Trending
Prev Story
Next Story

जसले हुटिङ र कमेन्ट्रीबाट अनुभूत गर्छन् क्रिकेटको रोमाञ्च

Ekantipur •
October 29, 2026 • 05:02 PM
2
2 reads 0 reactions

क्रिकेटप्रतिको लगावले भवेन्द्र सिंहलाई एनपीएलको मैदानसम्म पुर्‍याएको छ । श्रीमतीको वर्णन र दर्शकको हुटिङबाट खेलको मज्जा लिने उनी रंगशालाको संरचना पनि अपांगतामैत्री होस् भन्ने चाहन्छन् ।

जसले हुटिङ र कमेन्ट्रीबाट अनुभूत गर्छन् क्रिकेटको रोमाञ्च

क्रिकेटप्रतिको लगावले भवेन्द्र सिंहलाई एनपीएलको मैदानसम्म पुर्‍याएको छ । श्रीमतीको वर्णन र दर्शकको हुटिङबाट खेलको मज्जा लिने उनी रंगशालाको संरचना पनि अपांगतामैत्री होस् भन्ने चाहन्छन् ।

काठमाडौँ — अहिले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहेको छ । स्वदेशी–विदेशी स्टार खेलाडी मैदानमा छन् । बल र ब्याटको टक्करले मैदान तातिएको छ । चौका–छक्कासँगै दर्शकहरू रोमाञ्चित भइरहेका छन् । विकेट खस्दा कतै निराशा छ, कतै जितको खुसीयालीमा हुटिङ ।

तर, यही हजारौँ दर्शकको भीडमा केही दर्शक यस्ता पनि छन्, जसले मैदानमा बलले सीमारेखा पार गरेको दृश्य देख्न सक्दैनन् । तैपनि उनीहरूको खुसीमा कुनै कमी छैन । किनकि उनीहरू क्रिकेट आँखाले मात्रै हेर्दैनन्, आवाजमा सुन्छन्, शब्दमा बुझ्छन् र मनले अनुभूत गर्छन् ।

रंगशालामा हजारौं दर्शकमध्येका एक हुन् कञ्चनपुरका भवेन्द्र सिंह । हाल कीर्तिपुर बस्दै आएका भवेन्द्रको जन्मजात दृष्टि छैन, तर यो उनको क्रिकेटप्रतिको उत्साहमा पर्खाल बनेन् । श्रीमती रञ्जना देवकोटासँग रंगशाला पुगे र एनपीएलको रोमाञ्चक मज्जा लिए । छेउमा बसेकी रञ्जनाले मैदानमा भइरहेका गतिविधि उनलाई सुनाउँछिन् ।

‘म क्रिकेट पहिलेदेखि नै हेर्थें । रेडियो र टिभीमा कमेन्ट्री सुन्थें । यो ग्राउन्डमा फ्लडलाइटको मुनि बसेर चाहिँ मेरो पहिलो पटक हो,’ उनले थपे, ‘ओभर सकेपछि हुने माइकिङबाट खेलको अवस्था बुझ्छु । मसँगै मेरी श्रीमती छिन् । उनले ग्राउन्डमा भएका हर गतिविधि मलाई भन्छिन् । म इन्जोय गर्छु ।’

आम दर्शकले स्कोरबोर्ड हेर्दै खेलको अवस्था बुझ्छन् । भवेन्द्रका लागि ग्राउन्ड कमेन्ट्रीले स्कोरबोर्डको काम गर्छ । दर्शकको हुटिङले मैदानमा भएको घटनाबारे जानकारी दिन्छ । अनि रञ्जनाका शब्दले त्यो घटनालाई दृश्यमा बदलिदिन्छन् । कहिलेकाहीँ भवेन्द्र छेउमै बसेका अन्य दर्शकबाट पनि जानकारी लिन्छन् ।

टेलिभिजन र रेडियोमा क्रिकेट कमेन्ट्री सुन्दै खेलको रोमाञ्चकता महसुस गर्ने भवेन्द्र आफैँ पनि मैदानमा उत्रिएका छन् । उनी दृष्टिविहीन क्रिकेटमा जोडिएको १२–१३ वर्ष भइसकेको छ । दुईवटा राष्ट्रिय प्रतियोगितामा खेलिसकेका उनी अहिले खेल व्यवस्थापनमा सक्रिय छन् । कञ्चनपुर जिल्ला क्रिकेट संघको अध्यक्षका रूपमा समेत जिम्मेवारी सम्हालिरहेका छन् ।

‘म ब्लाइन्ड क्रिकेटमा लागेको लगभग १२–१३ वर्ष भयो । अहिले म व्यवस्थापनमा छु । कञ्चनपुर जिल्ला क्रिकेट संघको अध्यक्षका रूपमा काम गरिरहेको छु । मैले पनि दुईवटा नेसनल गेम खेलेको छु ।’

भवेन्द्रकी श्रीमती रञ्जनाको भिजन ‘लो’ छ । रञ्जनाले केही धमिलो देखे पनि मैदानमा कति खेलाडी छन् र उनी कुन फिल्डर कता छन् भन्ने ठम्याउन सक्छिन् । ‘म अलि टाढासम्म देख्न सक्छु, तर अलि धमिलो देख्छु,’ रञ्जनाले थपिन्, ‘श्रीमान्‌को पनि इन्ट्रेस्ट भयो । अनि पहिला भक्तपुर बसिन्थ्यो, आउन, जान गाह्रो थियो । तर, अहिले यतै कीर्तिपुर बस्ने भएपछि एनपीएल हेर्न आएका हौँ ।’

क्रिकेटप्रतिको प्रेमले भवेन्द्रलाई मैदानसम्म त ल्याउँछ, तर मैदानसम्म पुग्ने बाटो र त्यहाँभित्र सहज रूपमा आवतजावत गर्ने सुविधा भने उनका लागि सहज छैन । संरचना अपांगतामैत्री भइदिए हुन्थ्यो भन्ने उनलाई लाग्छ । उनी भन्छन्, ‘यहाँको भौतिक संरचना चाहिँ अलिकति हामीमैत्री भइदिए हुन्थ्यो । जस्तो, ह्विलचेयरहरूका लागि र्‍याम्प । हिजो मलाई हामीसँग आएका एक जनाले बोकेर लैजानुपर्‍यो । हामीमैत्री भौतिक संरचना बनाइदिएर सजिलो हुन्थ्यो ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
13h ago
त्रिवि मैदानको पिचमा बलरको दबदबा, ब्याटरलाई रन बनाउनै मुस्किल

त्रिवि मैदानको पिचमा बलरको दबदबा, ब्याटरलाई रन बनाउनै मुस्किल

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा त्रिवि क्रिकेट मैदानको पिच ब्याटरका लागि चुनौतीपूर्ण बन्दै गएको छ। पछिल्ला खेलहरूमा कम योगफल बन्ने र त्यही स्कोर पनि रक्षा हुने क्रम बढेपछि मैदानको पिचबारे खेल...

#एनपीएल #मैदान
Compare →

Related Stories

Sports
Build #2612