गत फागुन २१ गतेको निर्वाचनपछि ममा धेरै परिवर्तन आएको छ। अझ भनौँ, म आफूलाई सुधार्ने र सच्याउने प्रयास गरिरहेको छु। फोन उठाउने, झुटो नबोल्ने, समयमै पुग्नुपर्ने ठाउँमा पुग्ने, लिएको जिम्मेवारी पूरा गर्ने, हरेक कुराहरूलाई गम्भीरतापूर्वक लिने, परिणाम जेसुकै होस् आफ्नो काममा निरन्तर लागिरहने र सकेसम्म कसैको मन नदुखाउने प्रयास गरिरहेको छु।
छोरी आर्याले एकाबिहानै प्रश्न गरिन्।“ ठूलोबुबा, अरूका मात्रै किताब पढ्नुहुन्छ, लेख्नुहुन्छ। कति अरूमा मात्रै पढ्ने र लेख्ने गर्नुहुन्छ? बाबा र मामुले लेखेका किताबहरू पनि पढ्नु न। मम्मीले लेखेको ‘आँखा र आँखाहरू’ किताब पढ्नुभएको छ?’ आफ्ना बाबा मम्मीको किताब नपढेकोमा छोरी आर्याको मन दुखेको महसुस भयो। भाइ महानन्दका पुस्तकहरू त पढेकै थिएँ, सुमित्राको कथा सङ्ग्रह पढेको सम्झना भएन। छोरीको मन दुखाउन मन लागेन। यसपटक चार वेदको सार पढ्ने योजना बनाएको थिएँ तर छोरीको मन राख्न पनि‘आँखा र आँखाहरू’ कथासङ्ग्रह पढ्ने आँट गरेँ।
‘आँखा र आँखाहरू’ कथासङ्ग्रह पढ्नुको अर्को उद्देश्य पनि थियो। छोरीलाई धेरै कुरा भन्नुपर्ने र सिकाउनुपर्ने पनि थियो। उनको उमेरसँगै जन्मिएको यो कृतिले बोकेको समाज चिनाउनु पनि थियो। अझ महत्वपूर्ण कुरा त ‘ठूलो बुबाले मेरो कुरा मान्नुभयो’ भन्ने अनुभूति गराउनु पनि थियो। बालमनोविज्ञानको एउटा राम्रो पक्ष के हो भने सानाले भनेको कुरा ठूलाले पनि मान्नुपर्छ भन्ने सन्देश दिनु थियो। यसमा मेरो थोरै राजनीतिक उद्देश्य पनि घुसेको थियो।
सुमित्रालाई मैले चिनेको दुई दशक पुगिसकेको छ। अध्ययनमा उनी अब्बल लाग्छ मलाई। हरेक परीक्षामा उत्तीर्ण भइहाल्ने उनको क्षमतासँग म परिचित थिएँ। परीक्षा दिएको पहिलो पटक नै माध्यमिक तहको स्थायी शिक्षक भएकी र हाल कोहलपुरको एक ठुलो विद्यालय ज्ञानज्योति माध्यमिक विद्यालयको प्रधानाध्यापक समेत रहेकी सुमित्रा न्यौपाने मोफसलकी चिरपरिचित कथाकार हुन् भन्ने मलाई राम्रोसँग थाहा थियो। बाह्रखरी कथा प्रतियोगिताको पहिलो श्रृङ्खलामा तृतीय स्थान प्राप्त गरेपछि सुमित्राको कथाकारिताले राष्ट्रिय पहिचान बनाएको महसुस गरेको थिएँ। छोरी आर्याकोअनुरोधलाई स्वीकार गर्दै यसपटक चार वेदको सार पढ्ने कुरा थाती राखेर सुमित्रा न्यौपानेले लेखेको कथा सङ्ग्रह ‘आँखा र आँखाहरू’ पढ्न बसेँ।
