नेपालसँग पानी छ, भूगोल छ, र विगत भन्दा उत्पादन क्षमता पनि बढेको छ। नेपाल पानीको धनी देश हो भन्ने वाक्य सुन्न थालेको करिब ५ दशक भयो। तर पानीमा धनी भएर मात्र देश धनी हुँदैन। पानीबाट बिजुली बनाउने, त्यो बिजुली बेच्ने बजार पाउने र बेचेर आएको पैसाले व्यापार घाटा घटाउने क्षमता भएपछि मात्र धनी हुन्छ। कुल विदेशी व्यापारको करिब ९० प्रतिशत आयात गर्ने देश नेपालका लागि व्यापार असन्तुलन कम गर्ने नजिकको साधन जलविद्युत् निर्यात नै हो। प्रधानमन्त्री बालेन्द्र शाह केही दिन अघि मात्रै भारत भ्रमण सम्पन्न गरी नेपाल फर्किसकेका छन् । नेपालको पानीको शक्तिलाई जलविद्युतको व्यापार कूटनीतिका रूपमा बदल्नु अहिलेको मुख्य आवश्यकता हो। त्यसका लागि आफ्ना कमजोरीलाई पनि खुला रूपमा समीक्षा गर्नुपर्ने समय आएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा देशको जडित क्षमता करिब ४,१०० मेगावाट पुग्यो। एक वर्षमै ५ सय मेगावाटभन्दा बढी थपियो। यो काम मुख्यतः निजी क्षेत्रले गरेको हो, जसको उत्पादन हिस्सा करिब ८४ प्रतिशत छ। यो सफलता सानो होइन। एक दशकअघि लोडसेडिङमा बाँचेको देश आज मंसिरको सुक्खा सुरु हुने समयमा २,७०० मेगावाट उत्पादन गर्छ, जबकि घरेलु माग २,२०० मेगावाट हाराहारी मात्र छ। अहिलेसम्मको सबैभन्दा धेरै राष्ट्रिय विद्युत् माग २,४०९ मेगावाट हो।
विद्युत् व्यापारमा पनि परिवर्तन देखिएको छ। गत आर्थिक वर्ष नेपालले ३.८८ अर्ब युनिट बिजुली निर्यात गरेर रु. २९.३२ अर्ब कमायो। आयात १.१५ अर्ब युनिटमा झर्यो र त्यसमा १०.५६ अर्ब रुपैयाँ खर्च भयो। अर्थात् खुद आय करिब १८.७६ अर्ब छ। पाँच वर्षअघिसम्म लगभग शून्य भएको विद्युत् निर्यात सन् २०२४ मा पहिलोपटक आयातभन्दा धेरै भयो। तर यो उपलब्धिलाई नजिकबाट हेर्दा त्यसभित्र धेरै समस्याहरू पनि देखिन्छन्।
पहिलो समस्या मौसमी असन्तुलन हो। नेपालका अधिकांश आयोजना नदी प्रवाहमा आधारित छन्। हिउँदमा उत्पादन क्षमताको करिब चौथाइ मात्र रहन्छ। त्यसैले वर्षामा बिजुली फाल्नुपर्छ र हिउँदमा आयात गर्नुपर्छ। अबका केही महिनामा पनि प्राधिकरणले निरन्तर ५०० मेगावाट र चरम समयमा ८००–९०० मेगावाटसम्म आयात गर्नुपर्ने अनुमान गरेको छ। हिउँदमा छिमेकीको बिजुली किन्नु आफैँमा योजनाको असफलताको प्रमाण हो।
दोस्रो, प्रसारण लाइन हो। उत्पादन बनाउन निजी क्षेत्र तयार भयो, तर लाइन समयमा बनेन। अधिक उत्पादनले जुलाईमा प्राधिकरणले उत्पादन कटौतीको आदेश दिनुपर्यो। बनेको बिजुली ग्रिडमा नपुग्नु भनेको पैसा खेर फालेजस्तै हो। यसको जवाफदेही राज्य हो।
तेस्रो, विद्युत् खरिद सम्झौता (पीपीए)को रोक ठूलो समस्या हो। विगत केही वर्षदेखि नयाँ सम्झौता लगभग ठप्प छ। करिब ३००० आयोजना (१६,५०० मेगावाट) सम्झौता कुरेर बसेका छन्। चालु वर्षको बजेटले ‘टेक-अर-पे’ फर्काएको भए पनि नयाँ सम्झौता खासै भएको छैन। जुन देशले सरकारी निर्णयको निरन्तरता देखाउँदैन, त्यहाँ बैंक र लगानीकर्ताले ढुक्क भएर कसरी लगानी गर्न सक्छन्!
