Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भारत भ्रमणअघि रास्वपाका २० सांसद चीन भ्रमणमा

Ekantipur •
November 15, 2026 • 05:02 AM
4
4 reads 0 reactions

१२ दिने भ्रमणमा पार्टीगत सम्बन्ध, लगानी र आर्थिक सहकार्यका विषयमा छलफल हुने

प्रधानमन्त्रीको भारत भ्रमणअघि रास्वपाका २० सांसद चीन भ्रमणमा

१२ दिने भ्रमणमा पार्टीगत सम्बन्ध, लगानी र आर्थिक सहकार्यका विषयमा छलफल हुने

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसद आइतबार १२ दिने चीन भ्रमणमा निस्किएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा गएको टोलीले दुई देशबीच पार्टीगत सम्बन्ध विस्तार, लगानीका अवसर र आर्थिक सहकार्यका विषयमा छलफल गर्ने रास्वपाका नेताहरूले बताएका छन् ।

भ्रमणको नेतृत्व सुरुमा रास्वपा सभापति रवि लामिछानेले गर्ने तय भएको थियो । तर राजनीतिक तथा प्राविधिक कारणले भ्रमण स्थगित भएपछि पार्टीका महामन्त्री एवं लामिछानेका निकट सहयोगी विपिन आचार्यले टोलीको नेतृत्व गरेका छन् ।

चीनले नेपालमा बलियो जनमतसहित सरकार गठन गरेको सत्तारूढ दलसँग सम्बन्ध विस्तार गर्न खोजेको रूपमा यो भ्रमणलाई हेरिएको छ । भ्रमणमा जानुअघि प्रधानमन्त्री शाह र पार्टी सभापति लामिछानेले चिनियाँ नेतृत्व तथा अधिकारीहरूसँगको भेटमा उठाउनुपर्ने विषयबारे सांसदहरूलाई जानकारी गराएका छन् । भ्रमणमा नेपाल–चीन सम्बन्ध, लगानीका सम्भावना र आर्थिक सहकार्यका विषय प्राथमिकतामा रहनेछन् ।

नोभेम्बर १५ देखि २६ सम्म हुने भ्रमणका क्रममा सांसदहरूले चीनका छेन्दु, हाङझाउ, यीउ र बेइजिङको भ्रमण गर्नेछन् । भ्रमण तालिकामा चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारीसँग भेटघाट, प्रविधि कम्पनी, औद्योगिक पार्क, विश्वविद्यालय, लगानी आयोजना तथा प्राकृतिक विपद् प्रभावित क्षेत्रको अवलोकन समेटिएको छ ।

टोलीले भ्रमणको पहिलो दिन नोभेम्बर १६ मा सिचुवान प्रान्तको छेन्दुमा उच्च प्रविधिमा आधारित उद्योग तथा औद्योगिक पार्कको अवलोकन गर्नेछ । त्यस क्रममा चिनियाँ कम्युनिस्ट पार्टीको पार्टी स्कुलका विज्ञहरूसँग छलफल र सिचुवान प्रान्तीय पार्टी कमिटीका सचिवसँग भेटघाट गर्ने कार्यक्रम छ ।

९ करोडभन्दा बढी जनसंख्या रहेको सिचुवानको कुल गार्हस्थ्य उत्पादन करिब १.१७ ट्रिलियन अमेरिकी डलर छ । यस प्रान्तसँग नेपालको नियमित सम्पर्क र सहकार्य रहँदै आएको छ ।

नोभेम्बर १७ मा टोलीले सन् २००८ को विनाशकारी भूकम्पबाट प्रभावित वेन्चुआन काउन्टीको भ्रमण गर्नेछ । त्यहाँ चीनले विपद्पछिको पुनर्निर्माणमा गरेका कामबारे जानकारी लिने कार्यक्रम छ । उक्त भूकम्पमा करिब ७० हजार जनाको मृत्यु भएको थियो भने १७ हजारभन्दा बढी बेपत्ता भएका थिए ।

नोभेम्बर १८ मा छेन्दुस्थित विशाल पान्डा प्रजनन तथा अनुसन्धान केन्द्रको अवलोकन गर्ने टोलीले सिचुवान विश्वविद्यालयका विपद्पछिको पुनर्निर्माण व्यवस्थापनसम्बन्धी विषयका प्राध्यापकहरूसँग पनि छलफल गर्नेछ ।

