Trending
Prev Story
Next Story

चीन भ्रमणमा तेस्रो मुलुकको विषय नउठाउन सभापति लामिछानेको निर्देशन

Ekantipur •
November 14, 2026 • 04:32 PM
4
4 reads 0 reactions

हाम्रा लागि चीन र भारत दुवै छिमेकी राष्ट्र उत्तिकै महत्त्वपूर्ण छन्, एउटा राष्ट्रसँग कुरा गर्दा अर्को छिमेकीको विषयमा छलफल गर्नु उचित हुँदैन, विशेषगरी चिनियाँ कम्युनिस्ट पार्टीसँग रास्वपाको सम्बन्ध र चीनको विकासलगायतका विषयमा केन्द्रित हुनुहोला : रवि लामिछाने, सभापति, रास्वपा

चीन भ्रमणमा तेस्रो मुलुकको विषय नउठाउन सभापति लामिछानेको निर्देशन

हाम्रा लागि चीन र भारत दुवै छिमेकी राष्ट्र उत्तिकै महत्त्वपूर्ण छन्, एउटा राष्ट्रसँग कुरा गर्दा अर्को छिमेकीको विषयमा छलफल गर्नु उचित हुँदैन, विशेषगरी चिनियाँ कम्युनिस्ट पार्टीसँग रास्वपाको सम्बन्ध र चीनको विकासलगायतका विषयमा केन्द्रित हुनुहोला : रवि लामिछाने, सभापति, रास्वपा

काठमाडौँ — चीन भ्रमणका क्रममा दुई देशको आपसी सम्बन्धका विषयमा मात्रै केन्द्रित हुन सत्तारूढ रास्वपा सभापति रवि लामिछानेले आफ्ना सांसदलाई निर्देशन दिएका छन् । महामन्त्री विपिन आचार्यको नेतृत्वमा आइतबारदेखि १२ दिने चीन भ्रमणमा जान लागेका रास्वपाका २० सदस्यीय संसदीय प्रतिनिधिमण्डलसँग शनिबार छलफल गर्दै पार्टी सभापति लामिछानेले चिनियाँ कम्युनिस्ट पार्टीसँग रास्वपाको सम्बन्ध र त्यहाँको विकासलगायत विषयमा अध्ययन गर्न निर्देशन दिएका हुन् ।

चीन भ्रमणका क्रममा नेपाल र चीनसँगको सम्बन्धमा नै कुराकानी केन्द्रित गर्न लामिछानेको निर्देशन छ । सभापति लामिछानेको भनाइ उद्धृत गर्दै भ्रमणमा टोलीका सदस्य रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले भने, ‘हाम्रा लागि चीन र भारत दुवै छिमेकी राष्ट्र उत्तिकै महत्त्वपूर्ण हुन् । एउटा राष्ट्रसँग कुरा गर्दा अर्को छिमेकीका विषयमा छलफल गर्नु उचित हुँदैन भन्ने सभापतिको कुरा रह्यो ।’

भ्रमण दलकी सदस्य सांसद लिमा अधिकारीले एक देशमा जाँदा अर्को देशको विषयमा कुरा नराख्न सभापति लामिछानेले सुझाव दिएको बताइन् । उनले भनिन्, ‘चीन र नेपालबीच कुरा हुँदा तेस्रो देशका बारेमा कुरा गर्नु आवश्यक छैन, आपसी कुरामा नै केन्द्रित हुनुहोला भन्ने सभापतिको सुझाव थियो ।’

नेता अधिकारीले दुई देशको पार्टीगत सम्बन्धका साथै विकास निर्माण र विभिन्न क्षेत्रमा संरचनागत सुधारका अनुभव लिएर आउन सभापति लामिछानेले सुझाव दिएको बताइन् । ‘प्राकृतिक प्रकोपपछिको पुनर्निर्माण र पुनःस्थापनाको अनुभव कस्तो छ, चीनको अर्थतन्त्र, एआई, स्पेसल इकोनोमिक जोन, रोबोटिक्सको विकास, इलेक्ट्रिक भेइकललगायतका क्षेत्रमा गरेको विकास र त्यसका लागि नीतिगत अनुभव सिकेर आउनुहोला भन्ने सभापतिको कुरा थियो,’ अधिकारीले भनिन्, ‘हाम्रो चीनसँगको सम्बन्धमा निरन्तरता, विश्वासको वातावरण बनाउन भूमिका खेल्नुहोला भन्ने उहाँको सुझाव थियो ।’

