Trending
Prev Story
Next Story

जेन्सेन हुआङ प्रकरणले अमेरिकालाई कस्तो हानि गर्न सक्छ ?

Ekantipur •
November 14, 2026 • 01:32 AM
3
3 reads 0 reactions

जेन्सेनको विवादास्पद सम्बन्ध बाहिरिएपछि डेमोक्रेट्स सांसदहरूले उनको कडा विरोध गरेका छन्, अमेरिकी प्रविधिको मेरुदण्ड मानिएको कम्पनी चीन सरकारको प्रभावमा रहेको हुन सक्ने चिन्ता उनीहरूको छ।

जेन्सेन हुआङ प्रकरणले अमेरिकालाई कस्तो हानि गर्न सक्छ ?

जेन्सेनको विवादास्पद सम्बन्ध बाहिरिएपछि डेमोक्रेट्स सांसदहरूले उनको कडा विरोध गरेका छन्, अमेरिकी प्रविधिको मेरुदण्ड मानिएको कम्पनी चीन सरकारको प्रभावमा रहेको हुन सक्ने चिन्ता उनीहरूको छ।

वासिङ्टन — प्रेम सम्बन्ध सामान्यतया व्यक्तिगत मामिला हुन् । तर जेन्सेन हुआङको सम्बन्धबारे अहिले विश्वव्यापी रूपमा चर्चा भइरहेको छ । हुआङ विश्वचर्चित कम्पनी एनभिडियाका सीईओ थिए । यस कम्पनी एआई बजारमा गुणस्तरीय र अत्याधुनिक चिप्स उत्पादनका लागि चिनिन्छ । प्रेम सम्बन्धकै कारण आलोचित भएपछि उनले सीईओ पदबाट राजीनामा दिइसकेका छन् ।

एआईका लागि आवश्यक चिप्स उत्पादन गर्ने कम्पनीका प्रमुख व्यक्ति भएकै कारण अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग जेन्सेन हुआङको निकट सम्बन्ध छ । ट्रम्पसँग मध्यरातमा फोन गरेर सोझै कुराकानी गर्न सक्ने थोरै व्यक्तिमध्ये उनी एक हुन् । तर उनी एक यस्तो चिनियाँ महिलासँग विवाहेत्तर सम्पर्कमा थिए, जसमाथि चीनलाई गुप्तचर जानकारी र उन्नत चिपहरू आपूर्ति गरेको आरोप लागेको छ । उनीसँग सम्बन्धमा रहेकी एलिस हुआङ सिंगापुरमा कार्यालय रहेको क्लाउड कम्प्युटिङ कम्पनी मेगास्पिडकी पूर्वकार्यकारी हुन् ।

यो व्यक्तिगत विश्वासघात, कर्पोरेट जासुसी र उच्च प्रविधि विकासको एक कथा हो, जसको असर अमेरिकाभर फैलिरहेको छ । अमेरिकी संसद्मा दुवै दलका नेताहरूले यस विषयमा छानबिनको माग गरेका छन् । अमेरिकी न्याय विभागले आफ्नै छुट्टै अनुसन्धान सुरु गरेको छ । विश्वको सबैभन्दा मूल्यवान कम्पनीमध्ये एक एनभिडियाले पनि आन्तरिक समीक्षा गरिरहेको छ ।

एनभिडियाले उत्पादन गर्ने चिप्सहरूले कम्प्युटरहरूलाई सिर्जना र विश्लेषणको विशाल शक्ति प्रदान गरेर मानव सभ्यतालाई नै रूपान्तरण गर्न सक्ने अपेक्षा गरिएको थियो । ट्रम्पले बारम्बार दोहोर्‍याएका छन्, ‘जसले एआई जित्छ, संसार उसैले जित्छ ।’ यस क्षेत्रमा वर्चस्व कायम गर्ने अमेरिकाको योजनाको मुख्य मेरुदण्ड नै एनभिडिया नै हो ।

जेन्सेन हुआङको सम्बन्धबारे सोधिएको प्रश्नमा ट्रम्पले यस साता उनीसँग कुरा गरेको बताएका छन् । उनले जेन्सेनको बचाउ गरेका छन् । पछिल्लो प्रकरणबारे ट्रम्पले भने, ‘मलाई लाग्छ उनी ठीक स्थितिमा हुनेछन् । उनका अनुसार ती व्यक्ति जासुस थिइन् भन्ने उनलाई बिल्कुलै थाहा थिएन ।’

