Trending
Prev Story
Next Story

१२ गाउँ-२ : एक्सनको पुनरावृत्ति, कथामा रिक्तता

Ekantipur •
October 20, 2026 • 04:08 PM
3
3 reads 0 reactions

'१२ गाउँ'ले एक्सन विधालाई एकपटक ब्युँताए पनि डेढ दशकयता रूपान्तरणको बाटोमा हिँडिरहेको नेपाली फिल्म क्षेत्रमा विराजचाहिँ कहिले ब्युँझने हुन्, त्यो भने हेर्न बाँकी छ ।

१२ गाउँ-२ : एक्सनको पुनरावृत्ति, कथामा रिक्तता

'१२ गाउँ'ले एक्सन विधालाई एकपटक ब्युँताए पनि डेढ दशकयता रूपान्तरणको बाटोमा हिँडिरहेको नेपाली फिल्म क्षेत्रमा विराजचाहिँ कहिले ब्युँझने हुन्, त्यो भने हेर्न बाँकी छ ।

काठमाडौँ — दुई वर्षअघि विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’ले नेपाली फिल्ममा एक्सन विधालाई पुनः ब्युँताइदिएको थियो । त्यसबाहेक पचास र साठीको दशकमा बन्ने नेपाली फिल्मका प्रवृत्तिहरूको पुनरावृत्ति गरेको थियो ।

त्यतिबेला अधिकांश नेपाली फिल्ममा हिरोइन बचाउन हिरोहरूको जादुमयी प्रवेश हुन्थ्यो । ‘१२ गाउँ’मा विराज भट्टले आफ्नो कमब्याकसँगै नयाँ पुस्ताका आफ्नै छोरा समीरलाई पदार्पण त गराए । तर कथाको प्रसंग केलाउँदा भने ‘नयाँ सिसीमा पुरानै रक्सी’ चरितार्थ भयो ।

हिरोइनलाई बचाउन हिरो प्रकट हुने कुरा सिक्वेलमा पनि दोहोरियो । हुन त यो एक्सन फिल्म हो । दृश्यमा ‘लार्जर द्यान लाइफ’ देखिरहँदा यथार्थवादी घटनाभन्दा पर बसेर फिल्मलाई हेर्नुपर्छ । यद्यपि फिल्म भाष्य निर्माण गर्न सघाउने बलियो माध्यम भएकाले पात्रहरूलाई कसरी प्रस्तुत गरिन्छ भन्ने कुरा निकै महत्वपूर्ण हुन्छ ।

‘१२ गाउँ २’ले पनि अघिल्लो फिल्मझैं महिलाहरूलाई असाध्यै निरीह पात्रका रूपमा चित्रण गरेको छ । जबजब उनीहरू ठूलो दुःख र संकटमा फस्छन्, त्यहाँ हिरोको आवश्यकता पर्ने सोचबाट फिल्मका निर्देशक अझै बाहिर निस्कन सकेका छैनन् । फिल्म काल्पनिक कथामा आधारित भए पनि त्यहाँ समाज र सामाजिक चेतनाको ह्रस्वदीर्घ त मिल्नैपर्छ ।

अब प्रवेश गरौँ कथामा । फिल्मको प्रमुख सर्त भनेकै कथा हो । यदि कथा नै फिल्ममा गयल छ भने ? परिस्थितिवश भन्दा पनि नियोजित घटनाहरू थुपार्दैमा कथा बलियो हुने होइन ।

फिल्मको पहिलो भागमा एउटा गाउँ हुन्छ, जहाँ बाहिरका मान्छेलाई प्रवेश निषेध छ । गाउँभित्रका मान्छेलाई पनि बाहिर जान मनाही छ । त्यो नियम भंग गरेमा उसको जीवन समाप्त गराइन्छ । फिल्ममा विराज र समीरका पात्रले त्यो त्रासदीपूर्ण साम्राज्यलाई समाप्त पार्छन् । फिल्मलाई एक लाइनमा बुझ्दा त तरंग महसुस होला । तर कथा यति कमजोर तरिकाले अगाडि बढेको थियो कि एक्सनबाहेक त फिल्ममा सम्झनलायक कुरा छँदै थिएनन् ।

पहिलो शृङ्खलाले नै कसिलो कथा भन्न नसकेको बेला सिक्वेलको औचित्य थिएन भन्ने कुरा दोस्रो फिल्म हेरेपछि अनुभूत हुन्छ । पहिलो शृङ्खलामा गजेन्द्रको मृत्युपछि साम्राज्य ढल्यो भन्ने हुन्छ । दोस्रो शृङ्खलामा थाहा हुन्छ कि गजेन्द्रभन्दा पनि ठूलो अर्को खलपात्रको साम्राज्य बाँकी छ । अजय (समीर) र अर्जुन (विराज) अब ती एन्टागोनिस्टलाई परास्त गर्न योजना बुन्न थाल्छन् । त्यसपछि अर्जुन र अजयको बाटो अलगिन्छ ।

