खेल तथा खेलाडीका लागि हुने खर्च, आबद्ध ब्रान्डहरूका प्रायोजन कारोबार, प्रचार, टिकट बिक्रीबाहेक अप्रत्यक्ष कारोबार पनि करोडौंको हुने अनुमान
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डेढ अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष कारोबार हुने देखिएको छ । प्रतियोगिता सञ्चालनका लागि नेपाल क्रिकेट संघ (क्यान) र फ्रेन्चाइजमार्फत हुने खर्च, क्यान तथा फ्रेन्चाइजसँग आबद्ध ब्रान्डको प्रायोजन, टिकट बिक्रीलगायत गतिविधिमा करिब डेढ अर्बभन्दा बढीको कारोबार हुने देखिएको हो ।
यसबाहेक खेललाई लिएर हुने अप्रत्यक्ष कारोबारको लेखाजोखा क्यानले गरेको छैन । तर करोडौंको कारोबार हुने अनुमान गरिएको छ । यसले शिथिल अर्थतन्त्रमा उत्साह जगाएको छ ।
पहिलो सिजनमा प्रत्यक्ष कारोबार एक अर्ब हाराहारी भएकामा दोस्रो सिजनमा अर्बभन्दा केही बढी भएको थियो । यस वर्ष कारोबार बढेर डेढ अर्बभन्दा बढी पुग्ने क्यानका कोषाध्यक्ष पदम खड्का बताउँछन् । ‘तेस्रो संस्करणमा आइपुग्दा क्यानले आर्थिक रूपमा ठूलो उचाइ प्राप्त गरेको छ,’ आइतबार पत्रकार सम्मेलनमा उनले भने, ‘यस वर्ष प्रायोजक, टिकट बिक्री सबै गरेर क्यानले करिब ७० करोडको आम्दानी गर्ने देखिन्छ, फ्रेन्चाइजहरूको कारोबार पनि जोड्दा यस वर्ष डेढ अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष कारोबार एक महिना (एनपीएल अवधि) मै हुने देखिन्छ ।’
अर्थतन्त्र शिथिल रहेका बेला एनपीएलले डेढ अर्बभन्दा धेरैको कारोबार गर्दा आर्थिक गतिविधि चलायमान बनाउन सघाउने देखिन्छ । यसका साथै रोजगारी सिर्जना, उपभोगमा वृद्धि र लगानी आकर्षणमार्फत घरेलु अर्थतन्त्र सक्रिय बनाउनेछ । लगानीकर्तालाई आँट र भरोसा पनि दिनेछ । एनपीएलका लागि धमाधम भइरहेका होटल बुकिङ, ठूलो संख्यामा जर्सीको व्यापार, फ्रेन्चाइजद्वारा भइरहेको प्रचार तथा ब्रान्डिङ र बढ्दो व्यावसायिक घरानाको आबद्धताले देशकै अर्थतन्त्रमा उत्साह बढाएको क्यानका सचिव पारस खड्का बताउँछन् । ‘हरेक वर्ष कारोबार बढ्दै आएकोमा यस वर्ष वृद्धिदर झनै उच्च छ,’ सचिव खड्काले भने, ‘कति कमायो भन्दा पनि कसरी दिगो हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हो ।’
उनले एनपीएल अब उद्योगका रूपमा स्थापित भइसकेको बताए । ‘खेलको मात्र कुरा गर्दा एनपीएल उद्योग भइसक्यो, यद्यपि हामीले पूर्वाधारमा अझै ठूलो लगानी गर्नुपर्नेछ,’ उनले भने, ‘पछिल्ला हरेक सिजनमा हामीले लक्ष्य प्राप्त गरेका छौं भने सही दिशामै छौं । तर, यसको दिगोपनाका लागि अझै धेरै काम गर्नुपर्नेछ ।’
अघिल्ला दुई सिजनमा हरेक फ्रेन्चाइजको खर्च औसत ८ देखि १० करोड रुपैयाँसम्म हुने गरेको थियो । यस वर्ष फ्रेन्चाइजको खर्च औसत १५ करोड पुग्ने अनुमान छ । हरेक फ्रेन्चाइजले चाहेअनुसार विदेशी खेलाडी ल्याउन पाउने भएपछि उनीहरूको खर्च ह्वात्तै बढेको हो । यसको प्रमुख कारण विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीले एनपीएललाई आधिकारिक मान्यता दिनु हो । एनपीएलले आईसीसीबाट आधिकारिकता पाएसँगै विश्व क्रिकेटका ठूला स्टार खेलाडी एनपीएल खेल्न काठमाडौं आइपुगेका छन् र उनीहरूले आफ्नो ‘ग्लोबल छाप’ अनुरूप पारिश्रमिक लिनेछन् ।
