यसपालि एनपीएलमा तपाईँ कुन स्टार खेलाडी हेर्न आतुर हुनुहुन्छ ? अनि कुन टिम कहाँसम्म पुग्ला ? हामीलाई भन्नुस् है ।
काठमाडौँ — खेलकुदको महाउत्सव सोमबारदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुँदै छ । नेपाल प्रिमियर लिग (एनपीएल) अर्थात् फेस्टिभल अफ हिमालयज !
यसपटक आईसीसीबाट मान्यताप्राप्त टी-२० खेल, डीआरएस प्रविधि र विश्व क्रिकेटका चर्चित अनुहारहरूको भिडन्त, यी सबैको साक्षी बन्नेछ कीर्तिपुरस्थित क्रिकेट रंगशाला । एनपीएलको यो संस्करणलाई उम्दा बनाउन सक्ने विदेशी खेलाडीबारे हामी चर्चा गर्दै छौं । त्यसका लागि प्रत्येक टोलीबाट एकएक जना स्टार खेलाडी छानिएको छ ।
'आन्द्रे रसेल इन, बल आउट ।' तपाईँ क्रिकेटप्रेमी हुनुहुन्छ भने यो कमेन्ट्री पक्कै सुन्नुभएको छ । ब्याटिङमा छक्काको वर्षा, बलिङमा गति र विविधता अनि फिल्डिङमा गजबको फुर्ती । वेस्ट इन्डिजका यी मसल, पावर हिटर रसल विराटनगर किङ्सबाट एनपीएल खेल्दै छन् ।
टी-२० क्रिकेटमा रसेल मैदानमा हुँदा विपक्षी टोलीले अन्तिम बलसम्म ढुक्क हुने अवस्था कमै हुन्छ । सन् २०१२ र २०१६ का टी ट्वेन्टी विश्वकप विजेता रसेलले कोलकाता नाइट राइडर्सबाट सन् २०१४ र २०२४ मा आईपीएल उपाधि समेत जितेका थिए ।
क्यारेबियन प्रिमियर लिग र बंगलादेश प्रिमियर लिगको उपाधि पनि उनीसँग छ । ब्याटिङ र बलिङ दुवैमा प्रभाव पार्न सक्ने यस्ता खेलाडीलाई टोलीमा पाउनु कप्तान सन्दीप लामिछानेका लागि ठूलो राहत हो ।
विश्व क्रिकेटमा यस्ता ओपनर कमै छन्, जसले खेल सुरु हुनासाथ विपक्षी बलरलाई दबाबमा राख्छन् । एनपीएल इतिहासकै सबैभन्दा ठूला खेलाडीमध्येका एक यी अस्ट्रेलियन लेजेन्डको ब्याटिङको विशेषता हो- निर्भीक सुरुआत, आक्रामक सट र निरन्तर रन बनाउने भोक ।
सन् २०१५ र २०२३ मा अस्ट्रेलियाले एकदिवसीय विश्वकप जित्दा तथा सन् २०२१ मा टी-२० विश्वकप जित्दा उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए । आईपीएलमा पनि वार्नरको नाम निकै सफल खेलाडीका रूपमा लिइन्छ । सन् २०१६ मा सनराइजर्स हैदराबादलाई उपाधि दिलाउन उनले अहम् भूमिका खेलेका थिए । तीनपटक आईपीएलको 'ओरेन्ज क्याप' जित्नुले पनि उनको उत्कृष्टताको पहिचान दिन्छ ।
वार्नर अब काठमान्डु गोर्खाजको जर्सीमा देखिँदै छन् । उनका लागि एनपीएल नयाँ दर्शकमाझ आफ्नो खेल देखाउने अवसर हो भने नेपाली युवा खेलाडीका लागि उनको ब्याटिङ शैली नजिकबाट नियाल्ने मौका ।
क्रिकेटमा सुरुआत राम्रो हुनु एउटा कुरा हो, तर अन्तिम ओभरसम्म दबाब थेगेर टोलीलाई जित दिलाउनु अर्कै कला हो । ‘किलर मिलर’ भनिने उनी यही कलाका माहिर खेलाडी हुन् । मध्यक्रममा ब्याटिङ गर्न आउदा उनी आवश्यक पर्दा इनिङ्स सम्हाल्छन्, मौका पाउँदा बललाई बाउन्ड्री पार पुर्याउँछन् ।