अमेरिकाका विभिन्न निकायहरूले मेगास्पिड र एलिस हुआङमाथि पनि अनुसन्धान गरिरहेका छन् । अमेरिका र चीनबीचको एआई (कृत्रिम बुद्धिमत्ता) दौडलाई प्रायः एक कडा र दूरगामी प्रतिद्वन्द्विताका रूपमा हेर्ने गरिन्छ । अमेरिकी न्याय विभागले बेइजिङबाट उत्पन्न हुने जासुसीको खतराप्रति निरन्तर चेतावनी दिँदै आएको छ । यसमा सरकार र निजी उद्योगमा राम्रो पहुँच भएका सम्बन्धहरू विकास गर्ने, अमेरिकामा विकसित गरिएका एआई चिपहरूजस्ता संवेदनशील प्रविधिहरू प्राप्त गर्ने चिनियाँ प्रयासहरू पनि समावेश हुन सक्ने विभागको चेतावनी छ ।

गत वर्ष, मेगास्पिडविरुद्ध अमेरिकी निर्यात कानुन छलेको र ठूलो मात्रामा उन्नत एनभिडिया चिप्स चिनियाँ प्रयोगकर्ताहरूकहाँ पुर्‍याएको आरोप लागेको थियो । यस विषयमा अमेरिकी वाणिज्य विभागले छानबिन गरेको थियो । वाणिज्य विभागअन्तर्गतको अनुसन्धान न्याय विभागलाई हस्तान्तरण गरिएको थियो । त्यसपछि अहिले राष्ट्रिय सुरक्षा महाशाखाले मेगास्पिडले निर्यात नियन्त्रण कानुन उल्लंघन गरेको छ कि छैन भन्नेबारे अनुसन्धान गरिरहेको छ । अनुसन्धानबारे जानकार एक व्यक्तिले यसक्रममा अनुसन्धानले एलिस हुआङको पनि सूक्ष्म जाँच गर्नेछ ।

जेन्सेन हुआङले आफ्नी श्रीमती र छोराछोरीलाई चोट पुर्‍याएको भन्दै यस सम्बन्धका लागि आफ्नो कम्पनीसँग माफी मागेका छन् । तर एलिस हुआङलाई जासुसका रूपमा चित्रण गरेर सार्वजनिक भइरहेका रिपोर्टहरूबारे भने उनले केही बोलेका छैनन् । अर्कोतर्फ, द न्युयोर्क टाइम्ससँगको कुराकानीमा अमेरिकी गुप्तचर अधिकारीहरूले एलिस जासुस रहेको बताएका छन् । बेइजिङले चिनियाँ जासुसको आरोपलाई खण्डन गरेको छ । चीनको बदनामी गर्नका लागि यस्तो हल्ला फैलाइएको बेइजिङको दाबी छ ।

सन् २०२५ को सुरुमा मार–ए–लागोमा पहिलो पटक भएको डिनरपछि ट्रम्पले जेन्सेन हुआङलाई प्रतिभाशाली व्यक्तिका रूपमा चित्रण गर्दै आएका छन् । एनभिडियाद्वारा उत्पादित कम्प्युटर चिपहरूले डाटा सेन्टरहरूलाई बुद्धिमत्ता उत्पादन गर्ने कारखानामा परिणत गर्नेछ । यस बुद्धिमत्तालाई कार निर्माण, नयाँ औषधि, उन्नत हतियारलगायत क्षेत्रमा प्रयोग गरेर अर्थतन्त्रलाई समृद्ध बनाउन सकिन्छ । ट्रम्पले यसको भविष्यबारेमा छलफल गर्न नियमित रूपमा हुआङलाई फोन गर्ने गर्दथे ।

जेन्सेन हुआङले यस गर्मीमा एपीलाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘ट्रम्पले मसँग भेटेदेखि थप रोजगारी सिर्जना गर्ने, अमेरिकालाई पुनः औद्योगिक महाशक्ति बनाउने, राष्ट्रिय सुरक्षा सुदृढ गर्नेलगायत विषयमा कुराकानी गरेका छन् । अमेरिका धनी हुँदा हामीसँग धेरै राजस्व हुन्छ । हामी सेना र हाम्रो अर्थतन्त्रलाई बलियो बनाउन सक्छौं भन्ने उनलाई राम्रोसँग थाहा छ ।’