पहिलो सिजनमा कर्णाली याक्सले भारतीय स्टार शिखर धवनलाई भित्र्याउँदा १ करोडभन्दा बढी पारिश्रमिक तिरेको थियो । यस सिजनमा खेल्ने अस्ट्रेलियाका डेबिड वार्नर, दक्षिण अफ्रिकाका डेबिड मिलर, वेस्ट इन्डिजका एन्ड्रे रसेल, बंगलादेशका शकिब अल हसनलगायतका खेलाडीको पारिश्रमिक पनि धवनकै हाराहारी रहेकाले अघिल्ला दुई सिजनभन्दा फ्रेन्चाइजले खर्च गर्ने कारोबारले यो सिजनमा बढेको छ ।
क्यानका अनुसार एउटा फ्रेन्चाइज टिमको खर्च औसत खर्च १५ करोड मान्दा पनि आठ वटैको १ अर्ब २० करोड हुन आउँछ । गत वर्षभन्दा यस वर्ष क्यानको खर्च पनि बढेको छ । यस वर्ष क्यानले निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) भित्र्याएको छ । योसँगै प्रचार, ब्रान्डिङलगायत खर्च पनि बढेकाले क्यानको खर्च करिब ३० करोड हुने अनुमान छ । गत वर्ष क्यानले करिब २१ करोड रुपैयाँ खर्च गरेको थियो । क्यान र फ्रेन्चाइजको खर्च जोड्दा तेस्रो सिजनमा प्रत्यक्ष कारोबार डेढ अर्बभन्दा बढीको देखिएको हो ।
वित्तीय क्षेत्रका विज्ञ एवं पूर्वबैंकर अनिल केशरी शाह एनपीएलले अर्थतन्त्रमा उत्साह थपेको बताउँछन् । ‘एनपीएलको पहिलो र दोस्रो सिजन आयोजना गरिसकेपछि नेपालले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न सक्छ भनेर प्रमाणित भएको छ,’ उनले भने, ‘लामो समयदेखि शिथिल अर्थतन्त्र चलायमान बनाउन यसले उत्साह थपेको छ ।’
एनपीएलले जर्सी, सुज, क्यापलगायत स्पोर्ट्सको ‘इकोसिस्टम’ नै खडा गरेको शाहले बताए । ‘अहिले हिमाल, पहाड र तराई सबैतिर क्रिकेटमय वातावरण बनेको छ । धेरै क्रिकेट एकेडेमी खुलेका छन् । युवामा क्रिकेटर बन्ने चाहना बढेको छ । यसले आर्थिक गतिविधिमा ठूलो योगदान दिएको छ,’ उनले थपे, ‘आईसीसीको स्वीकृतिपछि एनपीएलले अन्तर्राष्ट्रिय मान्यता पनि पाएको छ । नेपालमा क्रिकेट लोकप्रिय बन्नुको मुख्य कारण बढ्दो दर्शक आकर्षण हो । एनपीएलमार्फत यो सन्देश विश्वभर फैलिएको छ ।’
फ्रेन्चाइज टिमले खेलाडीको तलब भत्ता, खाने, बस्ने व्यवस्था, स्वास्थ्य, प्रशिक्षणलगायतमा खर्च गर्नुपर्ने हुन्छ । नेपाली खेलाडीको पारिश्रमिकका लागि क्यानले सिलिङ तोकेको छ, जसअनुरूप एउटा फ्रेन्चाइज टोलीले मार्की खेलाडीको २० लाखसहित अन्य १३ खेलाडीका लागि अधिकतम ९० लाख खर्च गर्न पाउनेछन् । एउटा टोलीले एक महिना सुविधासम्पन्न होटलमा बस्दा औसतमा ५०–६० लाख खर्च गरेका छन् । विदेशी खेलाडीमा ४/५ करोडसम्म खर्च गर्न फ्रेन्चाइज टोली तम्सिएका छन् । यस वर्ष धेरै विदेशी खेलाडी भित्र्याइएको र प्रचार पनि गर्नुपरेकाले गत वर्षभन्दा लागत बढ्ने फ्रेन्चाइजहरूले बताएका छन् ।
गत वर्षभन्दा यस वर्ष फ्रेन्चाइजको खर्च बढ्ने लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवाल बताउँछन् । ‘यस वर्ष ६ जना विदेशी खेलाडी ल्याइसकेका छौं, थप खेलाडी ल्याउने प्रक्रियामा छौं,’ उनले भने, ‘गत वर्षसम्म फ्रेन्चाइज घाटामा थियो । आम्दानी पनि बढेकाले यस वर्षबाट नाफा हुन्छ वा ब्रेक इभनमा पुग्छ कि भन्ने लागेको छ ।’ अघिल्ला सिजनभन्दा यस वर्ष फ्रेन्चाइजमा आबद्ध ब्रान्ड संख्या र आम्दानी बढेको उनले खुलाए । ‘लुम्बिनी लायन्ससँग यस वर्ष करिब डेढ दर्जन ब्रान्ड आबद्ध भएका छन्, यस वर्ष ब्रान्डबाट प्राप्त आय बढेको छ,’ उनले भने ।
एउटा फ्रेन्चाइज टिमले आफ्नो जर्सी, ट्राउजर, क्याप, हेलमेटमा १२ वटासम्म कम्पनीको लोगो राखेर खेल्न पाउनेछन् । पहिलो दुई सिजनमा फ्रेन्चाइज टोलीलाई प्रायोजक खोज्न हम्मे परेको तर यस पटक प्रतियोगिताअघि नै ठूलो हाउसहरू एनपीएलमा आबद्ध हुन खोजेकाले सबै टोलीले प्रायोजक जुटाइसकेको कटवालको भनाइ छ । यसको कारण पनि अघिल्ला वर्षको तुलनामा खर्च बढ्ने उनले जनाए ।
यस सिजनमा सञ्चालन खर्च बढेर १५ करोडसम्म पुग्ने काठमाडौं गोर्खाजले जनाएको छ । गत वर्ष करिब ११ करोड खर्च भएको यो फ्रेन्चाइजको खर्च यस वर्ष १५ करोड पुग्ने काठमाडौं गोर्खाजका प्रमुख सञ्चालन अधिकृत श्रवण सिंहले बताए । ‘डेविड वार्नरजस्ता चर्चित विदेशी खेलाडी टिममा भित्र्याएपछि सञ्चालन लागत पनि बढेको छ,’ उनले भने, ‘खर्चसँगै आम्दानी पनि २० देखि २५ प्रतिशतले बढ्ने देखिन्छ ।’
एनपीएलमा उत्कृष्ट बन्ने लक्ष्यसहित यतिबेला हरेक टिम प्रतिस्पर्धाको अन्तिम तयारीमा जुटेका छन् । उपत्यका बाहिरका दर्शकले पनि खेल हेर्न काठमाडौं आउनका लागि होटल बुकिङ गरेका छन् । दर्शकका लागि क्यानले टिकट बिक्री पनि खुलाइसकेको छ । यतिबेला एनपीएलको रन्कोले नेपाली खेलकुद क्षेत्र मात्र नभई बजार–व्यवसाय, कलाकारिता क्षेत्रदेखि समग्र अर्थतन्त्रमै उत्साह जगाएको छ । देश र सरकारले नेपाली खेलकुदमा खासै लगानी गरेको छैन, गरे पनि खेलको विकास र विस्तारमा पर्याप्त छैन भनिरहेका बेला एनपीएल एउटा उद्योगकै रूपमा स्थापित भएर अघि बढेको छ ।
२४ चैत २०८२ मा क्यानले दोस्रो संस्करणको आयव्यय विवरण सार्वजनिक गरेको थियो । जसअनुसार एनपीएलको दोस्रो सिजनबाट ९ करोड २१ लाख २१ हजार ९ सय ३५ रुपैयाँ खुद मुनाफा भएको थियो । पहिलो संस्करणमा भन्दा दोस्रो संस्करणमा ६ करोड ७४ लाख ७१ हजार १ सय ४६ रुपैयाँ बढी मुनाफा कमाएको त्यतिबेला क्यानले बताएको थियो । पहिलो सिजनमा क्यानले २ करोड ४६ लाख ५० हजार ७ सय ८९ रुपैयाँ कमाएको थियो ।
क्यानले एनपीएलको दोस्रो सिजनबाट ४७ करोड ३६ लाख ५ सय ५९ रुपैयाँ आम्दानी गरेकामा प्र्रतियोगिता सञ्चालन गर्दा २१ करोड ९६ लाख ५ हजार १ सय २३ रुपैयाँ खर्च भएको थियो । यस आधारमा राजस्व बाँडफाँटअघि कुल आम्दानी २५ करोड ३९ लाख ९५ हजार ४ सय ३५ रुपैयाँ हुन आउँछ । क्यानले पहिलो सिजनबाट २७ करोड ६९ लाख ६४ हजार ८ सय १८ रुपैयाँ आम्दानी गरेकोमा प्रतियोगिता आयोजना गर्न २० करोड १५ लाख ७३ हजार ५ सय ५९ रुपैयाँ खर्चेको थियो । अहिले वित्तीय प्रणालीमा १६ खर्ब रुपैयाँ ऋणयोग्य रकम थुप्रिएको छ । कर्जा माग बढेको छैन । कर्जा माग न्यून छ । यद्यपि चालु आर्थिक वर्षको पहिलो दुई महिनामा कर्जा विस्तार ७ प्रतिशतले बढेको छ ।
गत वर्षजस्तै यस वर्ष पनि एनपीएलको मुख्य प्रायोजकमा सिद्धार्थ बैंक रहेको छ । बैंकले पाँच वर्षका लागि एनपीएलसँग सम्झौता गरेको थियो । यसबाहेक एनपीएलले गत वर्ष विभिन्न कम्पनी तथा ब्रान्डसँग प्रायोजन सम्झौता गरेको थियो । यस वर्ष एनपीएलसँग आबद्ध हुने कम्पनीको संख्या बढेर करिब दुई दर्जन पुग्ने क्यानले जनाएको छ ।
सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्याल विश्वका सफल लिगहरू केवल खेल प्रतियोगितामा सीमित नभई तिनीहरू पर्यटन, लगानी, रोजगारी, मनोरन्जन उद्योग तथा अन्तर्राष्ट्रिय ब्रान्डिङका महत्त्वपूर्ण माध्यम बनेको बताउँछन् । ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा पनि त्यही सम्भावना देखिन्छ,’ उनले भने, ‘विश्वस्तरीय खेलाडीको आगमनले नेपालप्रति अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यानाकर्षित भएको छ । विदेशी समर्थक, विश्लेषक, खेल पत्रकार र क्रिकेट समुदायको नजर नेपालतर्फ केन्द्रित गर्न यसले ठूलो सहयोग पुग्छ ।’
यस वर्ष टिकट बिक्रीबाट मात्र करिब ११ करोडभन्दा बढी आम्दानी हुने क्यानको अनुमान छ । गत वर्ष करिब ८ करोड रुपैयाँ टिकट बिक्रीबाट आम्दानी गरेको क्यानले यस वर्ष त्यो आय बढी हुने अनुमान गरेको छ । सोमबार गत वर्षको च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको उद्घाटन खेलको टिकट अनलाइनमा ३ दिनअघि खुलेकामा आधा घण्टामै सकिएको थियो । यसबाट दर्शकको कुनै कमी नहुने देखिएकाले टिकटबाट ११–१२ करोड रकम संकलन हुने अनुमान सचिव खड्का गर्छन् । दर्शकका लागि टिकट दर प्रतिखेल ५ सय र एक हजार तोकिएको छ ।
फ्रेन्चाइज टोलीले पनि स्रोत बढाउन विभिन्न गतिविधि बढाएका छन् । गत वर्षको तुलनामा यस वर्ष जर्सीको माग ह्वात्तै बढेको फ्रेन्चाइजहरूले बताएका छन् । उनीहरूका अनुसार गत वर्षभन्दा कम्तीमा पनि दोब्बर बढी जर्सी बिक्री हुने देखिएको छ । केही फ्रेन्चाइजले कन्सर्ट नै गरेर जर्सी बेचिरहेका छन् भने केहीले आधिकारिक विक्रेता र अनलाइनमार्फत ठूलो संख्यामा जर्सी बिक्री गरिरहेका छन् ।
विराटनगर किंग्सले समर्थकलाई डिजिटल माध्यमबाट जोड्न शनिबारदेखि आधिकारिक मोबाइल एपको बेटा संस्करण सार्वजनिक गरेको थियो । एपमा खेल तालिका, नतिजा र खेलका प्रमुख गतिविधिको जानकारी दिने ‘म्याच डे सेन्टर’ समावेश छ । एपमा रहेको अनलाइन पसलबाट विराटनगर किंग्सको आधिकारिक जर्सी तथा अन्य सामग्री खरिद गर्ने व्यवस्था गरेर टोलीले आफ्नो स्रोतको दायरालाई फराकिलो बनाएको छ ।
विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।
यज्ञ बञ्जाडे कान्तिपुर मिडिया ग्रुपका आर्थिक ब्युरो प्रमुख हुन् । उनी आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।