Trending
Prev Story
Next Story

ढुङ्गेघर, ऐतिहासिक विरासत र संस्कृतिको संगम : पर्यटकको रोजाइमा गोतामकोट–खदीगाउँ

Onlinekhabar •
November 14, 2026 • 06:31 AM
4
4 reads 0 reactions

२८ कात्तिक, रुकुम पश्चिम (गोतामकोट) । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–२, ३, ४ र ५ मा पर्ने गोतामकोट र खदीगाउँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएका छन् । भेरी नदीको माथिल्लो भेगमा रहेका यी गाउँ …

ढुङ्गेघर, ऐतिहासिक विरासत र संस्कृतिको संगम : पर्यटकको रोजाइमा गोतामकोट–खदीगाउँ

२८ कात्तिक, रुकुम पश्चिम (गोतामकोट) । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–२, ३, ४ र ५ मा पर्ने गोतामकोट र खदीगाउँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएका छन् । भेरी नदीको माथिल्लो भेगमा रहेका यी गाउँ प्राकृतिक सुन्दरता, ऐतिहासिक विरासत, मौलिक संस्कृति र ढुङ्गाले छाएका परम्परागत घरका कारण पर्यटकको रोजाइमा पर्न थालेका हुन्।

गाउँमा पुग्ने जोकोहीको ध्यान पहिले ढुङ्गाले छाएका घरमा जान्छ। एकै स्वरूपका पुराना घर, मिलेको बस्ती र परम्परागत निर्माण शैलीले यहाँको मौलिक पहिचान झल्काउँछन्। आधुनिक घर निर्माणको लहर चले पनि कतिपय बस्तीमा पुर्खाले बनाएका ढुङ्गे घर अझै सुरक्षित छन्। यिनै घरले गाउँको पुरानो सभ्यता, जीवनशैली र इतिहासको कथा सुनाइरहेको स्थानीय कृष्ण थापाले बताए।

गोतामकोटलाई गौतम तथा गोतामे थरका मानिसको उद्गमस्थलका रूपमा चिनिन्छ। स्थानीय इतिहासअनुसार यहाँ गौतम समुदायको बसोबास करिब सात सय वर्ष पुरानो मानिन्छ। पुर्ख्यौली थलो खोज्दै देश तथा विदेशमा रहेका गौतम समुदायका मानिस पनि गोतामकोट पुग्ने गरेका छन्। उनीहरूका लागि यो गाउँ सामान्य पर्यटकीय गन्तव्य मात्र नभई पुर्खाको इतिहाससँग जोडिने थलो पनि हो।

गोतामकोटको ऐतिहासिक महत्त्व उद्गमस्थलमा मात्र सीमित छैन। मध्यकालीन बाइसे राज्यमध्ये गोतामकोट पनि एक राज्य रहेको ऐतिहासिक विवरण पाइन्छ। यसैले यस क्षेत्रको पहिचान वंशीय इतिहाससँगै तत्कालीन राज्य व्यवस्था र राजनीतिक विरासतसँग पनि जोडिएको छ।

गोतामकोट आसपास अत्रि ऋषिको आश्रम, मालिका मन्दिर र चित्रीपाटनजस्ता धार्मिक तथा सांस्कृतिक सम्पदा छन्। स्थानीय ओली समुदायले चित्रीपाटनलाई आफ्नो कुलदेवता चित्रलेखीसँग जोडेर हेर्छन्। स्यालाखदी आसपासका बस्ती वली समुदायको पुख्र्यौली पहिचान र इतिहाससँग जोडिएका छन्। यहाँका धार्मिक स्थल, कुलपूजाका परम्परा र सांस्कृतिक अभ्यासले क्षेत्रको मौलिकता थप उजागर गरेको स्थानीयवासी हरि बोहराले बताए।

प्राकृतिक दृष्टिले पनि यो क्षेत्र उत्तिकै आकर्षक छ। भेरी नदीको माथिल्लो भाग, हरिया पहाड, पाटन, जंगल र वरिपरिका बस्तीको दृश्यले पर्यटकलाई लोभ्याउँछ। चित्रीपाटनबाट देखिने दृश्य र त्यहाँबाट झर्ने झरना यस क्षेत्रका थप आकर्षण हुन्। गाउँको शिरमा रहेको पाटनबाट वरपरको भूभाग नियाल्न सकिन्छ।