चौथो समस्या भारतको अनुमतिमाथिको निर्भरता हो। भारतले करिब १,१७९ मेगावाट निर्यातको अनुमति दिएको छ। तर ६०९ मेगावाटको द्विपक्षीय अनुमति अक्टोबर अन्त्यमा सकियो र ढिलो गरी मात्रै आईईएक्समा रूपान्तरण गरियो । बंगलादेशतर्फ थप २० मेगावाट पठाउन पनि समस्या देखिएको छ। अर्थात् हाम्रो बिजुली कसले, कति र कहिले किन्ने भन्ने निर्णय अर्कैको हातमा छ।
पाँचौँ, जोखिमको केन्द्रीकरण हो। २०८३ भदौमा आएको बाढीले भोटेकोशी–त्रिशूली करिडोरमा ठूलो क्षति गर्यो। यसबाट करिब ७०० मेगावाट उत्पादन क्षमता प्रभावित भएको बताइएको छ। बागमती र गण्डकी प्रदेशमै विद्युत् उत्पादन क्षमताको करिब ७१ प्रतिशत केन्द्रीकृत भएको छ।
छैटौँ, बढाइचढाइ पनि एउटा समस्या हो। सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाटको उत्पादन लक्ष्य राखेको छ, तर अहिलेको अधिकतम माग २,४०९ मेगावाट छ। १० वर्षअघिको सरकारी अनुमानमा सन् २०२६ सम्म आन्तरिक माग ५,८०० मेगावाट हुने अपेक्षा गरिएको थियो। तर यथार्थमा करिब २,४०० मेगावाट मात्र माग आयो। यस्तो काल्पनिक अनुमानले लगानी र प्रसारणको योजना दुवै बिगार्छ। भारतीय कम्पनीले धेरै ठूला आयोजनाहरू पाए पनि निर्माणमा अरुण–३ मात्र छ। त्यो पनि सन् २०१८ मा सुरु भएर निर्माण सम्पन्न मिति २०२८ मा धकेलिएको छ।
हरित ऊर्जा नेपालको नयाँ व्यापारिक मुद्रा
केही कमजोरी हुँदाहुँदै पनि नेपालसँग यस्तो एउटा कुरा छ जुन अरू धेरै देशसँग छैन: लगभग पूर्ण रूपमा नवीकरणीय बिजुली। विश्वले अब कार्बनको मूल्य तिर्न थालेको छ। युरोपेली संघको कार्बन सीमा समायोजन संयन्त्र (सीबीएएम) सन् २०२६ बाट निर्णायक चरणमा प्रवेश गरेको छ। फलाम र स्टिल, एल्युमिनियम, सिमेन्ट, मल, हाइड्रोजन र बिजुलीजस्ता वस्तु युरोप निर्यात गर्दा उत्पादनमा निस्केको कार्बनको शुल्क तिर्नुपर्छ। भारतीय साना तथा मझौला उद्योगमा यसको दबाब पर्ने विश्लेषण भइरहेका छन्।