सभापति लामिछानेले रास्वपा कसरी जन्मियो, सामाजिक लोकतन्त्रलाई महाधिवेशनबाट वैचारिक धारप्रति सरकार र पार्टी प्रतिबद्ध रहेको कुरा सुनाउन पनि प्रतिनिधिमण्डललाई भनेका थिए । ‘चीनले प्रदेश र स्थानीय तहमा कसरी काम गरिरहेको छ, पार्टी र सरकारबीचको सम्बन्ध कसरी सुमधुर रहन्छ ?’ भन्ने कुरा सिकेर आउन पनि सभापति लामिछानेले सांसदलाई भनेका थिए । उनले पार्टी स्कुल विभागलाई कसरी बलियो बनाउने, त्यसका लागि चिनियाँ कम्युनिस्ट पार्टीले कसरी काम गरिरहेको छ भन्नेबारे बुझ्न पनि भनेका थिए ।

चीन भ्रमणमा राज्यका निकायले गर्ने कामभन्दा पनि पार्टीबीचको सम्बन्ध स्थापनामा ध्यान दिन सभापति लामिछानेले निर्देशन दिएको संसदीय दलका उपनेता पराजुलीले बताए । ‘राज्यका निकायले गर्ने काम दुवै देशका सम्बन्धित निकायले गरिरहेकै हुन्छन्, भौगोलिक अवस्था र शासन प्रणाली फरक भए पनि विकासका मोडेलहरूको अध्ययन गर्नुहोला र त्यसलाई नेपालको सन्दर्भमा कसरी लान सकिन्छ भन्नेमा ध्यान दिनुहोला भन्ने सभापतिको कुरा थियो,’ पराजुलीले भने । चीनले अपनाएको विकास, शिक्षा, स्वास्थ्य, उद्योग र अर्थतन्त्रका संरचनागत सुधारका पाटोमा गरेका कामको विषयमा बुझेर आउन सभापति लामिछानेले नेताहरूलाई भनेका थिए ।

विगतमा चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपाको शीर्ष नेतृत्वलाई भ्रमणमा बोलाएको थियो । उपसभापति स्वर्णिम वाग्ले नेतृत्वको भ्रमण दल चीन पुगेर भ्रमण छोट्याएर फर्किएको थियो । अहिले सरकारको नेतृत्व गरिरहेको र निर्वाचनबाट ऐतिहासिक जनमत प्राप्त गरेको रास्वपाको नीति निर्माणमा प्रभावशाली भूमिका निर्वाह गर्ने नेताहरूलाई सीपीसीले भ्रमणमा बोलाएको हो । भ्रमणको सम्पूर्ण व्यवस्थापन सीपीसीले नै गरेको रास्वपाका नेताहरूले जानकारी दिएका छन् । यो भ्रमण टोलीले चीनका विभिन्न प्रान्त, औद्योगिक क्षेत्र, स्थानीय तहका कामकारबाहीको अवलोकन भ्रमण गर्नेछन् । बेइजिङमा उच्चस्तरीय राजनीतिक भ्रमणको कार्यक्रम पनि रहेको भ्रमण दलका सदस्यले जानकारी दिएका छन् ।

महामन्त्री आचार्य नेतृत्वको टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता पराजुली, मुख्य सचेतक बुर्लाकोटीसहित सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रीमा विश्वकर्मा, धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द साह र रमेश सापकोटा रहेका छन् । प्रतिनिधिमण्डल १० मंसिरमा स्वदेश फर्कने तालिका छ ।

