कतिपय ठाउँमा त फरक देशको नागरिक भएको अनुभूति पनि हुँदैन । यस्तो सम्बन्धलाई थप जीवन्त बनाउँदै लैजान आवश्यक छ । त्यसका लागि सम्बन्ध, सहकार्य र अन्तर्क्रियाका आधारहरूलाई फैलाउँदै लैजानुपर्छ ।
नेपाल–भारत सम्बन्धका अनेकौं आयाम छन् । त्यसमध्ये सामुदायिक स्तरमा नागरिकबीच रहेको सम्बन्ध सबैभन्दा उच्च स्थानमा छ । त्यसैले पनि ‘रोटी–बेटीको सम्बन्ध’ सधैं बलियो बिम्बका रूपमा प्रयोग गर्ने गरिन्छ । निकट र बलियो सम्बन्धले दुई देशका नागरिकबीच सद्भावपूर्ण र सहयोगी भावना बलियो बन्दै आएको छ । नाता सम्बन्ध विस्तार हुने गरेको छ ।
स्थानीय व्यापार व्यवसाय चलेको छ । कतिपय ठाउँमा त फरक देशको नागरिक भएको अनुभूति पनि हुँदैन । यस्तो सम्बन्धलाई थप जीवन्त बनाउँदै लैजान आवश्यक छ । त्यसका लागि सम्बन्ध, सहकार्य र अन्तर्क्रियाका आधारहरूलाई फैलाउँदै लैजानुपर्छ ।
नेपालले भारततर्फको ठूलो जनसंख्यालाई ध्यानमा राखेर रणनीतिक पहल गर्ने हो भने ठूलो लाभ लिन सक्छ । शिक्षादेखि स्वास्थ्य सेवासम्ममा भारतीय नागरिकलाई आकर्षित गर्न सक्छ । यसका लागि आन्तरिक वातावरण तयार गर्ने र त्यसको प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्छ ।
नेपाली विद्यार्थी उच्च शिक्षाका लागि भारतका विश्वविद्यालयसम्म पुगिरहेको विवरण नयाँ होइन । कुनै बेला धार्मिक शिक्षा लिनका लागि नेपाली विद्यार्थी भारत पुग्ने गर्थे । समयक्रममा अध्ययनको दायरा समाज विज्ञान, विज्ञान र प्रविधिसम्म विस्तार भइसकेको छ ।
अर्कोतर्फ, स्वास्थ्य उपचारका लागि पनि भारत बलियो विकल्प भइसकेको छ । कतिपय रोगको उपचारका लागि नेपाली नागरिक अहिले पनि भारतका प्रतिष्ठित अस्पताल पुगिरहेका हुन्छन् । धेरै नेपाली घुम्नका लागि भारतका विभिन्न धार्मिक लगायतका पर्यटकीय स्थल गइरहेका हुन्छन् । तर यस्तो व्यवहार एक पक्षीय मात्रै छैन ।
जे जस्ता कामका लागि नेपाली भारततर्फ गइरहेका हुन्छन्, त्यसैगरी भारतीय पनि नेपालतर्फ आइरहेका हुन्छन् । नेपालका विद्यालयमा भारतीय विद्यार्थी पढ्न आउने गरेको सन्दर्भले नागरिकस्तरको सम्बन्ध दुई पक्षीय रहेको देखाउँछ । त्यसो त उच्च शिक्षा, स्वास्थ्य सेवा तथा पर्यटन जस्ता कारणले नेपाल आउने भारतीयको संख्या ठूलो छ ।
अहिले भारतसँग सीमा जोडिएका तराईका विभिन्न जिल्लामा भारतीय बालबालिका पढ्न आउने गरेका छन् । त्यसरी पढ्न आउनेहरूले भारतीय विद्यालयमा राम्रो पढाइ नभएको वा विद्यालय नै टाढा रहेको बताउने गरेका छन् । तुलनात्मक रूपमा नेपालमा शिक्षा सुलभ र गुणस्तरीय रहेको उनीहरूको ठम्याइ छ । यसले दुई देशका नागरिकबीचको जनस्तरकै सम्बन्ध थप फराकिलो बन्दै गएको पुष्टि हुन्छ । उनीहरूबीचको विश्वास र आत्मीयता बढाउन पनि सहयोगी हुन्छ ।