कोइलाको बिजुलीले बनेको सामानभन्दा जलविद्युतबाट बनेको सामान युरोपेली बजारमा सस्तो र बढी स्वीकार्य हुन्छ। फोसिल इन्धनको बिजुली सस्तो देखिए पनि कार्बन शुल्क जोड्दा त्यो सस्तो रहँदैन। जलविद्युतको इन्धन लागत शून्य छ र एकपटक बनेपछि दशकौँ चल्छ। नेपाललाई यहाँ दोहोरो फाइदा छ। एकातिर भारत र बंगलादेशका उद्योगलाई हरित बिजुली बेचेर कमाइ गर्न सकिन्छ। अर्कोतिर आफ्नै सिमेन्ट, स्टिल र प्रशोधन उद्योगलाई हरित बिजुलीमा चलाएर निर्यात बजारमा प्रतिस्पर्धी बनाउन सकिन्छ। घरभित्र पनि बिजुलीले खाना पकाउने र सवारीसाधन चलाउने बाटो खुल्यो भने पेट्रोलियम र एलपीजीको आयात घट्छ।
तर हाम्रो बिजुली हरित हो भनेर प्रमाणित गर्ने प्रणाली चाहिन्छ। नेपालले निर्यात गर्ने बिजुलीको उत्पादन स्थल र हरित प्रमाणपत्र दुवै स्पष्ट गर्न सकेन भने खरिदकर्ताले त्यसको अतिरिक्त मूल्य तिर्दैनन्। यो काम अहिलेसम्म नीतिको सूचीमा मात्र छ।
भन्सार विभागको तथ्यांकअनुसार यस आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको कुल वस्तु व्यापार घाटा ५३२.४९ अर्ब रुपैयाँ पुग्यो। भारतसँगको घाटा मात्रै २७१.१९ अर्ब रुपैयाँ थियो। भारतबाट ३६६.७८ अर्ब बराबरको आयात भयो, निर्यात ९५.५९ अर्ब मात्र भयो। अघिल्लो आर्थिक वर्षमा भारतसँग कुल आयात १२१०.६० अर्ब, निर्यात २५८.६५ र व्यापार घाटा ९५१.९५ अर्ब रुपैयाँ थियो। यत्रो घाटाको अगाडि बिजुलीको खुद आय १८.७६ अर्ब केही पनि होइन। यो भारतसँगको अघिल्लो आर्थिक वर्षको घाटाको करिब १.९६ प्रतिशत मात्र हो। त्यसैले बिजुली निर्यातलाई घाटा घटाउने मुख्य उपाय भन्नु निरर्थक छ।
तैपनि सम्भावना धैरै छ। उदाहरणका लागि, १ हजार मेगावाटले ६० प्रतिशत लोड फ्याक्टरमा वर्षमा करिब ५.२६ अर्ब युनिट उत्पादन गर्छ। अहिलेको औसत निर्यात मूल्य रु. ७.५६ प्रति युनिटमा यो करिब ४० अर्ब रुपैयाँ हुन्छ। यसको अर्थ हजारौँ मेगावाट बिजुली स्थायी रूपमा बिक्री भयो भने मात्र बिजुलीले व्यापार घाटामा सार्थक असर पार्छ। त्यसका लागि स्थायी बजार र भरपर्दो लाइन चाहिन्छ, जुन अहिले छैन।
भारतसँगको बिजुली कुटनीति, के गर्ने?
