्रशासक गौरव ढकालका अनुसार मातृ तथा नवजात शिशुको मृत्यु घटाउन गर्भवतीको नियमित स्वास्थ्य परीक्षणसँगै प्रसूति सेवाको गुणस्तर सुधार गर्न आवश्यक छ । ‘स्वास्थ्य संस्थामा प्रसूति गराउने व्यवस्था भए पनि जटिल अवस्था आउँदा तत्काल उपचार गर्न सक्ने सेवा र जनशक्ति सबै ठाउँमा उपलब्ध नहुँदा समस्या हुने गरेको छ,’ उनले भने ।

राष्ट्रिय जनगणनाको मातृ मृत्यु अध्ययनअनुसार मातृ मृत्युको दर प्रदेशअनुसार फरक छ । कोशीमा प्रति एक लाख जीवित जन्ममा १ सय ५७, मधेशमा १ सय ४०, गण्डकीमा १ सय ६१, कर्णालीमा १ सय ७२ र सुदूरपश्चिममा १ सय ३० जना आमाको मृत्यु हुने गरेको छ । बागमतीमा यो दर ९८ मात्र रहेको तथ्यांकले देखाएको छ ।

नवजात शिशुको मृत्युका विषयमा भने उपलब्ध तथ्यांकमा फरक देखिन्छ । एक तथ्यांकअनुसार राष्ट्रिय औसत प्रति हजार जीवित जन्ममा २१ हुँदा लुम्बिनीमा २४ छ । अर्को तथ्यांकमा राष्ट्रिय औसत १७ र लुम्बिनीमा १६ उल्लेख छ । कोशीमा १७, मधेशमा २०, गण्डकीमा १४, कर्णालीमा २२ र सुदूरपश्चिममा २६ रहेको छ ।

संस्थागत प्रसूति सेवाको विस्तारसँगै गर्भवतीको नियमित परीक्षण, जोखिमयुक्त गर्भको पहिचान, दक्ष स्वास्थ्यकर्मीको उपलब्धता र आकस्मिक उपचार सेवामा सुधार गर्न सके मात्र मातृ तथा नवजात शिशुको मृत्यु घटाउन सकिने स्वास्थ्यकर्मीको भनाइ छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
जलवायु वार्तामा नेपालको संस्थागत कमजोरी स्वीकार, स्थायी टोली बनाउने तयारी

जलवायु वार्तामा नेपालको संस्थागत कमजोरी स्वीकार, स्थायी टोली बनाउने तयारी

परराष्ट्रमन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय जलवायु वार्तामा नेपालको तयारी र प्रभावकारी उपस्थिति पर्याप्त हुन नसकेको स्वीकार गरेका छन्।

#संस्थागत
Compare →
Hamro Patro News
2d ago
नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह

नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह

नेपालले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूएनएफसीसीसी) अन्तर्गतको वार्तामा स्थायी तथा संस्थागत एजेन्डाका रूपमा स्थापित गर्न आग्र...

#संस्थागत
Compare →

Related Stories

Education & Youth
Build #2612