पार्टीको जिम्मेवारीमा बसेर आफ्नै पार्टीका उम्मेदवारलाई भोट नहाल्ने तथा पार्टीविरुद्ध गतिविधि गर्ने नेता–कार्यकर्तालाई तत्काल कारबाही गर्न अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको स्वेच्छाचारिता र अधिनायकवादी प्रवृत्तिविरुद्ध आन्दोलनमा उत्रिन पार्टीका नेता–कार्यकर्तालाई आह्वान गरेका छन् । एमाले सिद्धियो भन्ने भाष्य चिर्नसमेत आन्दोलन र निर्वाचन दुवै मोर्चाबाट पार्टीको शक्ति प्रदर्शन गर्नुपर्ने ओलीले बताएका छन् ।
बागमती प्रदेश संगठन कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले सरकारका गतिविधिले मुलुकलाई असंवैधानिक बाटोतर्फ लगेको टिप्पणी गरे । उनले आन्दोलनका लागि तयार रहँदै पार्टीका सबै जनवर्गीय तथा पेसागत संगठनलाई परिचालन गर्न निर्देशन दिए । ‘आन्दोलनका लागि तयार हुनुहोस् । एमाले सिद्धियो भन्ने पारिएको छ । होइन भन्ने देखाउनुपर्छ,’ उनले भने, ‘एमाले सही विचार भएको सबैभन्दा संगठित, प्रभावशाली र कर्मठ पार्टी हो भन्ने कुरा आन्दोलन र निर्वाचनबाट देखाउनु छ ।’
ओलीले वर्तमान सरकारको उत्पत्ति नै आगजनी र लुटपाटबाट भएकाले सुशासनको अपेक्षा गर्न नसकिने बताए । सरकारको स्वेच्छाचारिता र अधिनायकवादी प्रवृत्ति बढ्दै गएको उनको भनाइ थियो । छानबिन समिति गठन र सरकारी निर्णय प्रक्रियासमेत मनोमानी ढंगले अघि बढाइएको टिप्पणी उनले गरे ।
आफूलाई पक्राउ गरिएको घटनालाई ओलीले पूर्वाग्रह, प्रतिशोध र अहंकारबाट प्रेरित भनेका छन् । सरकारको निर्देशनमा पक्राउ गर्न खटिएको भन्दैमा प्रहरीले मर्यादा र व्यावसायिकता बिर्सन नहुने उनको भनाइ थियो । प्रहरी संगठनभित्रै कोही लाभको खेलमा लागेको र कोही त्यसलाई हेरेर बसिरहेको टिप्पणी उनले गरे ।
‘फिक्सर’ इनम सापकोटाको प्रसंग निकाल्दै ओलीले उनको चलखेलमा सरकारी पक्षकै संलग्नता देखिएको आरोप लगाए । ओलीले प्रतिनिधिसभा विघटन र त्यसपछिको निर्वाचन प्रक्रियालाई पनि असंवैधानिक कदमको निरन्तरताका रूपमा व्याख्या गरे । असंवैधानिक प्रधानमन्त्रीको व्यक्तिगत सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको र त्यसलाई क्रान्ति तथा आन्दोलनको नाम दिन निर्वाचनको मञ्चन गरिएको उनको आरोप थियो । ‘असंवैधानिक ढंगले संसद् विघटन गरियो । त्यसलाई मान्यता दिन, आन्दोलन भन्नका लागि चुनाव गरियो । बलिदान गरेर आएका नेताहरूको चरित्र हत्या गर्न सिकाइयो,’ उनले भने ।
ओलीले पछिल्लो निर्वाचनमा राज्य संयन्त्रको दुरुपयोग गरिएको आरोपसमेत लगाए । भौतिक कुटपिट, गोली प्रहार वा ढुंगा हान्ने काम नभए पनि राज्य संयन्त्रको प्रयोग गरेर मनोवैज्ञानिक आतंक सिर्जना गरिएको उनको भनाइ थियो । गत फागुनको प्रतिनिधिसभा निर्वाचनलाई स्वाभाविक प्रतिस्पर्धाका रूपमा लिन नसकिने ओलीले बताए ।
बैठकमा ओलीले पार्टीभित्रको अनुशासन र निष्ठाको विषयलाई पनि जोड दिए । पार्टीको जिम्मेवारीमा बसेर आफ्नै पार्टीका उम्मेदवारलाई भोट नहाल्ने तथा पार्टीविरुद्ध गतिविधि गर्ने नेता–कार्यकर्तालाई तत्काल कारबाही गर्न उनले निर्देशन दिए । ‘पार्टीमा बस्ने भए पार्टीको पक्षमा उभिनुपर्छ । पार्टीमा बस्ने तर भोट बदल्ने बेइमान कुरा एमाले भएर सुहाउँदैन । भोट बदल्नुभन्दा पहिले पार्टी बदल्नु राम्रो हो,’ उनले भने ।
पार्टीमा रहने तर निर्वाचनमा अन्य दलका उम्मेदवारलाई सघाउने प्रवृत्ति स्वीकार्य नहुने ओलीले बताए । ‘अब उप्रान्त यस्तो हुँदा जिल्लाले जिल्लामै कारबाही गर्नुस्, त्यहीँबाट कारबाही गरेर सिफारिस पठाउनुस् । स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र तथ्य पाइए कारबाही गरिहाल्नुहोस्, उनले भने । पार्टीभित्र बेइमानी गर्नेहरूलाई कारबाही नगरे एमाले बेइमानहरूको झुन्ड बन्ने उनको भनाइ थियो ।
ओलीले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई पार्टीका लागि मात्र नभई राष्ट्रिय सभा तथा राष्ट्रपति निर्वाचनसँग जोडेर तयारी गर्नुपर्ने बताए । स्थानीय तहका जनप्रतिनिधि राष्ट्रिय सभा निर्वाचनका मतदाता हुने र प्रदेशसभा सदस्यको पनि राष्ट्रपति निर्वाचनमा भूमिका रहने भएकाले यी निर्वाचनबीच अन्तरसम्बन्ध रहेको उनको भनाइ थियो । ‘अब आउने स्थानीय र प्रदेश निर्वाचन एउटा निर्वाचनसँग मात्रै सम्बन्धित छैन, त्यसको सम्बन्ध अर्को निर्वाचनसँग पनि जोडिएको छ । यसमा ध्यान दिएर योजनाबद्ध ढंगले लाग्नुपर्छ,’ उनले भने ।