जेन्सेन हुआङ यस वर्षको सुरुमा बेइजिङको राजकीय भ्रमणका क्रममा एयर फोर्स वन विमानमा ट्रम्पसँगै गएका थिए । गत महिना मात्रै, ट्रम्पले उनलाई नेसनल मेडल अफ साइन्स प्रदान गरे । उनीबारे केही समयअघि ट्रम्पले भनेका थिए, ‘हुआङ त्यस्ता व्यक्ति हुन् । जसको दृढ संकल्पले सुपर इन्टेलिजेन्सको विकासका लागि आधार तयार गर्‍यो । अनि, यस दौडमा अमेरिकालाई अग्रपंक्तिमा राख्यो ।’ एनभिडियाले ट्रम्पको ह्वाइट हाउस बलरुम निर्माण गर्न २ करोड ५० लाख डलर पनि सहयोग गरेको थियो ।

ट्रम्पको दोस्रो कार्यकालमा सेयर बजारमा भएको वृद्धिको आधाभन्दा बढी हिस्सा एआई उद्योग र डाटा सेन्टरहरूको निर्माणले ओगटेको विभिन्न अध्ययनहरूले देखाएका छन् । सेयर बजारमा आशा जगाइराख्न यो वृद्धि जरुरी छ । यसबाहेक अर्थतन्त्रका अन्य आयामहरू सुधार्न ट्रम्प प्रशासन चुकेको छ । अमेरिकामा बढ्दो मूल्यवृद्धि रोक्ने आफ्नो चुनावी वाचा पूरा गर्न असफल भएकै कारण भर्खरै सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टी बहुमत जोगाउनबाट चुक्यो ।

मतदाताहरूले विपक्षी डेमोक्रेटिक पार्टीलाई संसद्का दुवै सदनमा बहुमत दिएका छन् । हुआङले आफ्नो रुचि अमेरिकालाई सफल बनाउन सहयोग गर्नुमा रहेको बताउँदै आएका छन् । तर उनीविरुद्ध चीनमा केही चिप्स बेच्नका लागि जोडबल गरेको आरोपमा पनि संसदीय छानबिन चलिरहेको छ । एनभिडियाले एच–२०० जस्ता कम उन्नत चिपहरू चीनलाई बेच्न पाउनुपर्छ भन्ने धारणा उनले व्यक्त गरेका थिए ।

म्यासाचुसेट्सकी डेमोक्रेटिक सेनेटर एलिजाबेथ वारेनले यस विषयमा संसद्मै उपस्थित भएर जवाफ दिन उनीसँग माग गरेकी छन् । हुआङ अहिलेसम्म संसदीय समितिमा उपस्थित हुन मानेका छैनन् । पछिल्लो पटक विवादास्पद सम्बन्ध बाहिरिएपछि डेमोक्रेट्स सांसदहरूले उनको कडा विरोध गरेका छन् । अमेरिकी प्रविधिको मेरुदण्ड मानिएको कम्पनी चीन सरकारको प्रभावमा रहेको हुन सक्ने चिन्ता उनीहरूको छ ।

‘चिनियाँ सेनासँग जोडिएका कम्पनीहरूसहित चीनमा लाखौं उन्नत एआई चिप्स निर्यात गर्न एनभिडियाले अनुमति प्राप्त गरेको खबर आएको छ,’ वारेनले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । जेन्सेन र एलिसको सम्बन्धलाई जोड्दै विज्ञप्तिमा भनिएको छ, ‘यी गतिविधिहरूको सीमा कहाँसम्म थियो । एनभिडियाले जवाफ दिनुपर्ने समय आएको छ ।’

गुलाबी पहिरन र हातमा वाइनको ग्लास । कतै सेतो कोटमा मुस्‍कान । अहिले एलिस हुआङका यस्‍ता धेरै तस्बिरहरू इन्टरनेटमा भाइरल छन् । एआई कम्पनीहरूका लागि चिप्स निर्माण गर्दै आएको विश्‍वचर्चित कम्पनी एनभिडियाका कम्पनीका सीईओ जेन्सेन हुआङसँगको उनको विवाहेत्तर प्रेम सम्बन्ध सार्वजनिक भएसँगै एलिस विवाद र चर्चामा तानिएकी हुन् ।

