Trending
Prev Story
Next Story

बाल्यकालको स्वाद बन्यो व्यवसायको बाटो

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

७ कात्तिक, कञ्चनपुर । बिहानको घाम विस्तारै चर्किंदै थियो । भीमदत्त नगरपालिका–६ नरेन्द्रको घर छेउमा राखिएका मौरीका घारहरू टल्किदै थिए । घार वरिपरि मौरीको आउजाउ बाक्लो थियो । कोही फूलतिर उडिरहेका थिए, कोही घारभित्र पस्दै …

बाल्यकालको स्वाद बन्यो व्यवसायको बाटो

७ कात्तिक, कञ्चनपुर । बिहानको घाम विस्तारै चर्किंदै थियो । भीमदत्त नगरपालिका–६ नरेन्द्रको घर छेउमा राखिएका मौरीका घारहरू टल्किदै थिए । घार वरिपरि मौरीको आउजाउ बाक्लो थियो । कोही फूलतिर उडिरहेका थिए, कोही घारभित्र पस्दै थिए । त्यही मौरीको चहलपहलबीच नरेन्द्र खत्री पनि व्यस्त थिए ।

५१ वर्षीय नरेन्द्रका लागि मौरी व्यवसाय मात्र नभई जीवनको एउटा हिस्सा बनेको छ । तर उनको जीवन मौरीबाट सुरु भएको भने होइन । उनको परिचय कुनै समय कुस्ती खेलाडीका रूपमा थियो ।

विसं २०४७ सालदेखि कुस्ती खेल्न थालेका नरेन्द्र राष्ट्रियस्तरका प्रतियोगितासम्म पुगे । खेलप्रतिको लगावले उनलाई लामो समयसम्म कुस्तीको मैदानमा राख्यो । तर समयसँगै उनको जीवनले अर्को बाटो समात्यो । त्यो बाटो थियो, मौरीपालन ।

मौरीसँगको उनको सम्बन्ध भने व्यवसाय सुरु गरेपछि बनेको होइन । यसको जरा उनको बाल्यकालमै थियो । सानैदेखि उनलाई मह असाध्यै मन पर्थ्यो । गाउँमा कतै मौरी देखे उनी त्यतैतिर पुगिहाल्थे । मौरीको घार खोज्ने र मह निकाल्ने उनको बाल्यकालको रुचि थियो ।

‘मह खानकै लागि पनि मौरी पाल्न मन लाग्थ्यो,’ नरेन्द्र मुस्कुराउँदै भन्छन्, ‘त्यो बेला व्यवसाय बन्छ भन्ने त सोचेकै थिइनँ ।’

बाल्यकालको त्यही स्वाद र रुचि अहिले उनको आम्दानीको आधार बनेको छ । करिब १३ वर्षअघि उनले ३० हजार रुपैयाँ लगानी गरेर पाँच घारबाट मौरीपालन सुरु गरे ।

सुरुवाती दिनमा न ठूलो लगानी थियो, न आधुनिकताको ज्ञान र साधन । थियो त केवल काम गर्ने इच्छा र आफूले थालेको कामप्रतिको विश्वास ।

मौरीका घार बोकेर उनी साइकलमै गाउँगाउँ पुग्थे । बेलौरी, बेलडाँडीदेखि कैलालीको मसुरियासम्म मौरी चराउन लैजान्थे । ‘यात्राका लागि साइकल थियो, मनमा विश्वास त थियो,’ उनी ती दिन सम्झन्छन् ।

बिस्तारै घार थपिँदै गए । मौरीको संख्या बढ्दै गयो । पाँच घारबाट सुरु भएको उनको व्यवसाय अहिले करिब दुई सय घारमा पुगेको छ ।

मौरी चराउन उनी तराईदेखि पहाडसम्म पुग्छन् । मौसम र फूल फुल्ने समयअनुसार मौरीका घार सार्दै उनी करिब चार सय किलोमिटरसम्मको यात्रा गर्छन् ।