नोभेम्बर १९ मा टोली चच्याङ प्रान्तको राजधानी हाङझाउ पुग्नेछ । नोभेम्बर २० मा रोबोटिक्ससम्बन्धी कम्पनी, औद्योगिक पार्क र स्मार्ट उत्पादन केन्द्रको अवलोकन गर्ने कार्यक्रम छ ।

नोभेम्बर २१ मा उच्च गतिको रेलमार्फत अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रका रूपमा परिचित यीउ पुग्ने सांसदहरूले त्यहाँको अन्तर्राष्ट्रिय व्यापार केन्द्रको भ्रमण गर्नेछन् । यीउ नगर पार्टी कमिटीका सचिवसँग भेटघाटका साथै ग्रामीण शासन प्रणाली र स्थानीय तहमा पार्टी संगठनको भूमिकाबारे जानकारी लिने कार्यक्रम पनि छ ।

नोभेम्बर २२ मा चच्याङ नर्मल विश्वविद्यालय पुगेर थिंक ट्यांक विकासबारे जानकारी लिने टोलीले कृषि, संस्कृति र पर्यटनको एकीकृत अभ्यास गरिरहेको कृषि फार्मको अवलोकन गर्नेछ । त्यसै दिन चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी लिपमोटरको पनि भ्रमण गर्ने तालिका छ ।

भ्रमणको महत्त्वपूर्ण कार्यक्रमका रूपमा नोभेम्बर २३ मा चच्याङ प्रान्तको चिन्ह्वामा नेपाल–चीन उद्यमी व्यापार सहकार्य सम्मेलन आयोजना हुनेछ । त्यसमा सांसदहरूले नगरका मेयर र २० भन्दा बढी स्थानीय उद्यमीसँग अन्तरक्रिया गर्नेछन् ।

टोलीले नेपाल–चीन लगानी सहकार्य परियोजनाका रूपमा उल्लेख गरिएको होङ्सी सिमेन्ट उद्योग र चिन्ह्वा अन्तर्राष्ट्रिय विद्यालयको पनि भ्रमण गर्नेछ । त्यसका साथै चिन्ह्वा नगर पार्टी कमिटीका सचिवसँग भेटघाट गर्ने कार्यक्रम छ ।

नोभेम्बर २४ मा टोली राजधानी बेइजिङ पुग्नेछ । त्यहाँ चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका मन्त्रीसहित वरिष्ठ नेताहरूसँग भेटघाट हुनेछ । चिनियाँ कम्युनिस्ट पार्टीको संग्रहालय भ्रमण र केन्द्रीय पार्टी स्कुलका विज्ञहरूसँग छलफल पनि भ्रमण तालिकामा छ ।

नोभेम्बर २५ मा पनि चिनियाँ पार्टीका नेता तथा विज्ञहरूसँग छलफल जारी रहनेछ । टोली नोभेम्बर २६ मा काठमाडौं फर्कने कार्यक्रम छ ।

१२ दिने भ्रमणमा प्रविधि, औद्योगिक विकास, विपद्पछिको पुनर्निर्माण, ग्रामीण शासन प्रणाली र स्थानीय तहमा पार्टी संगठनको भूमिकालगायत विषय समेटिएका छन् । यसले रास्वपाका सांसदलाई चीनको विकास अभ्यासबारे प्रत्यक्ष जानकारी लिनुका साथै नेपाल र चीनबीच सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्ने अवसर दिने भ्रमण तालिकामा उल्लेख छ ।

अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
23h ago
चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीका २० सांसद आइतबार चीन भ्रमणमा जाँ...

#भ्रमण #रास्वपा #सांसद
Compare →
Onlinekhabar
1h ago
चीन प्रस्थान गरे रास्वपाका पदाधिकारीसहित २० सांसद

चीन प्रस्थान गरे रास्वपाका पदाधिकारीसहित २० सांसद

२९ कात्तिक, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० नेता आज चीन प्रस्थान गरेका छन् । पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सांसद चीन प्रस्थान गरेका हुन् । भ्रमण टोलीलाई पार्टी प्रवक्ता जगदीश …

#भ्रमण #रास्वपा #सांसद
Compare →
Nagarik News
1d ago
सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ दलका सांसदहरूको यो भ्रमणबाट प्राप्त अनुभवलाई नेपालको नीति निर्माण, विकास योजना, स्थानीय शासन र आर्थिक सहकार्यमा कसरी उपयोग गरिन्छ भन्ने विषय भने भ्रमणपछिको महत्त्वपूर्ण पक्ष हुनेछ।

#भ्रमण #रास्वपा #चीन
Compare →

Related Stories

Politics & Governance
Build #2612