कुमाख लेकमा लाग्ने मेलाको मुख्य आकर्षण भनेको कला संस्कृति झल्काउने विभिन्न नृत्य, परम्परागत लोक भाका, रोटे पिङ, भलिबल खेल रहेको थियो ।
सल्यान — कोजाग्रत पूर्णिमामा लग्ने सल्यानको कुमाखमा मेला हेर्नेको घुइँचो लागेको छ । समुन्द्री सतहदेखि २५३५ मिटर उचाइमा रहेको कुमाख लेक यस क्षेत्रमा धार्मिक र पर्यटकीय हिसाबले चर्चित छ । सिद्ध कुमाख र कुमाख गाउँपालिका बीचमा पर्ने लेकमा सिद्ध बाबाको मन्दिर छ भने मन्दिरको काखैमा सिद्ध गुफा छ । दसैंपछिको चतुर्दशी र कोजाग्रत पूर्णिमामा यो मन्दिरमा विशेष पूजाआजा र मेला लाग्ने गर्छ ।
कुमाख लेकमा लाग्ने मेलाको मुख्य आकर्षण भनेको कला संस्कृति झल्काउने विभिन्न नृत्य, परम्परागत लोक भाका, रोटे पिङ, भलिबल खेल रहेको थियो । कुमाखको टुप्पोमा रहेको मन्दिरमा पूजाआजा गर्न र मेला भर्न सल्यानका मात्र नभई रुकुम, रोल्पा, बाँके, जाजरकोटलगायत जिल्लाका भक्तजन उपस्थित हुने गर्छन् ।
पूजाआजा गरेर बर मागे पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेकाले कोजाग्रत पूर्णिमाको दिन मेला भर्ना र पूजाआजा गर्न मन्दिरमा धेरै भक्तजन आउने गरेका मन्दिरका पुजारी शेरबहादुर डाँगीले बताए । मन्दिरमा पूजा गर्न र मेला भर्ना रुकुम, जाजरकोट, रोल्पा, दाङ, नेपालगञ्ज, सुर्खेतबाट भक्तजन आउने उनले जानकारी गराए ।
कुमाख लेकमा दुई दिनमा ५० हजारले मेला अवलोकन गर्नुका साथै मन्दिरमा पूजाआजा गरेका मन्दिर तथा मेला व्यवस्थापन समितिका अध्यक्ष खिम डिसीले बताए । सिद्धबाबा मन्दिर रहेको कुमाख लेकबाट रुकुम, जाजरकोट, दैलेखका केही भाग मात्र नभई हिमशृंखला अवलोकन गर्न सकिने भएपछि स्थानीय र जिल्ला बाहिरका पर्यटक बढ्दै गएका उनले जानकारी गराए ।
विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।