उनले मेलिफेरा अर्थात् युरोपियन र सेरना अर्थात् एसियन जातका मौरी पालिरहेका छन् । घारमै तयार भएको मह निकालेर बिक्री गर्ने भएकाले त्यसलाई धेरै प्रशोधन गरिरहनु पर्दैन । यहीकारण उनको उत्पादनप्रति ग्राहकको आकर्षण पनि बढेको छ ।

अहिले उनी वर्षमा करिब १० क्विन्टल मह उत्पादन गर्छन् । प्रतिकिलो एक हजारदेखि १६ सय रुपैयाँसम्ममा मह बिक्री हुने गरेको उनी बताउँछन् । ‘सबै खर्च कटाएर वर्षमा १२ लाख रुपैयाँसम्म बचत हुन्छ,’ नरेन्द्र भन्छन् । मेरालागि यो कमाइ मात्र होइन, आत्मनिर्भरको बाटो बनेको छ ।’

कुनै समय कुस्तीको मैदानमा प्रतिस्पर्धा गर्ने नरेन्द्र अहिले त्यही खेलसँग पनि जोडिएका छन् । उनी अहिले कुस्तीका राष्ट्रिय निर्णायक हुन् ।

उनको परिवार पनि कुस्तीबाट टाढा छैन । उनकी छोरी कोमल खत्री र बहिनी लक्ष्मी खत्री अन्तर्राष्ट्रियस्तरका कुस्ती खेलाडी हुन् ।

अहिले छोरी दक्षिण एसियाली खेलकुदकी पदक विजेता र बहिनी सुदूरपश्चिम महिला कुस्ती टोलीकी प्रशिक्षक छिन् । यसरी उनको जीवनमा कुस्ती र मौरी दुवै सँगसँगै छन् ।

खत्रीले उत्पादन गरेको मह कञ्चनपुरमा मात्र सीमित छैन । नेपालका विभिन्न ठाउँ हुँदै भारत र संयुक्त अरब इमिरेट्स (दुबई)सम्म समेत पुगेको छ । सानो लगानीबाट सुरु गरेको व्यवसाय अहिले बजारसम्म पुगेपछि नरेन्द्रको सपना पनि फराकिलो भएको छ ।

अब उनको लक्ष्य मौरीपालनलाई अझ व्यवस्थित बनाउँदै आधुनिक उद्योग स्थापना गर्ने हो । ‘अब व्यवसायलाई आधुनिक स्थरबाट लौजाने योजना बनाएको छु । जसले गर्दा आम्दानी अझै दह्रो बनोस्,’ उनी बताउँछन् ।

बाल्यकालमा महको स्वाद खोज्दै मौरीको घारसम्म पुग्ने नरेन्द्र आज त्यही मौरीसँग आफ्नो भविष्य खोजिरहेका छन् । कुनै समय कुस्तीको मैदानमा जितका लागि भिड्ने उनी अहिले मौरीसँगै नयाँ संघर्ष गरिरहेका छन् । ‘पहिले मह खान मन लागेर मौरी खोज्थें,’ उनी भन्छन्, ‘अहिले यही मौरीले मेरो जीवन चलाएको छ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
4d ago
रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा

रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा

चरनमा गएका मौरी विषादीका कारण मरेर नफर्किने र सरकारी निकायले प्रोत्साहन नदिने हुँदा किसान चिन्तित बनेको उनको भनाइ छ।

#मौरी #घार #व्यवसाय
Compare →
Ekantipur
2d ago
घरायसी परिकारबाट करोडाैंको व्यवसाय बन्यो झिनियाँ रोटी

घरायसी परिकारबाट करोडाैंको व्यवसाय बन्यो झिनियाँ रोटी

२० वर्षअघिसम्म घरायसी परिकार रहेको झिनियाँ रोटी अहिले पाल्पाका महिलाको नियमित आम्दानी हुने व्यवसाय बनेको छ, जसबाट वार्षिक पाँच करोड रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान छ।

#बन्यो #व्यवसाय
Compare →

Related Stories

Sports
Build #2611