रोजगारी, अध्ययन र अन्य कामले टाढिएका परिवारजन नवरात्रि मनाउन गाउँ फर्किएपछि पहाडी जिल्लाका पुर्ख्यौली थलोमा पुरानो रौनक फर्किएको छ।
बैतडी — दसैँको सुरुवातसँगै सुदूरपश्चिमका मन्दिरहरूमा पूजापाठ, भजनकीर्तन र दर्शनका लागि भक्तजनको चहलपहल बढेको छ ।
सुदूरपश्चिममा घटस्थापनादेखि नै नवरात्रि मनाउने विशिष्ट धार्मिक तथा सांस्कृतिक परम्परा छ । नौ दिनसम्म दुर्गा भवानी र इष्टकुल देवताको पूजा आराधना गर्दै भक्तजनले सुख, शान्ति, समृद्धि र परिवारको कल्याणको कामना गर्छन् ।
सुदूरपश्चिमका पहाडी जिल्लामा घटस्थापनादेखि नै नवरात्राको विशेष रौनक देखिन्छ । अन्य कतिपय स्थानमा फूलपातीदेखि दसैँको चहलपहल बढ्ने भए पनि यहाँ घटस्थापनादेखि नै देवीदेवताको पूजाआजा र धार्मिक अनुष्ठान सुरु हुन्छन् । नौ दिनसम्म देवी दुर्गाका विभिन्न स्वरूपको आराधना गर्नुका साथै इष्टकुल देवताको पूजा गर्ने परम्परासमेत रहेको संस्कृतिका जानकार बैतडीको पाटनका भानदेव भट्टले बताए ।
धार्मिक मान्यताअनुसार वर्षमा दुई पटक नवरात्रि मनाइन्छ । आश्विन शुक्ल प्रतिपदादेखि शरदीय नवरात्रि र चैत शुक्ल प्रतिपदादेखि वासन्तीय नवरात्रि सुरु हुन्छन् । दुवै नवरात्रि देवीदेवताको आराधना र साधनाका दृष्टिले महत्त्वपूर्ण मानिने ज्योतिष पण्डित यज्ञराज पन्तले बताए । शरदीय नवरात्रि दसैँसँग जोडिएकाले चहलपहल बढी भए पनि वासन्तीय नवरात्रिको धार्मिक तथा सांस्कृतिक महत्त्व अझ व्यापक रहेको उनको भनाइ छ ।
नवरात्रि धार्मिक अनुष्ठानमा मात्र सीमित छैन । यसले परिवार, समाज र पुर्ख्यौली थलोसँगको सम्बन्धलाई पनि बलियो बनाउँछ । सुदूरपश्चिमका पहाडी जिल्लाबाट रोजगारी, व्यापार तथा विभिन्न कामका सिलसिलामा तराई झरेकाहरू दसैँका बेला गाउँ फर्किन्छन् । अध्ययन, रोजगारी र अन्य कामविशेषले देशका विभिन्न सहर तथा विदेशमा रहेका व्यक्तिहरू पनि नवरात्रा र दसैँ मनाउन पुर्ख्यौली थलो पुग्ने गर्छन् ।
वर्षौँदेखि टाढिएका आफन्तबीच भेटघाट हुने, कुल देवताको पूजा गर्ने र पारिवारिक सम्बन्ध नवीकरण गर्ने अवसरका रूपमा समेत नवरात्रालाई लिने गरिएको दार्चुलाको लेकमका धनञ्जय जोशीको भनाइ छ । उनका अनुसार यसले गाउँघरमा चहलपहल बढाउनुका साथै स्थानीय संस्कृति र परम्परालाई निरन्तरता दिन मद्दत पुर्याउँछ ।
सुदूरपश्चिममा इष्टकुल देवताको पूजाआजा पनि दसैँको महत्त्वपूर्ण पक्ष हो । कतिपय स्थानमा धामी झाँक्रीसहित परम्परागत धार्मिक विधि अपनाइन्छ भने कतै भजनकीर्तन र सामूहिक पूजाआजा गरिन्छ । स्थानअनुसार विधि र परम्परामा भिन्नता भए पनि देवीदेवताको आराधना, पारिवारिक सुख समृद्धिको कामना र सांस्कृतिक निरन्तरता यसको साझा विशेषता रहेको बैतडीको बाग्कोट बस्ने धर्याल देवताका धामी भवानीदत्त बागले बताए। घटस्थापनासँगै सुरु भएको नवरात्रिले धार्मिक आस्था र सांस्कृतिक परम्परालाई जीवन्त राख्नुका साथै रोजगारी, अध्ययन र विभिन्न कारणले टाढिएका परिवारका सदस्यलाई पुर्ख्यौली थलोमा जोड्ने काम पनि गरेको उनले बताए ।
हरिश्चन्द्र बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन्।