जेन्सेनले सम्बन्‍धमा रहेको स्विकार्दै यसले परिवारमा गहिरो चोट पुर्‍याएको बताएका छन् र परिवारसँग माफी मागेका छन् । तर, एलिससँगको सम्बन्धले अमेरिकी राष्ट्रिय सुरक्षामा खलल पुर्‍याएको आरोपबारे आफ्नो विज्ञप्तिमा केही पनि उल्लेख गरेका छैनन् । तस्बिरहरू भाइरल भइरहे पनि एलिसको जीवन र जेन्सेनसँगको उनको भित्री कथा अझै पनि रहस्यको पर्दाभित्रै छ ।

वैवाहिक धोकाधडी, रहस्य र जासुसीको गम्भीर आरोपले भरिएको यो कथाले प्रविधि र राजनीतिक दुवै क्षेत्रलाई हल्लाइदिएको छ । तर, ती महिलाको जीवनयात्रा र विश्वको एक शक्तिशाली प्रविधि कम्पनीका प्रमुखसँग उनको सामीप्य कसरी बढ्यो भन्ने विषय अझै पनि अनुत्तरित नै छ ।

गत महिना ‘द न्युयोर्क टाइम्स’ मा प्रकाशित एक रिपोर्टपछि ‘एलिस हुआङ’ (जसलाई हुआङ लि पनि भनिन्छ) रातारात चर्चामा आएकी हुन् । रिपोर्टमा उनले एनभिडियाका प्रमुखसँग घनिष्ठ सम्बन्ध बनाएको र बेइजिङलाई संवेदनशील सूचनाहरू चुहाएको दाबी गरिएको थियो । एलिस हुआङ चीनले जासुसी गर्न खटाएकी एजेन्ट रहेको निष्कर्ष अमेरिकी गुप्तचर अधिकारीहरूले गरेको दाबी उक्त समाचारमा थियो । तथापि, बेइजिङले भने यी सबै आरोपहरूलाई ‘निराधार’ र ‘चीनविरुद्धको बदनाम गर्ने षड्यन्त्र’ भन्दै खारेज गरिसकेको छ ।

चीनमा टेलिभिजन रिपोर्टरका रूपमा काम गरिसकेकी एलिस हुआङ सन् २०२३ मा सिंगापुरस्थित ‘मेगास्पिड’ कम्पनीमा निर्देशक बनेकी थिइन् । आफूलाई ‘एनभिडियाको क्लाउड पार्टनर’ बताउने यो कम्पनीमाथि चीनमा ठूलो मात्रामा उन्नत चिप्स तस्करी गरेको आरोप लगाइएको छ । अमेरिकाले चीनमाथि संवेदनशील चिप्सको निर्यात प्रतिबन्ध लगाएकाले उन्नत चिप्सको निर्यात अमेरिकी कानुनअनुसार अवैधानिक मानिन्छ ।

मेगास्पिड कम्पनीको यात्रा पनि आफैंमा रहस्यपूर्ण छ । कम्पनी दर्ता कागजातहरूअनुसार, यो संस्था सन् २०१५ मा ‘सेभेन रोड इन्टरनेसनल’ का रूपमा सिंगापुरमा स्थापना भएको थियो । पछि सन् २०२३ को मार्चमा यसको नाम परिवर्तन गरेर ‘मेगास्पिड इन्टरनेसनल’ राखियो । यसपछि सबै सेयर ब्रिटिस भर्जिन टापुमा दर्ता भएको एउटा कम्पनीलाई दिइयो ।

वासिङ्टनस्थित सुरक्षासम्बन्धी गैरनाफामुखी संस्था सी फोर एड्सको अनुसन्धानअनुसार, नाम परिवर्तनपछि एलिस हुआङ यस कम्पनीको निर्देशक बनिन् । सबै कार्यकारी अधिकार उनैलाई थियो । तर, त्यसको आठ महिनापछि उनी मेगास्पिडको निर्देशक पदमा नरहेको र उनका सेयरहरू सिंगापुरका व्यवसायी टान योङ पङ (जेम्स टान) लाई हस्तान्तरण गरिएको कागजातहरूमा देखिन्छ ।