फ्रेन्चाइज क्रिकेटमा पनि उनको अनुभव ठूलो छ । आईपीएलमा किङ्स इलेभेन पञ्जाब र गुजरात टाइटन्सबाट खेल्दै उनले आफ्नो प्रभाव छाडेका छन् । सन् २०२२ मा गुजरात टाइटन्सले पहिलोपटक आईपीएल उपाधि जित्दा मिलरको प्रदर्शन जबर्जस्त थियो ।
अब मिलरले कर्णाली याक्सको मध्यक्रम सम्हाल्ने छन् । नेपाली ब्याटरका लागि उनको प्रदर्शन डेथ ओभरमा ब्याटिङ गर्ने तरिका, बलरको योजना पढ्ने सीप र अन्तिमसम्म जितको सम्भावना कायम राख्ने मानसिकता सिक्ने अवसर हुनेछ ।
टी-२० क्रिकेटमा कहिलेकाहीँ एउटै ब्याटरले ५-६ बलमै खेलको माहोल बदलिदिन्छ । वेस्ट इन्डिजका शेरफन रदरफोर्ड यस्तै खेलाडी हुन् ।
बायाँहाते ब्याटर रदरफोर्डको मुख्य हतियार हो, आक्रामक ब्याटिङ र तीव्र गतिमा रन बनाउने क्षमता । सुदूरपश्चिम रोयल्सको जर्सीमा एनपीएल खेल्न लागेका मिडल अर्डर ब्याटर रदरफोर्डले खेलको अवस्था बुझेर आक्रमण गर्छन् । रदरफोर्डले क्यारेबियन प्रिमियर लिग, आईपीएल, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिगलगायत विभिन्न प्रतियोगितामा खेलेका छन् ।
सन् २०२१ मा कराँची किङ्सबाट पाकिस्तान सुपर लिग र सन् २०२२ मा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट क्यारेबियन प्रिमियर लिग जित्ने टोलीका सदस्य पनि थिए उनी ।
ब्याटिङ पनि गर्ने, बलिङ पनि गर्ने र आवश्यक पर्दा टोलीलाई नेतृत्वसमेत दिन सक्ने, इङ्ल्यान्डका मोइन अली यस्तै अनुभवी अलराउन्डर हुन् । बायाँहाते ब्याटर र दायाँहाते अफ स्पिनर मोइन टी-२० क्रिकेटमा यस्तो बहुआयामिक खेलाडी हुन् जसले टोलीलाई रणनीति बनाउने थप विकल्प दिन सक्छन् ।
इङ्ल्यान्डले सन् २०१९ मा एकदिवसीय विश्वकप र सन् २०२२ मा टी-२० विश्वकप जित्दा मोइन टोलीका सदस्य थिए । चेन्नई सुपर किङ्सबाट उनले सन् २०२१ र २०२३ मा आईपीएल उपाधि जितेका थिए ।
अब मोइन जनकपुर बोल्ट्सबाट खेल्नेछन् । कहिले आक्रामक ब्याटिङ गर्ने, कहिले साझेदारी बनाउने र बलिङ गर्दा ब्याटरलाई कुन क्षेत्रमा सट खेल्न बाध्य पार्ने भन्ने कुरा उनीसँग युवा खेलाडीले सिक्न सक्छन् । ड्रेसिङ रूममा पनि खेलको तयारी, विपक्षीको विश्लेषण र दबाब व्यवस्थापनबारे नेपाली खेलाडीले उनको अनुभव महसुस गर्न पाउनेछन् ।
यसपालि एनपीएलमा पोखरा एभेन्जर्सले भित्र्याएको अनुभवी अलराउन्डर हुन् बंगलादेशका शकिब अल हसन । देब्रेहाते ब्याटर र स्पिनर शकिबले अन्तर्राष्ट्रिय क्रिकेटका तीनवटै फर्म्याटमा आफूलाई प्रमाणित गरिसकेका छन् ।
