Trending
Prev Story
Next Story

अम्बानीको जियो भारतकै सबैभन्दा बढी आवेदन परेको आईपीओ, ७७ अर्ब डलरको बोलकबोल

Ekantipur •
October 24, 2026 • 01:00 AM
1
1 reads 0 reactions

२००८ मा रिलायन्स पावरले ल्याएको आईपीओको रेकर्ड तोड्दै जियो प्लेटफर्म्सको सेयर निष्कासनमा १ करोड ३८ लाखभन्दा बढी आवेदन परेका छन्। संस्थागत तथा खुद्रा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ।

अम्बानीको जियो भारतकै सबैभन्दा बढी आवेदन परेको आईपीओ, ७७ अर्ब डलरको बोलकबोल

२००८ मा रिलायन्स पावरले ल्याएको आईपीओको रेकर्ड तोड्दै जियो प्लेटफर्म्सको सेयर निष्कासनमा १ करोड ३८ लाखभन्दा बढी आवेदन परेका छन्। संस्थागत तथा खुद्रा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ।

नयाँ दिल्ली — अर्बपति मुकेश अम्बानीले २० वर्षपछि ल्याएको पहिलो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि शुक्रबारसम्म ७७ अर्ब डलरभन्दा बढीको बोलकबोल परेको छ। यससँगै उनको दूरसञ्चार तथा डिजिटल व्यवसाय जियो प्लेटफर्म्स ( JIOP.NS ) भारतकै सबैभन्दा बढी आवेदन परेको सेयर निष्कासन बनेको छ। यसले मुकेशका भाइ अनिल अम्बानीको समूहअन्तर्गतको रिलायन्स पावरले सन् २००८ मा ल्याएको आईपीओको रेकर्ड तोडेको छ।

कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित कम्पनीका सेयरमाथि निगरानी र प्रश्न बढिरहेका बेला जियोको आईपीओलाई ठूलो आकारका सेयर निष्कासनप्रति लगानीकर्ताको आकर्षण कस्तो छ भन्ने परीक्षणका रूपमा हेरिएको छ।

भारतमा ५० करोडभन्दा बढी प्रयोगकर्तालाई मोबाइल नेटवर्क सेवा प्रदान गर्ने जियो प्लेटफर्म्सले हिन्दु पर्वको समयमा आईपीओ ल्याएको हो। यो समयलाई शुभ मानिन्छ।

जियो प्लेटफर्म्सको आईपीओले कम्पनीको मूल्याङ्कन १०८ अर्ब ३० करोड डलरसम्म पुर्‍याउने अनुमान छ। बुधबारदेखि सेयर कारोबार सुरु हुँदा यो बजार पुँजीकरणका आधारमा भारतका ठूला कम्पनीमध्ये एक बन्न सक्नेछ।

संस्थागत तथा खुद्रा लगानीकर्ता, कर्मचारी र विद्यमान सेयरधनीको बलियो मागका कारण सर्वसाधारणका लागि छुट्याइएको सेयरको तुलनामा २२ गुणाभन्दा बढी आवेदन परेको छ। यदि अधिकांश बोलकबोल प्रतिकित्ता १ हजार ११९ भारु (११.७९ डलर) को अधिकतम मूल्यमा गरिएको हो भने माग ५१ अर्ब ५० करोड डलरभन्दा बढी पुगेको हुनेछ।

यसमा अबुधाबी इन्भेस्टमेन्ट अथोरिटी, ब्ल्याक रक र फिडेलिटी जस्ता प्रमुख लगानीकर्ताले छुट्याइएको ८५ करोड ४० लाख डलर बराबरको सेयरका लागि गरेको कुल २५ अर्ब ६० करोड डलरको बोलकबोल जोडिएको छैन।

दीर्घकालीन सम्पत्ति सिर्जना गर्ने कम्पनी

रिलायन्सका एक अधिकारीले रोयटर्सलाई बताएअनुसार जियो प्लेटफर्म्सको आईपीओमा १ करोड ३८ लाखभन्दा बढी आवेदन परेका छन्, जुन भारतमा अहिलेसम्मकै उच्च हो। चीनको मेमोरी चिप निर्माता कम्पनी सीएक्सएमटीको ८ अर्ब ६० करोड डलरको आईपीओमा करिब ९४ लाख खाताबाट आवेदन परेको थियो। उक्त निष्कासन यस वर्ष एसियाकै सबैभन्दा ठूलो हो।