यस सङ्ग्रहमा १४ कथाहरू समेटिएका छन्। सपना र पलासहरू, बन्द आवरण, आँखा र आँखाहरू, सम्बन्ध, नियति, अदिति, अनविज्ञता, रगतको नाता, अधिकार, सतीसाल, विवाहित कुमारी, प्रारब्ध र फैसला तथा एक अध्यायजस्ता कथाहरू पढ्न करिव चार घण्टाभन्दा बढी समय लागेन। एकसय चौँतिस पृष्ठमा समेटिएका कथाका पात्रहरूले एकपछि अर्को गर्दै अलमल नगराई अन्तिमसम्म तानेर पुर्याए।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर, बाँकेद्वारा प्रकाशित यस कृतिको सम्पादन महानन्द ढकालको रहेको छ। पुष्कर रिजाल ‘पुष्प’ले प्रकाशकीय लेखेको यो कृतिमा कथाकार सनत रेग्मीले शुभकामना र उपन्यासकार नयनराज पाण्डेले कृतिमाथि टिप्पणी गरेका छन्। विक्रम शिशिरको सुन्दर आवरण रहेको यो कृतिको मूल्य रू.२०० राखिएको छ। १३४ पृष्ठमा समेटिएकोयो कथासङ्ग्रह २०७१ सालमा प्रकाशित भएको हो।
सुमित्रा न्यौपानेको बाल्यकाल कस्तो थियो, त्यो मैले सोधेको छैन। तर भाइ महानन्दले विवाह गरेपछि दुबै जनाका दुःखका दिनहरू समाप्तप्रायः भएको ठान्दछु। दुवैको पेशा र रुचि एउटै भएकाले पनि उनीहरूलाई धेरै कुराले साथ दिएको छ भन्ने मेरो ठम्याइ छ। एक अर्को सफल हुनु पछाडिको असली राज पनि यही हो भन्ने लागेको छ।
‘आँखा र आँखाहरू’ पढ्दै गर्दा नेपाली समाजको जुन चित्रण गरिएको छ, त्यो कुनै टाढाको समाजको कथा नभएर आफ्नै गाउँघरमा देखेभोगेको यथार्थजस्तो लाग्छ। यी कथाहरू लेखिँदा र प्रकाशित हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार थिएन। बालेन्द्र शाह पनि यो देशको प्रधानमन्त्री हुनुहुन्नथ्यो तर २०७१ सालमा प्रकाशित कृति २०८३ सालमा आइपुग्दा पनि उत्तिकै सान्दर्भिक लाग्छ। सुमित्राले समातेको कथाको विषय शसक्त लाग्छ। जीवन्त लाग्छ।
‘आँखा र आँखाहरू’ कथासङ्ग्रहभित्र मानवीय मूल्यमा आइरहेको गिरावट, बालमनोविज्ञान, सामाजिक तथा नारी संवेदनाका गम्भीर मुद्दा, समाजमा बढिरहेको छाडा संस्कृति र परिवार तथा सामाजिक सम्बन्धमा देखिएको विघटन जस्ता विषयवस्तुहरूलाई कथाकारले निकै गम्भीर र सशक्त ढङ्गले प्रस्तुत गरेकी छन्। रोजगारीका लागि विदेशिने नेपालीहरूको मनोविज्ञान, त्यसले पारिवारिक सम्बन्धमा पार्ने प्रभाव र मानसिक सन्तुलनमा ल्याउने उतारचढावलाई पनि कथामा मजाले चित्रण गरिएको छ।
साहित्य मेरो रुचिको विषय हो । साहित्य लेखनभन्दा पठन मेरो रुचिको विषय हो। साहित्यप्रतिको मेरो बुझाइ तथा दृष्टिकोण र सुमित्राका बीचमा साहित्यसम्बन्धी दृृष्टिकोणमा केही वैचारिक मतभिन्नता रहेको पाउँछु। सायद उनको बुझाइमा साहित्य समाजको ऐना हो र साहित्यलाई कलात्मक बनाउनुपर्छ। साहित्यलाई राजनीतिक आग्रह पूर्वग्राहभन्दा पृथक् राख्नुपर्छ भन्ने मान्यता रहे जस्तो लाग्छ ।तर मेरो विचारमा साहित्य समाज र राजनीतिभन्दा माथि हुन सक्दैन।
