अविनाशविक्रम शाह निर्देशित फिल्म ‘एलाफेन्ट इन द फग’ (तिनीहरू) ९९ औं एकेडेमी अवार्ड्स (अस्कर) मा प्रतिष्पर्धाका लागि नेपालबाट छनौट भएको छ ।
काठमाडौँ — गत १२–२३ मेमा भएको ७९ औं कान्स फिल्म फेष्टिभलमा ‘अन सर्टेन रिगार्ड’ खण्डमा जुरी अवार्ड जितेर चर्चामा आएको अविनाशविक्रम शाह निर्देशित फिल्म ‘एलाफेन्ट इन द फग’ (तिनीहरू) ९९ औं एकेडेमी अवार्ड्स (अस्कर) मा प्रतिष्पर्धाका लागि नेपालबाट छनौट भएको छ । यतिबेला देशभर सार्वजनिक प्रदर्शनमा रहेको यस फिल्मका निर्देशक शाह र निर्माता अनूप पौडेलसँग कान्तिपुर टेलिभिजनको ‘फायर साइड’ कार्यक्रममा यस फिल्मको निर्माणदेखि प्रदर्शनसम्मका यात्राबारे गरिएको कुराकानीका आधारमा यस फिल्मलाई पाँच प्रश्नोत्तर शैलीमा बुझ्नुहोस्:
१. ‘एलाफेन्ट इन द फग’ फिल्मको निर्माण कहिले सुरु भयो र यसको प्रक्रिया कस्तो थियो ?
फिल्मको निर्माण कार्य सन् २०२० देखि सुरु भएको हो भने २०२४ मा करिब एक वर्ष पोस्ट–प्रोडक्सनमा बिताइएको थियो । फिल्मको सुरुवात परम्परागत लिखित स्क्रिप्टबाट नभई गहन अनुसन्धान र प्रोजेक्ट डेभलपमेन्टबाट भएको थियो । यस फिल्म निर्माणका लागि फ्रान्स लगायतका युरोपेली देशहरूबाट स्टेट फन्ड प्राप्त भएको थियो ।
२. फिल्मको मुख्य विषयवस्तु के हो ? यसका प्रमुख पात्रहरूमा गैर–कलाकारहरू किन लिइयो ?
यो फिल्म समकालीन समाजका सीमान्तकृत र अल्पसंख्यक समुदायका मुद्दाहरूमा आधारित छ । यसले मानव र वन्यजन्तु बीचको अदृश्य सीमा, समाजमा विद्यमान विरोधाभास र सीमान्तकृत वर्गले भोगेका संघर्ष तथा असजिलोपनलाई प्रस्तुत गर्छ । यस फिल्मका प्रमुख तथा अधिकांश भूमिकाका लागि स्थापित तथा व्यावसायिक कलाकारहरूको सट्टा गैर–कलाकारहरूलाई चयन गरिएको छ । कथामा मौलिकता र वास्तविक अनुभूति दिलाउन सम्बन्धित पारालैंगीक समुदायकै तर गैर–कलाकारहरूलाई अनुकूल वातावरण दिएर अभिनय गराइएको हो ।
पूर्वाग्रहभन्दा माथि उठेर माया, परिवारप्रतिको जिम्मेवारी र मानवीय संवेदनाका साथ उनीहरूको कथालाई सहानुभूतिपूर्वक प्रस्तुत गरिएको छ । समाज र परम्परागत दर्शकका लागि असहज मानिने सीमाहरू तथा समुदायभित्रका विरोधाभासहरूलाई पारदर्शी र वास्तविक रूपमा पर्दामा उतार्न जसको कथा उसैको प्रतिनिधित्व गराइएको हो ।
३. फिल्ममा कस्ता विम्ब र प्रतीकहरूको प्रयोग गरिएको छ ?
