Trending
Prev Story
Next Story

पैसाकै अभावले जो दसैंमा घर जान पाएनन्

Ekantipur •
October 20, 2026 • 08:08 PM
3
3 reads 0 reactions

दसैंमा गाउँ फर्किने रहर भए पनि काठमाडौंमा दैनिक गुजारा चलाउन संघर्षरतलाई घर जाने भाडा जुटाउनै मुस्किल छ ।

पैसाकै अभावले जो दसैंमा घर जान पाएनन्

दसैंमा गाउँ फर्किने रहर भए पनि काठमाडौंमा दैनिक गुजारा चलाउन संघर्षरतलाई घर जाने भाडा जुटाउनै मुस्किल छ ।

काठमाडौँ — न्युरोडमा साँझ करिब साढे ७ बजेको समय थियो । घाँटीमा प्लास्टिकको ‘मनी प्लान्ट’ झुन्ड्याएर हिँडिरहेकी थिइन्, लालकुमारी रोकाया । अँध्यारोले छोपेको सडकमा सडकबत्तीको उज्यालो थियो । किनमेल गरेर घर जानेहरूको घुइँचो थियो । तिनै घरतर्फ लागिरहेकाहरूको भीडमा मनी प्लान्टका ग्राहक खोज्दै थिइन् लालकुमारी । न्युरोडमा किनमेल गरेर घर जाँदै गरेकाहरूलाई ‘मनी प्लान्ट’ बेचिरहेकी लालकुमारीसँग भने दसैं मनाउन थातथलो जुम्ला जाने मनी अर्थात् पैसा थिएन । जसका कारण उनी काठमाडौंमै प्लास्टिकको ‘मनी प्लान्ट’ बेचिरहेकी छन् ।

एक महिनादेखि उक्त काम गर्दै आएकी लालकुमारी दुई महिनाअघि मात्र परिवारसहित काठमाडौं आएकी थिइन् ।

अरूका लागि दसैं आए पनि २६ वर्षकी लालकुमारीले आफ्ना लागि दसैं आएको महसुस गरेकी छैनन् । ‘हामीसँग पैसा हुन्थ्यो भने पो दसैं आएजस्तो हुन्थ्यो । पैसा छैन, त्यसैले दसैं आए–नआएको महसुस भएको छैन,’ उनले भनिन् । आफूलाई परिवारसँग मिलेर दसैं मनाउन गाउँ जान रहर भए पनि जान नसक्ने उनी सुनाउँछिन् । ‘बालबच्चालाई कपडा पनि किनेको छैन । त्यहाँबाट जुम्लासम्म पुग्नलाई भाडा, नास्ता, खाना गरेर १३/१४ हजार लाग्ला । पुगेपछि मिठोमसिनो खान परिगयो,’ उनले भनिन्, ‘पैसा भएपछि दसैं मनाउन जाउँला भनेर चित्त बुझाइराख्या छौं । अहिले घर जाने पैसाजति जुटाउन पाए पनि एक महिनाको कोठाभाडा तिर्न पुग्छ भन्ने भएको छ ।’

लालकुमारी काठमाडौं आउनुअघि भारत बस्ने गर्थिन् । आफू र श्रीमान् जागिर खाने, आफ्ना साना दुई सन्तानलाई काठमाडौंमै पढाउने सोचले काठमाडौं आए पनि लालकुमारी र उनका श्रीमान्ले देखेका सपना र सोचेकोभन्दा परिस्थिति भिन्न रहेको उनी सुनाउँछिन् । ‘अर्काको देशमा कति काम गर्ने, नेपालमै गएर काम गरौं, छोराहरूलाई नेपालमै पढाउँ भनेर नेपाल फर्किएका हौं,’ उनले भनिन्, ‘राजधानी आइपुगेको दुई महिना भयो । खर्च मात्र भएको छ, काम केही छैन । सोचेकोभन्दा निकै महँगो छ । कसरी छोराहरूलाई पढाउने, कोठाभाडा तिर्ने भनी पीर परिरहेको छ ।’

कालीमाटी बस्दै आएकी उनलाई काठमाडौंको धरहरावरिपरि र आफू भाडामा बस्दै आएको ठाउँबाहेक केही थाहा नभएको सुनाउँछिन् । ‘सुरुका दिन श्रीमान्‌ले ल्याएर धरहराछेउ छोडिदिनुभयो । त्यहीवरिपरि सामान लिएर बेच्छु । नयाँ ठाउँ परिगो, अरू केही कतै थाहा छैन,’ उनले भनिन्, ‘श्रीमान्‌ले कहिले स्याउ, कहिले मैले बेच्ने जस्तै सामान, कहिले के बेच्नुहुन्छ । उहाँले मात्र कमाएको पैसाले कोठाभाडा, रासन, छोराहरूको स्कुलको खर्च जुटाउन गाह्रो भएपछि, केही काम नपाएपछि यो काम गर्न लागेकी हुँ ।’