“लामो समयपछि रिलायन्सको आईपीओ आउनु नै यस सेयरप्रति ठूलो उत्साह र उन्माद पैदा गर्ने कारण बनेको छ,” वेल्थमिल्स सेक्युरिटिजका इक्विटी रणनीतिकार क्रान्ति बाथिनीले भने।

अम्बानीका जेठा छोरा आकाश अम्बानीको नेतृत्वमा रहेको जियो प्लेटफर्म्समा मेटा प्लेटफर्म्स ( META.O ) र अल्फाबेटको गुगल (GOOGL.O) लगायतका कम्पनी लामो समयदेखि लगानीकर्ताका रूपमा छन्।

बुधबार खुलेको जियोको आईपीओ दुई घण्टाभित्रै पूर्ण रूपमा बिक्रीका लागि आवेदन परेको थियो। भारतका अधिकांश आईपीओमा आवेदन क्रमशः बढ्ने र संस्थागत लगानीकर्ताले प्रायः अन्तिम घण्टासम्म पर्खेर आवेदन दिने गरेको अवस्थाभन्दा यो फरक थियो।

जियो प्लेटफर्म्स रिलायन्स इन्डस्ट्रिजको हिस्सा हो। सन् २००६ यता कम्पनीको सेयरको प्रतिफल करिब ९०० प्रतिशत पुगेको छ, जुन प्रमुख सेयर सूचकांक निफ्टीको ६८५ प्रतिशत प्रतिफलभन्दा बढी हो। एलएसईजीको तथ्यांकअनुसार यही कारण रिलायन्सलाई भारतीय लगानीकर्ताले दीर्घकालीन सम्पत्ति सिर्जना गर्ने कम्पनीका रूपमा हेर्ने गरेका छन्।

सन् २०१६ मा सुरु भएको जियो प्लेटफर्म्सको दूरसञ्चार व्यवसायले निःशुल्क भ्वाइस कल र डेटा उपलब्ध गराएर बजारमा ठूलो परिवर्तन ल्याएको थियो। यसले भारती एयरटेल र भोडाफोन आइडिया जस्ता प्रतिस्पर्धीलाई चुनौती दिएको थियो। एउटै देशभित्रका ग्राहकको संख्याका आधारमा जियो अहिले चाइना मोबाइल ( 600941.SS ) पछि दोस्रो स्थानमा छ।

शुक्रबार बजार बन्द हुँदासम्म आईपीओमा संस्थागत लगानीकर्ताका लागि छुट्याइएको सेयरमा माग ७०.५५ गुणा पुगेको थियो। यसले ठूला लगानीकर्ताको बलियो चासो देखाउँछ। खुद्रा लगानीकर्ताका लागि छुट्याइएको सेयरमा २.७ गुणा आवेदन परेको थियो भने कर्मचारी र रिलायन्सका विद्यमान सेयरधनीका लागि छुट्याइएको सेयरमा क्रमशः २.९३ गुणा र ७.६ गुणा आवेदन परेको तथ्यांकले देखाएको छ।

रिलायन्सको स्थापना आकाश अम्बानीका हजुरबुबा धीरुभाइ अम्बानीले गरेका थिए। उनले सन् १९८० को दशकमा मुम्बईमा ठूलो संख्यामा सेयरधनी भेला गरेर कम्पनीको खुद्रा लगानीकर्ता आधार विस्तार गरेका थिए।

रिलायन्सको वेबसाइटका अनुसार सन् १९७७ मा कम्पनीको सेयर सूचीकृत भएपछि भारतमा सेयर बजारमा लगानी गर्ने प्रवृत्ति लोकप्रिय हुन थालेको थियो। वेबसाइटमा उक्त घटनालाई भारतमा “सेयर लगानीको संस्कृतिको सुरुआत” गराउने कदमका रूपमा वर्णन गरिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Arthasansar
1d ago
हिम पर्वत हाइड्रोपावरको आईपीओ मंसिर १० गतेसम्म आवेदन दिन पाइने

हिम पर्वत हाइड्रोपावरको आईपीओ मंसिर १० गतेसम्म आवेदन दिन पाइने

हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखिदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा मंसिर १०...

#आईपीओ #आवेदन
Compare →

Related Stories

World News
Build #2611