आँखाले खेल नदेखे पनि कमेन्ट्री, बलको आवाज र दर्शकको हुटिङबाट क्रिकेटको रोमाञ्च महसुस गर्छन् जन्मजात दृष्टिविहीन किरण चलाउने र कविता मल्ल ।
आँखाले ब्याट र बल देख्दैनन् । तर मैदानमा गुन्जिने ‘ट्वाक’ आवाज र हजारौं दर्शकको हुटिङले उनीहरूको ढुकढुकी बढाइदिन्छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुदूरपश्चिम रोयल्स र काठमान्डु गोर्खाजबीचको खेल चलिरहँदा प्यारापिटमा दुई यस्ता दर्शक भेटिए, जसले क्रिकेट आँखाले होइन, मनले महसुस गरिरहेका थिए । जन्मजात दृष्टिविहीन बझाङ (छविसपाथीभेरा–६) का २७ वर्षीय किरण चलाउने र कैलाली (लम्कीचुहा–४) की २३ वर्षीया कविता मल्ल ।
यतिबेला चौतर्फी एनपीएलको रौनक छ । क्रिकेटप्रेमीको चहलपहल उस्तै छ । विशेषगरी सुदूरपश्चिम रोयल्सको खेल हुने दिन स्टेडियम नै भरिभराउ हुन्छ । प्यारापिट देउडामय बन्छ । आँखाले क्रिकेटको रंगीन माहोल, खेलाडीको जर्सी र मैदानमा कुदिरहेको बल देख्न नसके पनि उनीहरू एकअर्काको सहारामा खेल हेर्न रंगशाला पुगेका थिए ।
दर्शकको भीडभाड र कोलाहल छिचोल्दै रंगशालाको प्यारापिटमा पुग्न उनीहरूलाई त्यति सहज थिएन । गाडीबाट ओर्लिएर मैदानमा पुगेका उनीहरूको चौका र छक्का प्रहार हुँदा देखिने भाव सामान्य दर्शकको भन्दा कम थिएन । सुदूरपश्चिमका ब्याटरले बललाई प्रहार गर्दा आउने आवाज र त्यसलगत्तै प्यारापिटबाट गुन्जिने हुटिङले उनीहरूलाई मैदानको प्रत्यक्ष चित्र मनको पर्दामा कोर्न सघाइरहेको थियो ।
‘स्टेडियमको माहोल कस्तो हुँदोरहेछ भनेर पहिलो पटक अनुभव गर्न आएकी हुँ । मैदानमा हुटिङ हुँदा र सबैले एकैस्वरमा कराइरहँदा शरीरमा छुट्टै उर्जा आउँदोरहेछ,’ कविताले अनुभव साटिन्, ‘खेलको सुन्दर पक्ष नै यही हो । यसले भाषा, भूगोल र शारीरिक अवस्थाका सबै पर्खालहरू भत्काएर एकै ठाउँमा उनेर राखेको छ । मेरा लागि यो क्षण जीवनकै नयाँ र रोमाञ्चक अनुभूति रह्यो ।’
जन्मजात दृष्टिविहीन भए पनि २७ वर्षीय किरणको बाल्यकाल सुदूरपश्चिमको त्यही क्रिकेटमय हावापानीमा बित्यो । किरणका अनुसार सुदूरपश्चिम र क्रिकेटबीचको सम्बन्ध निकै गहिरो छ । सुदूरपश्चिममा गल्ली, चोक र खेतका गराहरूमा क्रिकेट हुर्केको छ । त्यो माटोले क्रिकेटलाई खेलमात्र होइन, संस्कृतिकै रूपमा अपनाएको छ ।
‘हाम्रोतिर पहिलेदेखि नै यो गेम खेल्छन्, अरूभन्दा पनि क्रिकेट त सानैदेखि खेल्दै आएको हो । हामीले पनि गाउँमा खेलेका हौं । उतातिर त गल्ली–गल्लीमा खेल्छन्,’ किरणले बाल्यकालको स्मृति खोतल्दै भने, ‘त्यसैले पनि सुदूरपश्चिमको टिम मैदान उत्रिँदा आफैं खेलिरहे जस्तो महसुस हुन्छ । यो टिमसँग हाम्रो माटोको सुगन्ध जोडिएको छ ।’
मैदानमा खेल भइरहँदा कसरी क्रिकेट गतिविधिको भेउ पाउनुहुन्छ त ? भन्ने प्रश्नमा किरणले भने, ‘कमेन्ट्रीबाट थाहा पाउँछौं । हुटिङबाट थाहा पाउँछौं । नबुझेको बेला सँगै भएकालाई सोध्छौं ।’ दर्शकले गर्ने हुटिङ र कमेन्ट्रीको आवाजले नै खेलको अवस्था बुझाउने किरणको भनाइ छ । कुन बेला कस्तो शट प्रहार भयो वा विकेट झर्यो भनेर ठ्याक्कै थाहा भएन भने सँगै आएका साथीहरूलाई सोधेर प्रस्ट हुने किरणले बताए ।