यता, ‘कल्पर रिसर्च’ नामक सर्ट सेलर कम्पनीले तयार गरेको रिपोर्टमा एलिस हुआङको संलग्नता अझै पनि मेगास्पिडमा रहेको उल्लेख छ । मेगास्पिडका एक कर्मचारीले मे महिनाको रिपोर्टमा भनेका छन्, ‘हुआङ अझै पनि हाम्री मालिक हुन् । उनी दैनिक कार्यमा सक्रिय रहन्छिन् ।’ मेगास्पिडभन्दा अगाडि, एलिस हुआङले सन् २०१५ देखि २०१७ सम्म चिनियाँ निजी इक्विटी फर्म ‘सांघाई हेक्सी इन्भेस्टमेन्ट’ मा वरिष्ठ पदहरू सम्हालेकी थिइन् । त्यसअघि उनी एचएसबीसीको हङकङस्थित प्राइभेट बैंकिङ शाखामा कार्यरत थिइन् । उनीसँग चिनियाँ लगानी बैंक ‘सिटिक सेक्युरिटिज’ मा समेत काम गरेको अनुभव छ ।

मेगास्पिड कम्पनीमाथि चीनमा अवैध रूप चिप्स पठाएको आरोप छ । यस आरोप कम्पनीले अस्वीकार गर्दै आएको छ । यस कम्पनीले आफ्नो वेबसाइटमा आफूलाई एनभिडियाको एसियाली बजारको मुख्य साझेदार दाबी गरेको छ । सिंगापुर सरकारले भने एलिस हुआङको सम्बन्धमा हालसम्म कुनै पनि औपचारिक अनुसन्धान नगरिएको जनाएको छ । एलिस हुआङको जीवनसँग जोडिएका हरेक नयाँ जानकारी बाहिरिएसँगै जनमानसमा कौतूहल झन् बढ्दै गएको छ । तर, सामाजिक सञ्जालमा उनका तस्बिरहरू जति नै भाइरल भए पनि प्रविधि जगत्को यो ठूलो प्रकरणको पर्दापछाडिको कथा भने अझै अनुसन्धानकै घेरामा छ । अमेरिकामा विभिन्न निकायहरूले जेन्सेन हुआङको अनुसन्धान गरिरहेका छन् । एनभिडियाले पनि आफ्नो प्रमुख कार्यकारीमाथिको यस अभियोगको अनुसन्धान गरिरहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
22h ago
जेन्सेन हुआङको आकस्मिक राजीनामाले एनभिडियामा हलचल:  सेयर बजारमा पहिरो, अमेरिका–चीन प्रविधि तनाव पुनः चर्कियो

जेन्सेन हुआङको आकस्मिक राजीनामाले एनभिडियामा हलचल: सेयर बजारमा पहिरो, अमेरिका–चीन प्रविधि तनाव पुनः चर्कियो

सान्टा क्लारा, क्यालिफोर्निया– कृत्रिम बुद्धिमत्ता (एआई) क्रान्तिको ३३ वर्ष लामो नेतृत्वमा नाटकीय पूर्णविराम लगाउँदै जेन्सेन हुआङले सन् २०२६ नोभेम्बर १२, बिहीवारका दिन एनभिडियाको प्रमुख कार्यकारी अ...

#जेन्सेन #हुआङ #अमेरिका
Compare →
Nagarik News
1d ago
एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडियाले राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचनामा असर परेको विश्वास गर्ने कुनै आधार नभएको बताएको छ। कम्पनीले घटनाबारे स्वतन्त्र अनुसन्धान गरिरहेको जनाएको छ।

#जेन्सेन #अमेरिकी #प्रकरण
Compare →
Bizshala
1d ago
एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा, कोलेट क्रेसलाई अन्तरिम जिम्मेवारी

एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा, कोलेट क्रेसलाई अन्तरिम जिम्मेवारी

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङले पदबाट राजीनामा दिएका छन्...

#हुआङ
Compare →
Onlinekhabar
1d ago
एनभिडियाका सीईओ जेन्सेनले दिए राजीनामा

एनभिडियाका सीईओ जेन्सेनले दिए राजीनामा

महिलासँगको सम्बन्धको विषयलाई लिएर विवादमा परेका टेक कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङले कम्पनीमा आफूले सम्हाल्दै आएका नेतृत्वसम्बन्धी पदहरूबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले यससम्बन्धी घोषणा गरेको छ। सञ्चालक समितिका अनुसार कोलेट क्रेसले अन्तरिम सीईओको जिम्मेवारी सम्हाल्न …

#जेन्सेन
Compare →

Related Stories

World News
Build #2612