पर्यटन प्रवर्द्धनमा सडक पहुँचले पनि सहजता थपेको छ। भेरी कोरिडोरबाट गोतामकोट र आसपासका बस्ती जोडिएका छन्। गाउँसम्मको सडक कालोपत्रे भएपछि विगतमा कठिन यात्रा गर्नुपर्ने पर्यटकलाई आवागमन सहज भएको छ। सडकले गाउँको प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई बाहिरी संसारसँग जोड्ने अवसर पनि सिर्जना गरेको छ।

दुर्गम र विकट भूगोलका कारण पहिले थोरैको मात्र पहुँचमा रहेको यो क्षेत्र अहिले सडकसँगै पर्यटकीय सम्भावनाको नयाँ परिचय बनाउँदै छ। पछिल्ला वर्ष विभिन्न सञ्चारमाध्यममा गोतामकोटको ऐतिहासिक, धार्मिक र प्राकृतिक पक्षबारे चर्चा हुन थालेपछि यसको पहिचान पनि फराकिलो बन्दै गएको छ।

पर्यटक बढ्दै जाँदा गोतामकोट र खदीगाउँको मौलिकता संरक्षण गर्नु अर्को महत्वपूर्ण विषय बनेको छ। यहाँका ढुङ्गे घर आवासीय संरचना मात्र होइनन्, पुर्खाले अपनाएको निर्माण कला र स्थानीय वास्तुकलाका नमुना पनि हुन्। संरक्षण हुन नसके गाउँको विशिष्ट पहिचान क्रमशः हराउन सक्छ।

त्यसैले पुराना घरको संरक्षण, ऐतिहासिक तथा धार्मिक स्थलको व्यवस्थित अभिलेखीकरण, पदमार्गको विकास र पर्यटकका लागि आवश्यक सूचना तथा सुविधाको व्यवस्था गर्नुपर्ने देखिन्छ। स्थानीय उत्पादन, परम्परागत खानपान, संस्कृति र रहनसहनलाई पर्यटनसँग जोड्न सके स्थानीय बासिन्दाले प्रत्यक्ष आर्थिक लाभ लिन सक्छन्।

गोतामकोट र खदीगाउँको सम्भावना गाउँ घुमाउनेमा मात्र सीमित छैन। यहाँको पुख्र्यौली इतिहास, धार्मिक आस्था, परम्परागत वास्तुकला र प्राकृतिक सम्पदालाई एउटै पर्यटकीय मार्गमा जोड्न सकिन्छ। त्यसका लागि स्थानीय तहले पर्यटन गुरुयोजना बनाई संरक्षण र प्रवद्र्धन सँगसँगै अघि बढाउनुपर्छ।

भेरी नदीको माथिल्लो भेगका यी गाउँले ढुङ्गाका घरभित्र इतिहास जोगाएर राखेका छन्। सडकले गाउँसम्मको बाटो खोलेको छ। अब यहाँको इतिहास, संस्कृति र मौलिकतालाई व्यवस्थित रूपमा चिनाउन सके गोतामकोट र खदीगाउँ कर्णालीको महत्त्वपूर्ण ग्रामीण पर्यटन गन्तव्य बन्न सक्छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5h ago
ढुङ्गेघर, ऐतिहासिक विरासत र संस्कृतिको संगम : पर्यटकको रोजाइमा गोतामकोट–खदीगाउँ

ढुङ्गेघर, ऐतिहासिक विरासत र संस्कृतिको संगम : पर्यटकको रोजाइमा गोतामकोट–खदीगाउँ

२८ कात्तिक, रुकुम पश्चिम (गोतामकोट) । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–२, ३, ४ र ५ मा पर्ने गोतामकोट र खदीगाउँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएका छन् । भेरी नदीको माथिल्लो भेगमा रहेका यी...

#गोतामकोट #पर्यटक #रुकुम
Compare →
Nagarik News
7h ago
घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन्।

#पर्यटक #गाउँ
Compare →
Ekantipur
5h ago
पर्यटकले भरिए कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ

पर्यटकले भरिए कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ

तिहार र छठको बिदासँगै मौसम खुलेकाले कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ आन्तरिक पर्यटकले भरिएका छन् । होटल र घरबासमा पाहुनाको चाप बढेपछि कतिपय पर्यटकलाई अग्रिम बुकिङबिना आवास पाउन कठिन भएको छ ।

#पर्यटक
Compare →
Bizshala
2d ago
बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

काठमाण्डौ । बाढीका कारण सुस्ताएको रसुवाको गोसाइँकुण्ड क्षेत्रको पर्यटन व्यवसाय क्रमशः लयमा फर्किन थालेको छ। सडक तथा...

#पर्यटक
Compare →

Related Stories

Education & Youth
Build #2612