फिल्म अवधिभर यी दुवै पात्रको कथा आपसमा कनेक्ट नै हुँदैन । फिल्ममा यी दुई प्रोटागोनिस्टको उद्देश्य जे हो, त्यसलाई राम्रोसँग स्थापित गर्न सकिएकै छैन । किन उनीहरू भिलेनलाई समाप्त पार्न चाहन्छन् ? दर्शकमा फिल्मले त्यो कौतुहल जन्माउनै सक्दैन । अजय र अर्जुनका कथा नै दुई अलग फिल्मजस्ता लाग्छन् । परिस्थितिहरूको निर्माण कथाअनुसार भन्दा पनि फिल्ममा दुई हिरोलाई बराबर स्पेस दिनका लागि गरिएको भागबन्डाजस्तो मात्र देखिन्छ ।

कथामा जेनजी आन्दोलनको प्रसंग भने देखिन्छ । आन्दोलनको समयमा अजयले यात्रा गरिरहेको छ । उसलाई हेर्दा लाग्छ, ऊ कुनै ठूलो रहस्य बोकेर हिँडिरहेको छ । त्यो रहस्य कतिबेला घटित हुन्छ भनेर पर्खिरह्यो भने निराश मात्र भइन्छ । किनकि फिल्ममा दर्शकले पाउने ठूलो सस्पेन्स केही छैन ।

अचानक अजयको यात्रामा डाकुहरूबाट भाग्दै आएकी युवती ठोक्किन्छिन् । त्यसपछि युवतीको संरक्षणमै उसको कथा अगाडि बढ्छ । अजयको आफ्नो विचार, योजना जति खोजे पनि पाउन मुस्किल छ । कवि लेखनाथ पौडेलले ‘लक्ष्य’ कवितामा ‘लक्ष्यबिनाको मानिस साँच्चै बानर जस्तै हुन्छ’ भन्ने कुरा यो फिल्मको अजय पात्रमा चरितार्थ हुन्छ । एउटा भैपरी आउने मिसनका लागि ऊ लागिपरिरहेको जस्तो त देखिन्छ, ती पात्रहरूलाई सजिलै परास्त गरिदिन्छ । त्यसमा उसले कुनै ठूलो संघर्ष गर्नुपर्दैन । त्यो कथा हुर्कन नपाउँदै सकिन्छ । जुन मूल कथासँग जोडिनै पाउँदैन ।

उता अर्जुनको भने अर्जुनदृष्टि कुनै अलौकिक पात्रकोझैं लाग्दैन । ऊ हतियार खोज्न रहस्यमयी ठाउँहरूमा जसरी प्रवेश गरिरहेको छ, ती दृश्यले कुनै त्रास अनुभूत गराउँदैनन् । उसले खोजेको गन किन र केका लागि हो, त्यो बलियो गरी स्थापित हुँदैन । अचानक उसले एउटा रातो सल भेट्छ । त्यो सल कसको हो भनेर खोज्दै खोज्दै ऊ नयाँ खोजतर्फ लाग्छ ।

यो फिल्ममा एन्टागोनिस्ट सुरुदेखि नै बलियो लाग्दैनन् । फिल्म रोचक हुनका लागि एन्टागोनिस्ट र प्रोटागोनिस्टको सम्बन्ध स्थापित गर्न सक्नुपर्थ्यो । उनीहरू कति हानिकारक छन् भन्ने कुराका उदाहरणहरू हुनुपर्थ्यो । फिल्ममा न प्रोटागोनिस्टले गरेको संघर्ष छ, न उसले पाएको दुःख ।

एन्टागोनिस्ट कमजोर बनाइएकाले भिलेन भूमिकामा देखिएका अनुपविक्रम शाही देख्दा कुनै तरंग आउँदैन । बरु उनको आवरणलाई लिएर भने प्रश्न जन्मिन सक्छन् । पहिलो त अनुपविक्रमको दाह्री नै सक्कली लाग्दैन । त्यो टाँसेको हो भन्ने कुरा आँखाले स्पष्ट छुट्याउँछ । दोस्रो कुरा, अनुपविक्रमको आवरणबाट अनुमान हुन्छ, त्यो खलपात्र मुस्लिम हो । न त्यो पात्रको जग राम्ररी निर्माण गरिएको नै छ । त्यो आवरणले आतंकवादी भनेको मुस्लिमको आवरणमा हुन्छन् भन्ने गलत भाष्यचाहिँ सिर्जना गर्न सक्छ । यस्तो चरित्रचित्रणले मुस्लिमहरूमा चोट पुग्न सक्छ । बरु सामाजिक सद्भावलाई असर पार्न सक्छ । यो विषयमा निर्देशक संवेदनशील हुनुपर्थ्यो ।

कथाको क्लाइमेक्स भनेको अन्तिम फाइट हो । भिलेनहरूलाई परास्त गर्नुबाहेक यहाँ कुनै रोचक र रहस्यमयी कुरा पर्दाफास हुँदैनन् ।