रास्वपा महामन्त्री नेतृत्वको उच्चस्तरीय संसदीय प्रतिनिधिमण्डल चीन भ्रमणमा रहँदा प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा जानेछन् । प्रधानमन्त्री शाह ६ मंसिरदेखि भारत जाने तयारी भइरहेको छ । शाह रास्वपा संसदीय दलका नेता तथा वरिष्ठ नेता पनि हुन् । रास्वपाको चीन जान लागेको भ्रमण दललाई शुक्रबार प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै बोलाएर छलफल गरेका थिए । त्यसक्रममा उनले बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ), नेपालमा चिनियाँ लगानीका आयोजना, पर्यटन विकास र नेपालका लागि चीनको आर्थिक सहयोगलगायतका एजेन्डामा चीनसँग छलफल गर्न निर्देशन दिएका थिए । त्यहाँ हुने छलफलमा राष्ट्रहित केन्द्रित भएर विषयवस्तु राख्न पनि उनले भनेका थिए ।

बीआरआईबारे धेरै विवाद भएकाले यस विषयमा चनाखो भएर कुरा राख्न प्रधानमन्त्रीको सुझाव थियो । ‘बीआरआईमार्फत ऋणका रूपमा विमानस्थललगायतका आयोजनाका लागि दिइएका रकमलाई अनुदानमा कसरी परिवर्तन गर्न सकिन्छ, त्यो विषय राख्नुहोला, यो भ्रमणबाटै ऋणलाई अनुदानमा परिणत गर्न त सकिन्न तर भविष्यमा हुने दुईपक्षीय वार्ताबाट त्यो सम्भव र अनुकूल हुने ढंगले कुरा राख्नुहोला,’ प्रधानमन्त्री शाहले भनेका थिए ।

चीनको लगानीका योजना अगाडि बढ्न नसकेको विषय त्यहाँका सरकारका उच्चस्तरीय अधिकारीहरूसँगको छलफलमा प्रस्तुत गर्न सुझाव दिएका थिए । ‘विभिन्न समयमा चीनसँग भएका सहमतिअनुसारका योजना हामीकहाँ आएर थन्किएका छन्, तिनको कार्यान्वयनबारे कुरा राख्नुहोला,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘सार्वभौम मुलुकको सत्तारूढ दलका सांसद भएकाले इन्फेरियर (सानो मुलुकको सांसद) नसोची आफ्ना कुरा विवेकपूर्ण तवरबाट राख्न मेरो सुझाव छ ।’

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
9h ago
चीन भ्रमण फलदायी बनाउन सभापति लामिछानेको निर्देशन

चीन भ्रमण फलदायी बनाउन सभापति लामिछानेको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीन भ्रमणलाई फलदायी बनाउन भ्रमण दलका सदस्यहरूलाई निर्देशन दिएका छन्।

#रवि-लामिछाने #चीन #रास्वपा
Compare →
Hamro Patro News
10h ago
चीन भ्रमणमा जाने सांसदहरूसँग रवि लामिछानेले पनि गरे छलफल

चीन भ्रमणमा जाने सांसदहरूसँग रवि लामिछानेले पनि गरे छलफल

जनवादी गणतन्त्र चीनको भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेका छन्। सभापति लामिछानेको निवासमा जारी छलफलमा रास्वपाका महामन्त्री ...

#रवि-लामिछाने #चीन #रास्वपा
Compare →
Onlinekhabar
8h ago
चीन जान लागेका सांसदलाई रविको निर्देशन– भ्रमणको उद्देश्यमा केन्द्रित हुनू

चीन जान लागेका सांसदलाई रविको निर्देशन– भ्रमणको उद्देश्यमा केन्द्रित हुनू

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीन भ्रमणलाई फलदायी बनाउन भ्रमण दलका सदस्यहरूलाई निर्देशन दिएका छन् । सभापति निवासमा आज भएको छलफलमा उनले भ्रमणको उद्देश्यमा केन्द्रित हुन र संहिता पालना गर्न …

#रवि-लामिछाने #चीन #रास्वपा
Compare →

Related Stories

World News
Build #2612