२०७३ सालमा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं छिरेका किरणले यतैबाट स्नातक तहको अध्ययन पूरा गरिसकेका छन् । हाल उनी लोकसेवा आयोगको तयारीमा जुटेका छन् । तर, उनको परिचय यतिमा मात्र सीमित छैन । उनी आफैंमा दृष्टिविहीन क्रिकेट (ब्लाइन्ड क्रिकेट) का एक अब्बल खेलाडी हुन् । राष्ट्रिय स्तरका प्रतियोगितामा आफ्नो क्षमता प्रदर्शन गरिसकेका किरणले ब्लाइन्ड क्रिकेटको नियम र खेल्ने शैलीबारे प्रस्ट्याउँदै भने, ‘ब्लाइन्ड क्रिकेट भनेको सबै तरिकाले सामान्य क्रिकेटजस्तै हो, नियमहरू उस्तै हुन्छन् । एउटै फरक भनको यसमा प्रयोग हुने बल बज्ने खालको हुन्छ र हामी त्यसलाई अन्डरआर्म घुमाएर फ्याँक्छौं । त्यही बल बजेको आवाजको आधारमा ब्याटरले बलको दिशा र गति पहिल्याएर शट प्रहार गर्छन् ।’
उनले दृष्टिविहीन क्रिकेटको राष्ट्रिय टोलीबाट विश्वकप खेल्ने ठूलो सपना बुनेका थिए । सन् २०२४ को दृष्टिविहीन टी–२० विश्वकपका लागि छनोट प्रतियोगिता भइरहेको थियो । उनी उत्कृष्ट लयमा थिए । ‘पोहोर साल हाम्रो २०२४ को लागि वर्ल्डकप सेलेक्सन भइरहेको थियो । खेल्दाखेल्दै मेरो टाउकोमा गम्भीर चोट लाग्यो,’ उनले सुनाए, ‘सायद वर्ल्डकप खेल्न मौका मिल्थ्यो होला, तर इन्जुरीका कारण त्यहाँसम्म पुग्न सकिनँ । बीचमै रोकिनुपर्यो ।’ यद्यपि शारीरिक रूपमा आँखा नदेखे पनि भविष्यको उज्यालो देख्ने किरणको मनले हार मानेको छैन । उनी भन्छन् ‘मेरो आस मरेको छैन । सन् २०२७ मा फेरि वर्ल्डकप हुँदै छ, म त्यसमा जसरी पनि पुग्ने प्रयास गर्नेछु ।’
क्रिकेटको यो नसा र ब्लाइन्ड क्रिकेटको अनुभवबाट कविता पनि अछुतो छैनन् । ‘मैले पनि एकपटक ब्लाइन्ड क्रिकेट खेलेकी छु । त्यो बेला खेल जित्ने तरखरमा थियो, म फिल्डिङमा थिएँ र मैले एउटा क्याच लिएकी थिएँ,’ उनले सुनाइन्, ‘त्यो बेलाको खुसी र क्रिकेटको मज्जा म अहिले पनि सम्झिन्छु । सुदूरपश्चिमको खेल प्रत्यक्ष सुन्न पाउँदा त्यही दिन मैदानमा खेले जस्तै महसुस भइरहेको छ ।’
मैदानमा खेल निकै रोमाञ्चक मोडमा पुगिसकेको थियो । काठमान्डु गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सका खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका थिए । प्यारापिटमा सुदूरपश्चिमको समर्थनमा देउडा भाकाहरू गुन्जिन थालिसकेका थिए । झन्डा फहराउने र हुटिङ गर्ने दर्शकको आवाजले कीर्तिपुरको आकाश गुञ्जायमान थियो । किरण र कविता पनि सुदूरपश्चिमको जितको प्रार्थना गर्दै हुटिङमा स्वर मिलाइरहेका थिए । ‘हाम्रो टिमले जित्दाको यो खुसी शब्दमा बयान गर्नै सकिँदैन । स्टेडियममै आएर आफ्नो टिमको जितको साक्षी बन्न पाउँदा मेरो जीवनकै अविस्मरणीय दिन बनेको छ । आँखाले नदेखे पनि यो जितको सुगन्ध र माहोल मेरो मनमा सधैं ताजा रहनेछ,’ किरणले कुराकानीमा बिट मारे ।
मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।