साहित्य र राजनीति एक सिक्काका दुई पाटा हुन्। साहित्यले दिशानिर्देश गर्न सकेन भने राजनीति कुहिरोको काग जस्तो अलमलिन्छ भने सही तरिकाको राजनीतिक दर्शनले साहित्यलाई समाज र समय सान्दर्भिक बनाउँछ त्यसैले पनि साहित्यलाई र राजनीतिबाट पूर्णतः पृथक राखियो भने त्यसमा जीवनको स्पन्दन रहँदैन। साहित्य निरपेक्ष होइन, सापेक्ष हुनुपर्छ भन्ने मेरो मान्यता रहदै आएको छ।
सतीप्रथाको पीडा झेलेर आएको नेपाली समाज आज धेरै अगाडि बढेको छ। कुनै समय सेतो लुगा लगाएकै आधारमा विधवा महिला भनेर चिनिने अवस्था थियो। विधवा महिलाले सिन्दूर, पोते र रङ्गीन कपडा लगाउन नपाउने, पूजाआजा तथा यज्ञमा सहभागी हुन नपाउनेजस्ता सामाजिक विभेद विद्यमान थिए। आजको एकल महिला हो र को होइन भन्ने कुरा छुट्याउन पनि कठिन हुने अवस्था आएको छ। राज्यका विभिन्न निकायमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने कानुनी व्यवस्था भइसकेको छ।
नेपाली समाजमा आएको यो परिवर्तनमा पछिल्ला ३५ वर्षको राजनीतिक यात्राको महत्वपूर्ण योगदान छ भन्ने मलाई लाग्छ। साहित्यले प्रदान गरेको चेतनालाई राजनीतिले साकार रूप दिएको हो भन्ने मेरो बुझाइ छ तर सामाजिक चेतनाका लागि साहित्य अझै शसक्त हुन नसकेको जस्तो लाग्छ मलाई। नेपाली राजनीतिमा जसरी छोटो समयमा नै ठुलो परिवर्तन भएको छ साहित्यमा त्यो परिवर्तन हुन सकिरहेको छैन कि ? नेपाली साहित्यमा अझै धेरै सुधार गर्नुपर्ने आवश्यकता छ भन्ने लागेको छ।
‘आँखा र आँखाहरू’ कथा सङ्ग्रहभित्रका कथाहरूले समाजमा लोभ, सम्पत्तिप्रतिको लालसा र अनावश्यक महत्वाकांक्षाले कसरी परिवार र व्यक्तिको जीवनमा अकल्पनीय घटना निम्त्याउँछन् भन्ने कुराहरू प्रस्तुत गरिएको छ।
सुन्दर सपना बोकेर विदेशिनेहरूका कारण आफ्नै घरपरिवार कसरी खण्डहर बन्न पुग्छन् भन्ने यथार्थ पनि कथामा भेटिन्छ।पितृसत्तात्मक तथा सामन्तवादी समाजले महिलालाई हेर्ने दृष्टिकोण कस्तो छ भन्ने कुरा कथाकारले पात्र र घटनामार्फत राम्रोसँग उजागर भएको छ।