तर, भारतीय बालबालिकाको आगमनको पछाडि उनीहरूको बाध्यता नै प्रमुख कारणका रूपमा देखिन्छ । नेपालका शैक्षिक केन्द्रहरूलाई स्वाभाविक र निरन्तर आकर्षणको गन्तव्य बनाउन भने धेरै मिहिनेत गर्नुपर्छ । त्यसका लागि गुणस्तर, सहज वातावरण, आतिथ्यता र अपनत्व बढाउँदै लैजानुपर्छ । यस्ता सर्तहरू विषय विद्यालय तहको शिक्षामा मात्रै होइन, उच्च शिक्षा, स्वास्थ्य सेवा, पर्यटन लगायतका क्षेत्रमा पनि उत्तिकै सान्दर्भिक हुन्छन् ।
उच्च शिक्षाका लागि नेपाली विद्यार्थी धेरै देश पुगिरहेका हुन्छन् । विश्वव्यापीकरणको समयमा यो व्यक्तिगत छनोटको विषय हो । यद्यपि, नेपाल पनि कतिपय क्षेत्रमा गन्तव्य बनिरहेको छ । परिणामतः नेपालीले शिक्षाका लागि बाहिर लैजाने रकम जस्तै शिक्षाका लागि नेपाल भित्रिने रकम पनि बढेकै देखिन्छ । भारतीय विद्यार्थीको रोजाइमा पनि नेपाल पर्न थालेको पाइन्छ । उनीहरू चिकित्सा शिक्षा तथा इन्जिनियरिङ जस्ता विषय पढ्न नेपाल आउने गरेका छन् ।
चिकित्सा शिक्षाका लागि भारतीय विद्यार्थी जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म पुगेका छन् । त्यस्तै सीमा नजिकका नेपाली आँखा अस्पतालमा पनि प्रशस्तै भारतीय बिरामीले सेवा लिने गरेका छन् । वीरगन्जस्थित केडिया आँखा अस्पताल, ठोरीस्थित भरतपुर आँखा अस्पताल, लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल, महेन्द्रनगर आँखा अस्पतालमा भारतीय नागरिकको पनि चाप देखिन्छ । नेपालका धार्मिक गन्तव्य तथा प्राकृतिक सौन्दर्यलाई लक्षित गरेर आउने भारतीय पर्यटकको संख्या पनि उल्लेखनीय छ ।
नेपाल–भारत नजिकका देश त हुन् नै, सामाजिक–सांस्कृतिक–भौगोलिक–भाषिक परिवेश उस्तै छ । त्यसैले भारतीय नागरिकका लागि कुनै पनि कामले नेपाल आउन बढी सहज हुन्छ । अर्कोतर्फ, नेपाल तुलनात्मक रूपमा सहिष्णु समाज हो । राजनीतिक–सामाजिक–धार्मिक द्वन्द्व अत्यन्त कम हुने गर्छ । त्यसले पनि यहाँ आउनु र सेवा तथा मनोरञ्जन लिनु धेरै भारतीयका निम्ति सहज छ ।
तुलनात्मक रूपमा सस्तो सेवा लिन पाइन्छ । नेपालले पनि यस्ता सकारात्मक पक्षलाई प्रचारप्रसार गर्नुपर्छ । तर, गुणस्तर सुनिश्चित गर्नुपर्छ । सेवा दिन सक्ने क्षमता पनि विकास गर्दै लैजानुपर्छ । सीमा क्षेत्रमा त्यस्ता संस्था भएमा झनै राम्रो हुनेछ । सेवाग्राही बढ्दै गएमा सम्बन्धित संस्था मात्रै होइन, अन्य क्षेत्रले पनि आर्थिक लाभ लिन पाउँछन् । त्यसले स्थानीय अर्थतन्त्रलाई थोरै भए पनि चलायमान बनाउन सहयोग पुग्छ । अन्ततः जनस्तरको सम्बन्ध अझै बलियो हुनेछ । दुई पक्षीय विश्वास र अन्तरसम्बन्ध बढ्दै जानेछ ।
यसका लागि गुणस्तरीय शिक्षण अस्पताल, स्वास्थ्य सेवा प्रदायक अस्पताल, नेपालको पहाडी क्षेत्रको हावापानीमा सुहाउने हिलस्टेसन लगायतमा लगानी बढाउनुपर्छ । यसमा भारतीय लगानी पनि आउन सक्छ । यसतर्फ विशेष प्याकेज नै घोषणा गरी काम गर्नुपर्छ ।
सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय