Trending
Prev Story
Next Story

विश्व आप्रवासी चरा दिवस : सकसमा चरा

Ekantipur •
October 10, 2026 • 10:36 AM
1
1 reads 0 reactions

पछिल्लो समय आहारविहार, प्रजनन र सुरक्षित बासस्थानका लागि सकस पर्दै गएको छ । सिमसार क्षेत्र, तालपोखरी, वनजंगल र घाँसेमैदानमा बसाइँसराइ गरेर रमाउने चरा देखिन छाडेका छन् ।

विश्व आप्रवासी चरा दिवस : सकसमा चरा

पछिल्लो समय आहारविहार, प्रजनन र सुरक्षित बासस्थानका लागि सकस पर्दै गएको छ । सिमसार क्षेत्र, तालपोखरी, वनजंगल र घाँसेमैदानमा बसाइँसराइ गरेर रमाउने चरा देखिन छाडेका छन् ।

कपिलवस्तु — गत असोज १३ गते धनुषामा नयाँ चरा भेटियो, कोलार्ड किङफिसर । यो चरा असोज दोस्रो साताको सुरुवातमा चलेको हावाहुरीसँगै आएको हुन सक्ने चराविद् हठन चौधरी बताउँछन् । 'असोज ८ देखि विपरीत दिशाबाट तीव्र वेगमा हावा चल्न थाल्दा तटीय क्षेत्र र समुद्री मुहानमा पाइने चरा भूपरिवेष्ठित मुलुकमा अभिलेख हुनु निकै दुर्लभ घटना हो,' उनले भने, ‘बसाइँ सरेर जाँदा हावाको वेगले नेपालतिर ल्याइदिएको अनुमान गर्न सकिन्छ ।’

उक्त चराको नयाँ अभिलेखसँगै नेपालमा पाइने चरा प्रजातिको संख्या ९०४ पुगेको छ । जलवायु परिवर्तनले पनि एक ठाउँ पुग्नुपर्ने चरा अर्को ठाउँ पुगिरहेको र यसले चराको बसाइँसराइ परिवर्तनसँगै आनीबानी पनि परिवर्तन गरिरहेको चराविज्ञ बताउँछन् ।

पछिल्लो समय आहारविहार, प्रजनन र सुरक्षित बासस्थानका लागि सकस पर्दै गएको छ । सिमसार क्षेत्र, तालपोखरी, वनजंगल र घाँसेमैदानमा बसाइँसराइ गरेर रमाउने चरा देखिन छाडेका छन् । उनीहरूको कोकिलकण्ठे बोली र चिरबिराहट सुनिन छाडेको छ । त्यसैले अक्टोबर महिनाको दोस्रो शनिबार (अक्टोबर १०) मा अन्तर्राष्ट्रिय विश्व आप्रवासी चरा दिवस मनाउँदै बसाइँसराइ गरी आउने आप्रवासी चराको संरक्षण गर्न सचेतना फैलाउने गरिएको छ ।

अहिले मुलुकमा सिमसार, नदी, तालपोखरी र खेतबारीमा बस्ने हिउँदे आप्रवासी चराको आगमन सुरु भएको छ । तर, पछिल्लो समय नेपालमा बसाइँ सरेर आउने चराका बासस्थान संकुचन, सिमसार क्षेत्रको अतिक्रमण, खेतबारीमा रासायनिक मल र विषादीको बढ्दो प्रयोगले समस्या थपेको चौधरीले बताए । 'यसले पछिल्लो समय बसाइँसराइ गरी आउने चराको दैनिकी, प्रजनन र जीवनयापनमा चुनौती थपिएको छ,' उनले भने, ‘जलवायु परिवर्तनले चराको बसाइँसराइ चक्रलाई प्रभावित बनाएको छ । एक ठाउँमा पुग्नुपर्ने चरा अर्को ठाउँमा पुगिरहेका छन् । आगन्तुक चरा रैथाने बन्न पुगेका छन् ।'

यसले नेपालमा मात्र नभई विश्वव्यापी रूपमा असर गरेको छ । गत सेप्टेम्बरमा बर्डलाइफ इन्टरनेसनलद्वारा केन्याको राजधानी नैरोबीमा आयोजित ग्लोबल फ्लाइवेज शिखर सम्मेलनमा सार्वजनिक ‘स्टेट अफ द वर्ल्ड्स बर्ड्स’ प्रतिवेदनअनुसार मूल्यांकन गरिएका एक हजार ८ सय ४३ आप्रवासी चरा प्रजातिमध्ये ४५ प्रतिशतको संख्या विश्वभर घटिरहेको छ । झन्डै नौमध्ये एक अर्थात् ११ प्रतिशत आप्रवासी चरा प्रजाति लोप हुने जोखिममा पुगेका छन् ।

बर्डलाइफ इन्टरनेसनलका सिनियर एसिया पार्टनरसिप म्यानेजर हुम गुरुङले आप्रवासी चराको संरक्षण एउटा देशको मात्र नभई सबैको जिम्मेवारी भएको बताए । ‘नेपालमा हिउँद र ग्रीष्ममा आउने चराको बासस्थान जहाँ छ, त्यो मुलुक पनि उत्तिकै जिम्मेवार हुनुपर्छ । हजारौँ माइल लामो यात्राका क्रममा उनीहरूलाई सुरक्षित रूपमा उत्रिन र विश्राम गर्न ठाउँ चाहिन्छ,’ उनले भने, 'यस्ता सुरक्षित स्थल सुनिश्चित गर्न सम्बन्धित देशबीच क्षेत्रीय सहकार्य आवश्यक रहेकोछ ।'

सडक, विद्युत् प्रसारण लाइन, जलविद्युत् आयोजना, सिँचाइ, सहरीकरण र नवीकरणीय ऊर्जा पूर्वाधारजस्ता विकास गतिविधिले समस्या निम्त्याइरहेको वरिष्ठ चराविद् हेमसागर बराल बताउँछन् । त्यसैले कहाँ र कसरी विकास गर्ने भन्ने निर्णय गर्दा आप्रवासी चराका उडानमार्ग र महत्त्वपूर्ण बासस्थललाई पनि समेट्नुपर्ने उनले बताए ।

पछिल्लो समय ग्रीष्म आगन्तुक बगालेबगेडी, चित्रविर बगेडी, केलो टाउके हाँस, देव हाँस, जिवाहर महाचिल, रणमत्त महाचिल, राग महाचिल, सेतो कण्ठे धिप्सी र कास्मिर अर्जुनक लगायतका चरा संकटमा पर्दै विश्वमै दुर्लभ बन्दै गएको चराविद् चौधरीले बताए । त्यस्तै, ग्रीष्म आगन्तुक कासेघाँसे चरी र झाझर चिवा संकटमा पर्दै विश्वमै दुर्लभ भएका छन् ।

चरालाई निर्वाध रूपमा आवागमन गर्न पाउने वातावरण बनाउन, बसाइँसराइ गर्ने चराको दिगो संरक्षण गर्न तथा तिनको आहारविहार, बासस्थान र उडानमार्गको सुरक्षाका लागि विश्वव्यापी रूपमा हातेमालो गर्दै सचेतना अभिवृद्धि गर्न विश्व आप्रवासी चरा दिवस मनाउने गरिन्छ । तर, नेपालमा चरा संरक्षणका लागि संरक्षणसम्बद्ध संघसंस्थाले अभियान चलाए पनि सरकारी प्रयास भने प्रभावकारी छैन ।

मुलुकका ताल र सिमसार क्षेत्रको वातावरण कस्तो छ भन्ने कुरा पानी चराको आगमनले नै जानकारी दिने हुँदा यो महत्त्वपूर्ण भएको पन्छी संरक्षण संघ (बीसीएन) का अध्यक्ष विमल थापाले बताए । ‘चरा आगमनलाई सामान्य रूपमा लिनु हुँदैन,’ उनले भने, ‘यसले यहाँको जैविक विविधताको स्वच्छताको सूचक मापन गरिरहेको हुन्छ ।’

जलपन्छीको आगमन घट्ने क्रम जारी रहेकाले बेलैमा सचेत हुनुपर्ने अर्का चराविद् कृष्णप्रसाद भुसालको भनाइ छ । उनका अनुसार सिमसार क्षेत्रमा आश्रित हिउँदे पाहुना चरा पछिल्ला वर्षमा सिमसार क्षेत्रको अतिक्रमण र संकुचनले घट्दै गएका छन् । उडानमार्गमा हुने अवरोध र रासायनिक मलको बढ्दो प्रयोगले उनीहरू जोखिममा छन् । खेतबारीमा विषादीको बढ्दो प्रयोग र जलवायु परिवर्तनले पनि समस्या थपेको छ । असुरक्षित बिजुलीका तार र अवैध चोरीसिकारले पनि समस्या थपेको छ ।

'बसाइँसराइ गरी आउने चरा लामो दूरीको यात्राले थकित हुने तथा आश्रयस्थल नयाँ ठाउँ हुने हुँदा प्राकृतिक तथा मानवीय सिकारको अत्यधिक जोखिममा पर्छन्,' उनले भने, 'आप्रवासी चरामाथिका अधिकांश जोखिम भने मानवीय गतिविधिका कारण उत्पन्न भएका हुन् । प्रदूषण, बढ्दो सिकार, बासस्थान खण्डीकरण र विश्वव्यापी तापक्रम वृद्धि पनि प्रमुख छन् ।'

चरा पर्यटनको विविधता बोकेको नेपालमा ६ सय ५० प्रजातिका रैथाने चरा सधैं नेपालमै रहन्छन् । यी प्रायः सबै बच्चा कोरल्ने प्रजातिका हुन् । यस्तै, १ सय ५० प्रजातिका हिउँदे र ६५ प्रजातिका ग्रीष्म आगन्तुक चरा छन् भने ३९ प्रजातिका चरा बटुवा र फिरन्ते हुन् ।

चराविज्ञका अनुसार नेपालमा विश्वका करिब ८ प्रतिशत चरा पाइन्छन् । ती चरा हेर्न विदेशी पर्यटक नेपाल आउन लालायित हुन्छन् । नेपाल आउने पर्यटकमध्ये १० प्रतिशत चरा र वन्यजन्तु हेर्न आउने गरेका छन् ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
2w ago
सीमित ट्रायल सेन्टरका कारण सकसमा सेवाग्राही, साता नपर्खी आउँदैन पालो

सीमित ट्रायल सेन्टरका कारण सकसमा सेवाग्राही, साता नपर्खी आउँदैन पालो

सीमित ट्रायल सेन्टरका कारण सकसमा सेवाग्राही, साता नपर्खी आउँदैन पालो केही ट्रायल सेन्टरले प्रदेश सरकारले तोकेको भन्दा बढी शुल्क असुलेको सेवाग्राहीको गुनासो छ । कार्तिक ११, २०८३ विमल खतिवडा सीमि...

#सकस
Compare →

Related Stories

World News
Build #2611