यो कथासङ्ग्रह पढिसकेपछि पुरुषप्रधान समाज महिलाका लागि कति कहालीलाग्दो छ भन्ने कुरा पाइलापाइलामा अनुभूत गर्न सकिन्छ। ओठदेखि आवाजसम्म, शिरदेखि पैतालासम्म महिलाले भोग्नुपर्ने विभेद र पीडालाई कथाकारले शब्दमा उतारेकी छन्। प्रत्येक कथामा कुनै न कुनै रूपमा नारीका पीडा, व्यथा र दर्दका वर्षाहरू बर्सिएका छन्। कतिपय पीडा शब्दमा सङ्गालिएका छन्, कतिपय सङ्गालिन नसकेर हराएका छन्, सोसिएका छन् र जमिनमा मिसिएका छन्। कतै ताल परेका छन् त कतै चोटले ग्रसित भएर टाटा बसेका घाउजस्ता भएका छन्।
मेरा हकमा साहित्यभन्दा राजनीति बढी महत्व पर्दछ। राजनीतिमा गरेको समयको लगानीले पनि यो क्षेत्र मेरो महत्वमा रहेको होला नै । मैले साहित्य लेखनलाई वैचारिकतासँग तुलना गरेर हेर्ने गर्छु । मेरो मान्यता छ, साहित्यले दिशा निर्देशन गर्नुपर्छ। समाज र व्यक्तिलाई नेतृत्व गर्नुपर्छ। बाटो देखाउनुपर्छ। सत्यकोवकालत गर्नुपर्छ । स्वतन्त्रता र मानव अधिकारका विषयमा खरो उत्रनसक्नु पर्छ। सत्तापक्ष विपक्षमा उत्रिन नसक्ने साहित्य स्तुति गान मात्रै हुन पुग्छ। स्तुति गान र कोरा नारा कसरी साहित्य हुन सक्छ र ?सुमित्राका कथाहरू स्तुति गानभन्दा धेरै टाढा रहेछन्। सामाजिक विकृति विसङ्गति विरुद्ध उनले उठाएको आवाज प्रसंशा योग्य नै लाग्यो। उनका कथाहरू चेतनाका लागि लेखिएका रहेछन्, परिवर्तनका लागि लेखिएका रहेछन्।समाजका तल्लोवर्गका मानिसहरूका लागि लेखिएका कथाहरू झनै सशक्त छन्। आवजबिहीनहरूको आवाज बनेर आएका रहेछन् । समाजबाट अपहेलित, साथीहरूबाट तिरस्कृत र विद्यालयबाट निष्कासित व्यक्तिको जीवनयात्रालाई पनि कथामा जीवन्त ढङ्गले प्रस्तुत गरिएको पाएँ।
सुमित्रा न्यौपानेद्वारा लेखिएका दुई कथाबाहेक बाँकी १२ कथालाई रङ्गीन पर्दामा चलचित्रका रूपमा उतार्ने हो भने उत्कृष्ट चलचित्र बनाउन सकिन्छ भन्ने लाग्छ मलाई। मिठो संबाद, द्धन्द्ध, कथानक, घटनाक्रम, पात्रहरूको मनोविज्ञान र परिवेश तथा परिस्थितिको चित्रण चलचित्रको पटकथा तथा सशक्त अभिनयका लागि पर्याप्त आधार बन्न सक्छन्। कुनै दिन चलचित्र निर्माताको आँखामा ‘आँखा र आँखाहरू’ प¥यो भने यी कथाहरू पर्दामा पनि हेर्न पाइएला आसा गरौँ।
पृथ्वी सन्तुलनमा अडिएको छ। त्यसैगरी समाज र परिवार पनि सन्तुलनमा अडिनुपर्छ। सन्तुलन बिग्रियो भने जुनसुकै बेला दुर्घटना हुन सक्छ। चाहे त्यो समाज होस्, राजनीति होस्, परिवार होस् वा व्यक्ति।शक्ति, पैसा, शिक्षा र सामाजिक मर्यादा यी चारवटै कुरा एकै व्यक्तिले प्राप्त गर्न सजिलो छैन। रातारात शिखरमा पुग्ने र रातारात सम्पत्ति आर्जन गर्ने अभिलाषाले मानिसलाई त्यति नै छिटो ओरालो झार्न सक्छ भन्ने सन्देश कथाहरूले दिएका छन्।
