एसआईपीप्रतिको आकर्षण किन घटन थालेको हो वा लगानीकर्ताहरुले यसबारे किन शंकाहरु गर्न थालेका हुन् ? वार्षिक औसत प्रतिफल ज्यादै न्यून देखिन थालेको भन्ने आलोचनाको पृष्ठभूमी के हो ?
काठमाडौँ — पछिल्लो समय लगानीकर्ताहरुबिच सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) बारे सामाजिक संजालमा बहस देखिन्छ । यसप्रतिको आकर्षण किन घटन थालेको हो वा लगानीकर्ताहरुले यसबारे किन शंकाहरु गर्न थालेका हुन् ?
वार्षिक औसत प्रतिफल ज्यादै न्यून देखिन थालेको भन्ने आलोचनाको पृष्ठभूमी के हो ? यो बिषयलाइ हामीले ५ प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं।
एसआईपी म्युचुअल फन्डले ल्याएको खुलामुखी योजना हो, जसमा निश्चित अवधिसम्म हरेक महिना नियमित रूपमा योजनाको एकाइ खरिद गर्दै जाने गरिन्छ। यो सेयर बजारमा सूचीकृत हुँदैन, त्यसैले नेप्सेमा यसको कारोबार हुँदैन। मर्चेन्ट बैंकरको कार्यालय वा वेबसाइटको फाराम भरेर किनबेच गर्न सकिन्छ। खुलामुखी योजनाको परिपक्व अवधि तोकिएको हुँदैन। अहिले नेपालमा यस्ता १४ वटा खुलामुखी योजना सञ्चालनमा छन्।
अहिले धेरैले एसआईपीको आलोचना किन गर्न थालेका हुन्?
पछिल्लो समय वार्षिक औसत प्रतिफल ज्यादै न्यून, ५–६ प्रतिशत हाराहारी, देखिएको छ। अपेक्षा गरिएभन्दा कम प्रतिफल पाएपछि लगानीकर्ताहरू असन्तुष्ट छन्। सामाजिक सञ्जालमा आलोचना भइरहेको छ र कतिपयले लगानी नै बन्द गरेका छन्। एक व्यवस्थापकका अनुसार तिहारअघि एसआईपी बन्द गर्नुपर्यो भन्दै आउनेको संख्या बढेको थियो। केहीलाई बुझाउन सकिए पनि केहीले बन्द नै गरे।
क्यालकुलेटरले देखाउने प्रतिफल र वास्तविक प्रतिफलमा किन फरक पर्छ?
उत्तर: म्युचुअल फन्डका वेबसाइटमा रहेको क्यालकुलेटरमा १२ प्रतिशत प्रतिफल मान्दा मासिक १० हजारले २० वर्षमा २४ लाख लगानी गर्दा करिब ९९ लाख ९१ हजार रुपैयाँ हुने देखाउँछ, अर्थात् चोखो नाफा ७५ लाख। यसले धेरैलाई पैसा दोब्बरतेब्बर हुने भन्ने भ्रम पार्छ। तर यो प्रतिफल अनुमानित मात्र हो, सुनिश्चित होइन। योजनाले दिने प्रतिफल र हरेक महिना एकाइ कुन मूल्यमा किन्न पाइन्छ भन्ने कुराले पनि लागत र कमाइ घटबढ हुन्छ। यो कुरा धेरैले नबुझेको सरोकारवालाहरू बताउँछन्। साथै कम्पनीहरूले जम्मा रकमको ७५–८० प्रतिशत सेयर बजारमा लगाउने भएकाले आम्दानी बजारमै निर्भर हुन्छ।
एनएमबी सरल बचत फन्डको उदाहरणमा कति प्रतिफल देखियो?
पाँच वर्ष पुगेको यो फन्डमा सुरुदेखि मासिक ५ हजार लगानी गर्ने व्यक्तिले १५ कात्तिकसम्म ६१ किस्तामा कुल ३ लाख ५ हजार रुपैयाँ लगानी गरेको हुन्छ। लाभांश पुनः लगानीसमेत गर्दा कुल एकाइ ३,२५५ हुन्छ र प्रतिएकाइ औसत लागत ९.१७ रुपैयाँ पर्छ। अहिलेको खुद मूल्य (न्याभ) १०.४८ रुपैयाँ भएकाले बिक्री गर्दा ३ लाख ४८ हजार ५ सय १५ रुपैयाँ पाइन्छ, जुन लगानीभन्दा १४.२६ प्रतिशत बढी हो। तर सबै रकम एकै पटक नलगाइने भएकाले वार्षिकीकरण गरिएको प्रतिफल ५.२६ प्रतिशत मात्र हुन्छ, जुन कतिपय अवस्थामा बैंकको ब्याजदरभन्दा कम हो।
यस्तो अवस्थामा पनि एसआईपी किन उपयोगी हुन सक्छ र भविष्य कस्तो देखिन्छ?
एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यका अनुसार यो साना रकम परिचालन गर्न र आफैं बजारमा कारोबार गर्न नसक्ने वा नभ्याउनेहरूका लागि सहयोगी योजना हो। मुद्दती निक्षेपमा जस्तो एकै पटक एक लाख वा सोभन्दा बढी रकम पनि चाहिँदैन। नेप्से सूचकमा नै नियमित मासिक लगानी गर्दा पनि पछिल्ला ५ वर्षमा वार्षिक करिब ६ प्रतिशत प्रतिफल देखिएको उनको तर्क छ, अर्थात् समग्र बजारसँग तुलना गर्दा एसआईपीको प्रतिफल खराब छैन। अहिले बजार घटेको समय भएकाले न्याभ कम छ, भावी दिनमा बजार बढ्दा प्रतिफल बढी देखिन सक्छ। यस्ता योजनाको रकम वैदेशिक बजारमा लगानी गर्न पाइने नीतिगत व्यवस्था भए पनि अहिलेसम्म खुला गरिएको छैन। खुला गरिए लगानी विविधीकरणबाट बढी प्रतिफल पाइने सम्भावना हुन्छ।
विजयराज खनाल कान्तिपुर मिडिया ग्रुपको आर्थिक व्युरोमा काम गर्छन् । उनी सेयर बजार र बैंक र लगानीका बिषयमा रुची राख्छन् ।