मेलामा ८६ वटा व्यावसायिक स्टलमार्फत ४५० प्रजातिका फूल तथा बिरुवा राखिएको आयोजक फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कृष्णभक्त श्रेष्ठले बताएका छन् ।
काठमाडौं — ललितपुरको जावलाखेलमा १९औं गोदावरी पुष्प मेला सुरु भएको छ । तिहार र छठ पर्वलाई लक्षित गर्दै फ्लोरिकल्चर एसोसिएसन नेपालले ५ दिने प्रतियोगितात्मक पुष्प प्रदर्शनी आयोजना गरेको हो । मेलामा गोदावरीसहित विभिन्न प्रजातिका फूल तथा बिरुवाको प्रदर्शनी र बिक्री वितरण भइरहेको छ । मेलामा ८६ वटा व्यावसायिक स्टलमार्फत ४५० प्रजातिका फूल तथा बिरुवा राखिएको एसोसिएसनका अध्यक्ष कृष्णभक्त श्रेष्ठले बताए ।
मेलामा नयाँ प्रजातिका फूल तथा बिरुवा, पुष्पजन्य सामग्री र प्रविधिलाई विशेष प्राथमिकता दिइएको उनको भनाइ छ । मेलामा करिब डेढ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको कृष्णभक्त श्रेष्ठको भनाइ छ । उनका अनुसार करिब ४० हजार अवलोकनकर्ता मेलामा आउने अनुमान छ ।
‘यस वर्ष मेलामा नयाँ प्रजातिका फूल तथा बिरुवा थपिएका छन् । प्रदर्शनीको प्रस्तुति र फूल तथा बिरुवाको गुणस्तर पनि अघिल्ला वर्षभन्दा राम्रो बनाएका छौं,’ श्रेष्ठले भने, ‘मौसमले साथ दिए करिब डेढ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरेका छौं ।’
यस वर्ष मेलामा फूल तथा बिरुवामा लाग्ने रोग पहिचानका लागि डिजिटल एपसमेत निःशुल्क उपलब्ध गराइएको श्रेष्ठले बताए । मेलामा विभिन्न विधामा पुष्प प्रतियोगितासमेत आयोजना गरिएको छ । श्रेष्ठका अनुसार फूलको प्रजाति, गुणस्तर, आकर्षणलगायत विभिन्न मापदण्डका आधारमा प्रतियोगितामा छनोट गरेर पुरुस्कृत गरिन्छ ।
यसपालिको तिहारमा काठमाडौं उपत्यकामा करिब ५२ लाख फूलमाला खपत हुने अनुमान गरिएको छ । सयपत्री, मखमली, गोदावरी र मिक्स माला गरी ५१ लाख ८० हजार माला खपत हुने एसोसिएसन नेपालको अनुमान छ ।