आफूसँगसँगै आफ्नो परिवार र परिवारको परिधिलाई पनि अघि बढाउन सकियो भने मात्रै व्यक्ति सफल हुन्छ। अन्यथा पैसा त हुन्छ, परिवार हुँदैन। पैसा त हुन्छ, सामाजिक इज्जत हुँदैन। सुत्ने बिस्तारा हुन सक्छ, तर निद्रा हुँदैन।समाज, प्रकृति र जीवन जसरी गतिशील र परिवर्तनशील छन्, त्यसैगरी कला, संस्कृति र साहित्य पनि गतिशील एवं परिवर्तनशील हुन्छन्। कला, साहित्य र संस्कृतिले गतिशील जीवन, जगतर मानव समाजलाई सेवा पुर्याउनुपर्छ।
क्रान्तिको समयमा कलाले पनि विद्रोह र आन्दोलनको रूप लिनुपर्छ। क्रान्तिपछिको परिवर्तनलाई संस्थागत गर्नेतर्पm कला र साहित्यको भूमिका केन्द्रित हुनुपर्छ।परिस्थितिले सिर्जना खोजेको छ, रचनात्मकता चाहेको छ र विनिर्माण होइन, निर्माण खोजेको छ भने त्यहाँ विद्रोहको मात्रै रटान लगाएर हुँदैन। समय र परिस्थितिले माग गरेको भूमिकालाई बुझ्न सक्नुपर्छ।
मलाई लाग्छ, साहित्य र सङ्गीतले विरह र वियोगको समयमा संवेदना पैदा गर्नुपर्छ। अन्याय र अत्याचार परेको बेला विद्रोहको भावना विकास गर्नुपर्छ। निर्माणको समयमा उत्साह, उमङ्ग, जोस, जाँगर र जिम्मेवार भूमिकाको मनोभाव पैदा गर्नुपर्छ। यही नै कला, साहित्य र सङ्गीतको सामाजिक दायित्व हो। सुमित्राका अधिकांस कथाहरूका अन्तरवस्तु यो मर्मबाट निर्देशित भएको पाएको छु । घरको बेमेलले बालबालिकाको मनोविज्ञानमा पार्ने असर र उनीहरूले भोग्नुपर्ने पीडालाई कथाकारले जीवन्त ढङ्गले प्रस्तुत गरेकी छन्। कथाका पात्र र कथाका शीर्षकबीच भावनात्मक सम्बन्ध जोडिएको देखिन्छ।
कथाकार सुमित्रा न्यौपाने म जस्तो बालेन्द्र शाहको विरोधी छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थक हुन् जस्तो पनि लाग्दैन। उनको राजनीतिक दृष्टिकोण के हो मैले सोधेको पनि छैन। आफूले अङ्गालेको पेशाको कारण पनि भन्न मिल्दैन होला तर हरेकलाई उपयुक्त समयसम्म कुर्नपर्छ । दुई–तीन वर्ष काम गर्न दिनुपर्छ भन्ने मान्यता उनमा रहेको सजिलै अनुमान गर्न सक्छु म।
सुमित्राको‘आँखा र आँखाहरू’भित्रका कथाहरू पढ्दा एउटा गम्भीर प्रश्न मनमा आउँछ - मान्छे कसरी सडकमा पुग्छ? कसरी खोलाको किनारमा पुग्छ? सडक र खोलाको किनारमा पुग्नु उसको रहर हो कि बाध्यता?धेरै मानिस रहरले सडकमा पुगेका हुँदैनन्। उनीहरूका पछाडि बाध्यता, अभाव, गरिबी र परिस्थितिले सिर्जना गरेका विवशताहरू हुन्छन्। उनीहरूको बाध्यतालाई सडक वा नदीको किनार मिचेको विषयका रूपमा मात्रै बुझ्नु हुँदैन।
