नेकपा एमालेका सचिव महेश बस्नेतले केपी ओली नेतृत्वको सरकारको कार्यकालमा ३ हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन भई नेपाल लोडसेडिङमुक्त भएको दाबी गरेका छन्।
शनिबार बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले ३० वर्षसम्म जलविद्युत्मा १ हजार मेगावाटसमेत उत्पादन नभएको अवस्थामा ओली सरकारकै लगानीका कारण लोडसेडिङ अन्त्य भएको बताए।
यद्यपि, त्यसको जस तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले प्राप्त गरेको उल्लेख गर्दै बस्नेतले घिसिङ एमडी भएको समयमा काम भएकाले जस पाउनु स्वाभाविक भए पनि मुख्य अवधारणा केपी ओली सरकारकै रहेको जिकिर गरे।
एमालेले ३५ वर्ष शासन गरेको भन्ने भ्रम चिर्नुपर्ने बताउँदै सचिव बस्नेतले २०७४ देखि २०७९ सालसम्मको कार्यकाल नेपालको विकासको स्वर्णिम काल भएको दाबी गरे।
२०५२ सालमा मनमोहन अधिकारीको सरकार बनेयता १० वर्षे द्वन्द्व र तीन वर्षको शाही शासनका कारण काम गर्न नपाइएको उनको भनाइ थियो। ‘बालेन, रवि अथवा आफूलाई वैकल्पिक शक्ति भन्ने सबैको सामु हामी परीक्षण दिन तयार छौं,’ उनले भने।
नौ महिनामा केही काम भएन भन्नेहरूलाई दिन पर्याप्त जवाफ रहेको उल्लेख गर्दै बस्नेतले बागमतीका पार्टी नेता तथा कार्यकर्तालाई मिडिया र सामाजिक सञ्जालको प्रयोगमार्फत ती कामको प्रचार गर्न आग्रह गरे।
ओली सरकारका उपलब्धि दाबी गर्ने क्रममा उनले ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत प्रत्येक क्षेत्रमा ४० करोडभन्दा बढी बजेट विनियोजन गरिएको र ७५३ पालिकालाई सदरमुकामसँग जोड्ने सडक व्यवस्थित गरिएको बताए।
त्यस्तै, अलपत्र परेको हुलाकी राजमार्गसहित मदन भण्डारी र पुष्पलाल मध्यपहाडी राजमार्ग निर्माण तथा महेन्द्र राजमार्गलाई एसियाली मापदण्डअनुसार स्तरोन्नति गरिएको उनको दाबी थियो।
मधेसमा ढल, सडक र व्यवस्थित बस्ती विकासको अवधारणा ल्याइएकाले हिजो फोहोर भनिएको जनकपुर सफा र अव्यवस्थित भनिएको वीरगन्ज व्यवस्थित सहरमा परिणत भएको बस्नेतले बताए
उनले मरिण-कोसी डाइभर्सन र भेरी-बबई सिँचाइ आयोजनामार्फत कृषिमा क्रान्ति ल्याइएको दाबीसमेत गरे।
नौवटा क्षेत्रका युवालाई ६ प्रतिशत र समयमै तिर्दा २ प्रतिशत ब्याजदरमा १५ लाखसम्मको स्टार्टअप तथा कृषि र पशुपालनमा परियोजना र प्रमाणपत्र धितो राखेर २ करोडसम्मको ऋण कार्यक्रम ल्याइएको बस्नेतले उल्लेख गरे।
त्यस्तै, ‘प्रधानमन्त्री आधुनिक कृषि कार्यक्रम’ अन्तर्गत बिउबिजनमा शतप्रतिशत, मलमा ७५ प्रतिशत र कृषि तथा उद्योगमा प्रयोग हुने ट्र्याक्टर र मेसिनमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए । ग्रामीण कृषि र जलविद्युत्ले व्यापार घाटा घटाउने उनको भनाइ थियो।
‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत विद्यालय भवन, शौचालय, खानेपानी, आइसीटी ल्याब र प्राविधिक शिक्षा विस्तार गरी प्राथमिक तहमा विद्यार्थी भर्ना दर ९५ प्रतिशत पुर्याइएको बस्नेतले दाबी गरे।
उनले ओलीले एकैपटक ३९६ वटा पालिकास्तरीय अस्पताल शिलान्यास गरेको र मुटु, मिर्गौलालगायत गम्भीर रोगका बिरामीलाई पालिकाको सिफारिसमा १ लाख र स्वास्थ्य बिमाबाट थप १ लाख गरी २ लाख रुपैयाँ उपचार सहयोगको व्यवस्था गरिएको बताए।
प्रकाशित: २८ कार्तिक २०८३ १९:०६ शनिबार