लालकुमारी आफूले बेच्ने प्लास्टिकको ‘मनी प्लान्ट’ श्रीमान्‌ले किनेर ल्याइदिने र आफूले बेच्ने गरेको सुनाउँछिन् । दिउँसो एक बजेदेखि आफू बस्दै आएको ठाउँ कालीमाटीबाट माइक्रोमा न्युरोड आउने र धरहरावरिपरि सामान बेच्ने उनी बेलुका आठ बजेसम्म आफ्नो सबै सामान बिक्ने आशामा भौंतारिरहेकी हुन्छिन् । ‘दिउँसोबाट त्यही सामान बिक्छन् कि भनेर यताउता हिँड्यो । तर प्रायः सामान किन्ने कोही भेटिँदैनन्,’ उनले भनिन्, ‘बेलुकाको साढे सात–आठ बजेपछि हामीजस्तो नयाँ मान्छेले सामान लिएर कतै बेच्न बस्न पनि पाइँदैन । मेरो सामान बेच्ने ठाउँतिर किन बसेको भन्दै बाटोमा सामान बेच्न राख्नेले बस्न दिनुहुन्न ।’

त्यसपछि आफ्नो कमाइ नभए पनि घर जाने गरेको उनी सुनाउँछिन् । आफूले बेच्ने गरेको मनी प्लान्ट ५० देखि ६० रुपैयाँको एउटा लहरो बेच्ने गरेको उनी सुनाउँछिन् । कमाइ भएको केही पैसा पनि दिउँसोको खाजा र कोठासम्म जाने–आउने भाडा तिर्दा खर्च हुने लालकुमारी सुनाउँछिन् । ‘कहिलेकाहीँ पाँचवटा पनि बेच्न गाह्रो हुन्छ । जति व्यापार हुन्छ, खाजा खाएर, भाडा तिरेर बचेको पैसा हिसाब नगरी श्रीमान्‌लाई दिने गरेकी छु,’ उनले भनिन्, ‘आफ्नो कोठा सजाउनका लागि कहिलेकाहीँ मात्र किन्ने गर्छन् । धेरैले सक्कली फूल नै राख्ने भएर होला, घरमा यसको धेरै व्यापार नै हुँदैन ।’

लालकुमारी फेरि दसैं सम्झँदै चाडपर्वको समयमा पनि काठमाडौं बस्नुपरेकोमा नरमाइलो लागेको सुनाउँछिन् । ‘सबैजना दसैंमा घर जाँदा आफू काठमाडौं बस्नुपर्दा नरमाइलो हुँदो रहेछ । जे जस्तो हुन्छ, यो पालि त्यहीँ बसे पनि अर्को दसैंमा भने पैसा होस् र हामी पनि दसैं मनाउन घर जान पाइयोस्,’ उनले भनिन् ।

लालकुमारीलाई जस्तै ६६ वर्षका ज्ञानु कार्कीलाई पनि पैसा नभएकै कारण दसैं आएको महसुस भएको छैन । काठमाडौं मलअगाडि बाटोको छेउमा हातमा साथै, झोलामा पानी बोकेर बेच्न बसिरहेका ज्ञानुको पुरानो घर काभ्रे हो । उनी राम्रोसँग संवाद गर्न सक्दैनन् । भक्तपुर बस्दै आएका उनी एक्लै भएका कारण साथै, साथमा पैसाको अभावका कारण दसैं आएजस्तो महसुस नभएको सुनाउँछन् । ‘पहिला दसैंमा निकै रमाइलो हुन्थ्यो । बा–आमा बित्नुभयो । त्यसपछि दाजुभाइ सबै आफ्नो–आफ्नो बाटो लागे,’ उनले भने, ‘बा–आमा नभएपछि कसैलाई कसैको मतलब हुँदैन रहेछ । आजकल दसैं आएजस्तो महसुस पनि हुँदैन ।’

एक्लै बस्दै आएका ज्ञानु कहिलेकाहीँ दिउँसो घाँस काटेर बेच्ने गर्छन् । त्यसबाट केही रकम पाउने उनी कोठामा जानुअघि प्रायः पानी बेच्न न्युरोड आउने गर्छन् । ‘दिउँसोमा घाँस काटेर बेच्छु । बेलुकामा कहिलेकाहीँ पानी बेच्नको लागि त्यही धरहराआसपास बस्ने गरेको छु,’ उनले भने । नागरिकतामा आफ्नो उमेरभन्दा कम उमेर भएको कारण भत्ता पाउन नसकेको सुनाउने उनी पानी र घाँस बेचेर कमाएको पैसाले घरखर्च चलाइरहेका छन् । ‘त्यही घाँस काटेर, पानी बेचेर कमाएको पैसाले कोठाभाडा तिर्ने, रासन किन्ने र घर चलाउने गरेको छु ।’

दसैंका लागि कपडा पनि नकिनेको उनले सुनाए । ‘सामान चाहिएको बेलामा किन्छु । कपडा चाहिने बेलामा किन्छु । पैसा नभएको बेला दसैं आयो भनेर कपडा कसरी किन्नु,’ उनले भने । दसैंका लागि आफ्नो केही योजना नरहेको उनी सुनाउँछन् । ‘सबै ठाउँबाट मान्छे घर गएका हुन्छन् । त्यसैले त्यो दिन पानी बेच्दिनँ । त्यही भएर त्यो दिन कोठामा बसेर दिन कटाउँछु,’ उनले भने ।

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
4h ago
दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक

दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक

दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक धार्मिक आस्था, परम्परा र सामाजिक सद्भावसँग जोडिएका यी जात्रा आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने अवसरसमेत बन्ने गरेका छन् । कार्तिक २८, २०८३ तर्क...

#दसैँ
Compare →

Related Stories

Business & Economy
Build #2612