दुई सय जनालाई हटाउन दुई हजार प्रहरी परिचालन गर्नु कुनै बहादुरी होइन। राज्यको शक्ति कमजोर र असहाय नागरिकमाथि प्रदर्शन गर्नका लागि होइन। उनीहरूको पीडामा सरकारले मलमपट्टी लगाउनुपर्छ। उनीहरूलाई सामाजिक न्याय दिनुपर्छ।
यो राज्यको दायित्व हो।नेपाली समाज पछाडि पर्नुका धेरै कारणमध्ये एउटा कारण सुनेर निर्णय गर्ने र बुझेर पछुताउने प्रवृत्ति पनि हो। कुनै विषयको वास्तविकता नबुझी धारणा बनाउने र पछि पछुताउने प्रवृत्तिले समाजलाई सही दिशामा अघि बढ्न दिँदैन।
सुमित्राका कथाहरूमा एउटा महत्वपूर्ण निष्कर्ष भेटिन्छ- सत्यको जित हुन्छ, तर सत्य आफैँ जित्दैन। सत्य आफैँ स्थापित हुँदैन, त्यसलाई स्थापित गर्दै लैजानुपर्छ। किनकि हाम्रो समाजमा सत्यको पक्षमा बोल्ने मात्रै पर्याप्त हुँदैन। सत्यलाई प्रमाणित गर्नुपर्छ, त्यसको पक्षमा उभिनुपर्छ र स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्छ।साहित्यले पनि यही काम गर्नुपर्छ। समाजमा रहेका विकृति, विसङ्गति र अन्यायलाई उजागर गर्दै सही बाटो देखाउनुपर्छ।
आँखा र आँखाहरू पढिसकेपछि मैले एउटा कुरा महसुस गरेँ- आँखा हुनु र आँखाले देख्नु फरक कुरा रहेछ। आँखाले दृश्य देख्छ, तर साहित्यले दृश्यभित्र लुकेको पीडा, संवेदना, विवशता र यथार्थ देखाउँछ। आगोको झिल्को र झगडाको बीउ ठूलो चाहिँदैन। सानो असमझदारी, सानो लोभ, सानो अहङ्कार र सानो बेवास्ताले पनि परिवार र समाजमा ठूलो दुर्घटना निम्त्याउन सक्छ। सुमित्राका कथाहरूले यही मानवीय कमजोरी, सामाजिक विकृति र पारिवारिक असन्तुलनलाई उजागर गरेका छन्।
किताब पढ्ने मेरो उद्देश्य छोरी आर्याको मन राख्नु मात्रै थियो। तर किताब पढिसकेपछि आपूmले सोचेभन्दा र कल्पना गरेभन्दा धेरै कुरा प्राप्त गरेँ यो कथासङ्ग्रहबाट। चार वेदको सार पढ्ने योजना केही समयका लागि थाती राखेर एउटा कथासङ्ग्रहपढ्दा पनि जीवन, समाज, राजनीति, परिवार र मानवीय संवेदनाका धेरै पक्ष बुझ्न पाइने रहेछ भन्ने कुरा महसुस गर्न पाएँ। कहिलेकाहीँ आँखाले नदेखेका कुरा साहित्यले देखाउँछ। सायद त्यसैले आँखाहरूभन्दा साहित्यका आँखा अझ फराकिला हुन्छन् भन्थे साँचो रहेछ।
छोरीको एउटा आग्रहले मलाई एउटा राम्रो पुस्तक पढायो। त्यसका लागि छोरी आर्यालाई धन्यवाद। अनि नेपाली समाजको जीवन्त चित्रण गर्ने कथासङ्ग्रह‘आँखा र आँखाहरू’का लागि कथाकार सुमित्रा न्यौपानेलाई हार्दिक बधाई तथा शुभकामना।
प्रकाशित: २९ कार्तिक २०८३ ०८:१८ आइतबार