‘एलाफेन्ट इन द फग’ शीर्षक आफैंमा एउटा शक्तिशाली विम्ब हो, जसले लिंग, वन्यजन्तु र भूगोल/स्थान बीचको अदृश्य रेखालाई संकेत गर्छ । ‘कुहिरो’ले पहिचानको अस्पष्टता, अनिश्चितता र सीमान्तकृत वर्गले भोग्नुपरेको संघर्षलाई बुझाउँछ । समाजले तोकेको तथाकथित ‘सामान्य जीवन’ र सीमान्तकृत वर्गले भोग्ने वास्तविक जीवन बीचको अस्पष्टता र खोजलाई ‘कुहिरो’ को प्रतीकले देखाउँछ । त्यसैगरी, ‘हात्ती’ लाई समाजका अल्पसंख्यक र सीमान्तकृत समुदाय र घना जंगललाई उनिहरूले गर्ने संघर्ष र अस्तित्वको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ ।
कुहिरोभित्र हात्तीको उपस्थिति जस्तै, यसले विश्वव्यापी मानव संवेदना र प्रकृतिसँगको सम्बन्धलाई एकैसाथ प्रस्तुत गर्छ । ‘ट्रान्स’ पात्रलाई कमजोर वा असहाय रूपमा नभई उच्च सहनशीलता भएको र आफ्ना अधिकार तथा अस्तित्वका लागि निरन्तर लडिरहने साहसी पात्रका रूपमा देखाइएको छ ।
त्यसैगरी, फिल्ममा समाजका स्थापित सांस्कृतिक वा धार्मिक मान्यताहरू र मानिसको वास्तविक जीवन बीचको विरोधाभासलाई विम्बको रूपमा देखाएको छ । समाजमा विद्यमान बहुमतीय व्यवस्था र यसले सीमान्तकृत वा लैंगिक अल्पसंख्यकहरूप्रति सिर्जना गर्ने ‘असहज सीमाहरू’ लाई फिल्ममा सांकेतिक रूपमा प्रस्तुत गरिएको छ ।
४. फिल्मले दिन खोजेको सन्देश के हो ?
फिल्मले मुख्यगरी सीमान्तकृत वर्ग तथा यौनिक र लैंगिक अल्पसंख्यक समुदायले समाज र परिवारभित्र भोग्नुपर्ने कठिनाइ तथा उनीहरूको निरन्तरको संघर्ष र अडानलाई प्रस्तुत गर्छ । यसले मानिसहरूमाझ सहानुभूति जगाउने र हरेक व्यक्तिलाई पूर्वाग्रहबिना एउटा ‘मानव’ को रूपमा हेर्न, माया र परिवारप्रतिको जिम्मेवारी बुझ्न सन्देश दिन्छ ।
साथै, ‘कुहिरोभित्रको हात्ती’ को विम्बमार्फत समाजमा विद्यमान विरोधाभासहरूलाई देखाउँदै ‘कोही पनि पूर्ण हुँदैन’ भन्ने यथार्थ यस फिल्मले पस्कन्छ । फिल्मका प्रमुख पात्रहरू (किन्नरहरू) समाजले तोकेको तथाकथित ‘सामान्य जीवन’ जीउन र सामाजिक सीमाहरूसँग जुध्न बाध्य छन् । बहुमतीय व्यवस्था वा लोकतान्त्रिक समाजभित्र पनि अल्पसंख्यक र सीमान्तकृत वर्गको पहिचान र अस्तित्वलाई लिएर देखिने विभिन्न विरोधाभास र उनिहरूले भोग्नुपरेको असहज परिस्थिति र सीमारेखाहरूमाथि फिल्मले प्रश्न उठाउँछ ।
५. अस्कर यात्राका मुख्य चुनौती र रणनीतिहरू के–के छन् ?
अस्कर मनोनयन र प्रचारका लागि बलियो पीआर रणनीति, वित्तीय अनुदान (ग्रान्ट्स) र अस्करका लागि मतदान अधिकार भएका १० हजार भन्दा बढी सदस्यहरूसम्म फिल्म पुर्याउने र उनीहरूको ध्यान आकर्षित गर्ने मुख्य लक्ष्य राखिएको छ । एकेडेमी सदस्यहरू र आम दर्शकमाझ पुग्न प्रमुख मिडियाहरूबाट कभरेज लिने तथा थिएटरहरूमा प्रदर्शन गर्ने रणनीति बनाइएको छ ।
अस्करमा मनोनयन पाउनका लागि प्रभावकारी पीआर र योजनाबद्ध रणनीति तय गरिएको छ । अस्कर अभियानको प्रचार–प्रसार सञ्चालन गर्न महत्वपूर्ण वित्तीय कोष तथा अनुदानको व्यवस्थापन आवश्यक मानिएको छ ।
रुपेश श्रेष्ठ कान्तिपुर टेलिभिजनका समाचार प्रमुख हुन् ।