कथामा एकाध पात्रका बाहेक मुख्य पात्रहरूको अभिनय नै नाटकीय लाग्छ । जबकि नेपाली फिल्म क्षेत्रले पछिल्लो समय हासिल गरेको उपलब्धिमध्ये एक हो– अभिनय । विराज र समीरको अभिनय स्वाभाविक पात्रहरूको जस्तो कहीँकतै लाग्दैन । उनीहरूको डाइलग डेलिभरी र हाउभाउ बनावटी लाग्छ । बरु नेपाली रंगमञ्च र फिल्ममा चरित्र अभिनेता जन्माउने रंगकर्मी सुनिल पोखरेलले निर्वाह गरेको मन्त्रीको चरित्र स्वाभाविक लाग्छ ।

नेता वा मन्त्री भन्नेबित्तिकै देखिने क्लिसे चरित्रभन्दा उनको पात्र माथि छ । विराजको पात्र अर्जुनकी प्रेमिका लक्ष्मीको चरित्रले पनि आफूले पाएको स्पेसलाई स्वाभाविक ढंगले निर्वाह गरेकी छन् । उनको बडी ल्याङ्ग्वेज र डाइलग डेलिभरीले पात्रलाई न्याय गरेको छ । उनीसँगै स्क्रिनमा देखिएका विराज र उनको अभिनयमा भने धेरै दूरी देखिन्छ । फिल्ममा समीरको अपोजिटमा देखिएकी नयाँ अभिनेत्रीको अभिनय कम र संवाद पढेजस्तो बढी सुनिन्छ ।

लामो समय एक्सन विधामै काम गरिरहेका विराज र तयारीका साथ आएका समीरबाट यो फिल्ममा अपेक्षा गर्न सकिने भनेको एक्सनमा मात्र हो । बाँकी त कथाले नडोहोर्‍याएपछि फिल्म हेरिरहँदा सहनुपर्ने त सकस नै हो ।

पछिल्ला समय नेपालमा मौलिक फिल्महरू बनिरहेका छन् । एक्सन विधामा पनि मौलिक स्वाद पस्किन कथा नभएका हैनन् । भारतको कन्नड फिल्म ‘कान्तरा’ यसको बलियो उदाहरण हो । तर ‘१२ गाउँ’को न कथा, दृश्य र एक्सनमा मौलिकता छ, न ब्याकग्राउन्ड म्युजिकमा नै ।

आयातित लाग्ने बेस्वादिलो कथा पस्केर बनाइएका शृङ्खलाले एक्सन फिल्मको दायरालाई झन् खुम्च्याउने पो हुन् कि ! ‘१२ गाउँ’ले एक्सन विधालाई एकपटक ब्यूँताए पनि डेढ दशकयता रूपान्तरणको बाटोमा हिँडिरहेको नेपाली फिल्म क्षेत्रमा विराजचाहिँ कहिले ब्युँझने हुन्, त्यो भने हेर्न बाँकी छ ।

समर्पण कान्तिपुर मिडिया ग्रुपमा आबद्ध उनी कला संवाददाता हुन् । उनी फिल्म, नाटक र गीत संगीतका विविध आयाम र सामाजिक मुद्दाबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
एक्सन र बदलाको कथामा इमरान हाशमी, सार्वजनिक भयो फिल्मको ट्रेलर

एक्सन र बदलाको कथामा इमरान हाशमी, सार्वजनिक भयो फिल्मको ट्रेलर

भारतीय अभिनेता इमरान हाशमी अभिनीत आगामी फिल्म 'गनमास्टर जी९'को ट्रेलर सार्वजनिक भएको छ। बुधबार बेलुका सार्वजनिक ट्रेलरमा इमरानलाई ग्याङ्स्टरको भूमिकामा प्रस्तुत गरिएको छ। प्रेम र बदलाको कथालाई केन...

#फिल्म #एक्सन #कथा
Compare →
Onlinekhabar
28m ago
ढुङ्गेघर, ऐतिहासिक विरासत र संस्कृतिको संगम : पर्यटकको रोजाइमा गोतामकोट–खदीगाउँ

ढुङ्गेघर, ऐतिहासिक विरासत र संस्कृतिको संगम : पर्यटकको रोजाइमा गोतामकोट–खदीगाउँ

२८ कात्तिक, रुकुम पश्चिम (गोतामकोट) । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–२, ३, ४ र ५ मा पर्ने गोतामकोट र खदीगाउँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएका छन् । भेरी नदीको माथिल्लो भेगमा रहेका यी गाउँ …

#गाउँ
Compare →
Nagarik News
4h ago
इन्जिनियर बनेर गाउँमै सुन्दर घर बनाएर आमालाई राख्ने बिकेशको सपना चिसापानीमै बिलायो

इन्जिनियर बनेर गाउँमै सुन्दर घर बनाएर आमालाई राख्ने बिकेशको सपना चिसापानीमै बिलायो

सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरमा अहिले एउटा परिवारको मात्र होइन, सिंगो गाउँको सपना र खुसी लुटिएको छ।

#गाउँ
Compare →
Bizshala
20h ago
बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

काठमाण्डौ । बढ्दो बसाइँसराइका कारण सुनसान बन्दै गएको मकवानपुरको एउटा गाउँमा पर्यटन व्यवसायले नयाँ जीवन भरेको छ।...

#गाउँ
Compare →

Related Stories

Technology
Build #2612