लागूऔषध नियन्त्रण ब्युरोका अनुसार भारतको दिल्लीबाट नेपाल आएका २२ वर्षीय सलमानलाई शनिबार पक्राउ गरिएको हो ।
काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३.५ किलोग्राम थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरोका अनुसार भारतको दिल्लीबाट नेपाल आएका २२ वर्षीय सलमानलाई शनिबार पक्राउ गरिएको हो । उत्तर प्रदेश ठेगाना भएका उनलाई विमानस्थलमा शंकास्पद यात्रुको निगरानी गर्ने क्रममा जाँच गर्दा लागूऔषधसहित फेला पारिएको ब्युरोले जनाएको छ ।
ब्युरोको विमानस्थल शाखामा खटिएको प्रहरी टोलीले उनको झोलाभित्र प्लास्टिकको प्याकेटमा लुकाएर राखेको अवस्थामा थाई गाँजा बरामद गरेको ब्युरोका सूचना अधिकारी दुर्गाराज रेग्मीले जानकारी दिएका छन् ।
प्रहरीले उनको साथबाट एक थान पासपोर्ट र एक थान मोबाइलसमेत बरामद गरेको छ । पक्राउ परेका भारतीय नागरिकमाथि ब्युरोले थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिएका छन् ।