शकिब ब्याटिङमा रनको गति बढाउन सक्छन्, बलिङमा विपक्षीको साझेदारी तोड्न सक्छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा १४ हजारभन्दा बढी रन र सात सयभन्दा बढी विकेट लिएका शकिबको अनुभवले पोखरालाई यसपालि निकै अगाडि बढाउन सक्ने देखिन्छ ।
आईपीएलमा उनले सन् २०१२ र २०१४ मा कोलकाता नाइट राइडर्सबाट उपाधि जितेका थिए भने पछि सनराइजर्स हैदराबादबाट खेल्न थालेका थिए । क्यारेबियन प्रिमियर लिगदेखि बंगलादेश प्रिमियर लिगसम्म उनले विभिन्न फ्रेन्चाइज खेलेका छन् ।
ब्याटरको चर्चा बढी हुने टी-२० क्रिकेटमा बलरले खेलको दिशा बदल्न सक्दैन भन्ने लाग्छ भने पाकिस्तानका उसामा मिरको खेल हेर्नुहोस् । अहिलेसम्म उनको खेल हेर्न पाउनुभएको छैन भने अब केही दिन पर्खिनुस्- उनी चितवन राइनोजको जर्सीमा एनपीएल खेल्दै छन् ।
लेग स्पिनर उसामा ब्याटरलाई अलमल्याउने बलिङ र महत्त्वपूर्ण समयमा विकेट निकाल्न माहिर छन् । सन् २०२३ मा न्युजिल्यान्डविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका उनी फ्रेन्चाइज क्रिकेटमा भने सन् २०२४ को पाकिस्तान सुपर लिगबाट उदाए । र २४ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडी बने । त्यसयता उनले बिग बास लिग, क्यारेबियन प्रिमियर लिग, द हन्ड्रेड र टी-२० ब्लास्टजस्ता प्रतियोगितामा खेलिसकेका छन् ।
लुम्बिनी लायन्ससँग यसपालि पनि छन् निरोशन डिकवेला । श्रीलंकाली विकेटकिपर-ब्याटर डिकवेला अघिल्लो सिजनमा गुलबदिन नैबको स्थानमा आएका थिए । जतिबेला लुम्बिनीले सुरुआती चार खेलमध्ये तीनमा हार बेहोरिसकेको थियो । तर उनी आएपछि लुम्बिनीले खेलेका सबै ६ खेल जित्यो र उपाधि उचाल्यो ।
डिकवेलाको ब्याटिङ शैली परम्परागत ढाँचामा मात्र सीमित छैन । स्वीप, स्कुप र र्याम्पजस्ता सट खेलेर उनी बललाई फिल्डर नभएको ठाउँमा पुर्याउन सक्छन् । विकेटकिपरका रूपमा पनि उनी खेल नियाल्ने अर्को रणनीतिक आँखा हुन् ।
यी आठ स्टारको चर्चा गर्दा एउटा कुरा प्रस्ट हुन्छ, एनपीएल नेपाली दर्शकका लागि उच्चस्तरको मनोरञ्जन त बन्दै छ, सँगै नेपाली क्रिकेटको विकासका लागि महत्त्वपूर्ण मञ्च पनि बनिरहेको छ । एउटै ड्रेसिङ रूममा विश्वकप विजेता, रणनीतिकार कप्तान र विभिन्न फ्रेन्चाइज लिगमा अनुभव बटुलेकाहरूसँग नेपाली युवा खेलाडी पनि ।
अर्को महत्त्वपूर्ण कुरा विदेशी स्टारसँग एउटै टोलीमा खेल्दा नेपाली खेलाडीले उनीहरूको तयारी र खेल्ने शैली पनि बुझ्न पाउँछन् । अनि पाउँछन् विपक्षीका रूपमा मैदानमा उत्रिँदा आफ्नो क्षमता परीक्षण गर्ने अवसर ।
विनयज्योति सापकोटा कान्तिपुर टेलिभिजनका खेलकूद संवाददाता हुन् ।