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण (नोभेम्बर २२–२३, २०२६) का क्रममा दुई देशबीच जारी संयुक्त विज्ञप्तिले पहिले नै भइसकेको दीर्घकालीन विद्युत् व्यापार सम्झौता (जसअन्तर्गत भारतले १० वर्षमा नेपालबाट १०,००० मेगावाट विद्युत् खरिद गर्नेछ) लाई तीव्रताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। भारतले नेपालको ऊर्जा क्षेत्रमा १ खर्ब ८४ अर्ब नेपाली रुपैयाँ (१ खर्ब १५ अर्ब भारु) सहुलियतपूर्ण ऋण दिने घोषणा गरेको छ । ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल शिलान्यास, इनरुवा–न्यु पूर्णिया र दोधोधरा–बरेली अन्तरदेशीय प्रसारण लाइन निर्माण अघि बढाउने तथा पञ्चेश्वर, सप्तकोशी र सुनकोशी आयोजनाको डीपीआर छिट्टै टुङ्ग्याउने सहमति भएको छ। ऊर्जाबाहेकका बाढीपछिको पुनर्निर्माण, पूर्वाधारका लागि अनुदान, अयोध्या–जनकपुर रेल सेवाको शुभारम्भ, नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना लगायतका केही विषयहरूमा पनि महत्वपूर्ण सहमति भएको छन्। तर मुख्य रुपमा बिजुली व्यापारसम्बन्धी मुद्दालाई जोडेर सरकारले भविष्यका लागि केही स्पष्ट मार्गचित्र तयार गर्नुपर्छ।
सबैभन्दा पहिले, १० वर्षमा १० हजार मेगावाट निर्यात गर्ने सन् २०२४ को सहमति शब्दको मात्र छ। त्यसलाई दीर्घकालीन, स्पष्ट र न्यूनतम मूल्य खुलाइएको खरिद सम्झौतामा बदल्नुपर्छ। दोस्रो, एक–एक वर्षका अनुमति हरेक पटक सकिने र नवीकरणका लागि भौँतारिनुपर्ने अवस्था हटाउनुपर्छ। अनुमति बहुवर्षीय र स्वचालित हुनुपर्छ, र आईईएक्समा नेपाली बिजुलीको स्थायी पहुँच सुनिश्चित गर्नुपर्छ। तेस्रो, बुटवल–गोरखपुर, इनरुवा–पूर्णिया, लुम्की–बरेलीजस्ता सीमापार लाइनमा दुवैतर्फ समयसीमा तोक्नुपर्छ। भारतीय खण्ड ढिला भए नेपाली उत्पादकले ब्यहोर्नु पर्ने क्षतिको क्षतिपूर्तिको कुरा पनि टेबलमा आउनुपर्छ।
चौथो, बंगलादेशको बजारमा भारतको भूमि भएरै जानुपर्छ। यसैले ४० मेगावाटको सानो सम्झौतालाई अगाडि बढाउन भारत सहित त्रिपक्षीय सम्झौता चाहिन्छ। पाँचौँ, हरित प्रमाणपत्रलाई भारत र बंगलादेशले मान्यता दिनुपर्छ ताकि सीबीएएमको दबाबमा रहेका उनीहरूका उद्योग नेपाली बिजुली किन्न उत्साहित होऊन्। छैटौँ, भारतीय कम्पनीले पाएका आयोजनामा समयबद्ध प्रतिबद्धता चाहिन्छ। लामो समय निर्माण नगर्ने आयोजनाको अनुमतिपत्र पुनरावलोकन गर्ने सर्त राख्नुपर्छ। सातौँ, चिनियाँ लगानी वा उपकरण भएका आयोजनाको बिजुली भारतले नकिन्ने अवरोधबारे स्पष्ट कुरा गर्नुपर्छ। नेपालले आफ्नो स्वार्थ जोगाउन वैकल्पिक बाटो पनि खोज्नुपर्छ। अन्तमा, पुनर्निर्माण सहयोगमा क्षतिग्रस्त प्रसारण लाइन, सबस्टेसन र प्रारम्भिक चेतावनी प्रणाली समावेश गर्नुपर्छ।
एउटा सावधानी पनि जरुरी छ। सहयोग पाइयो भन्ने शीर्षकभन्दा लिखित र समयबद्ध सम्झौता बढी महत्त्वपूर्ण हुन्छ। र, बिजुली बेच्ने एक मात्र ग्राहक भारत हुनु जोखिम हो। कुटनीतिक सफलता प्राप्त नभएमा जतिबेला पनि अनुमति रोकिन सक्छ।
भारतसँग माग गर्नुअघि हामीले आफ्नै काम गरेको हुनुपर्छ। रोकिएको पीपीए तुरुन्त खोलेर हिउँदको ऊर्जा, साँझको माग र प्रसारण उपलब्धतामा आधारित स्पष्ट मापदण्ड प्रकाशित गर्नुपर्छ। रन अफ दि रिभरको सट्टा पिकिङ प्रकारको वा जलाशययुक्त आयोजनालाई प्राथमिकता दिनुपर्छ, किनभने तिनले हिउँदमा बिजुली दिएर आयात घटाउँछन् र बढी मूल्य पनि पाउँछन्। प्रसारण लाइन समयमै बन्नुपर्छ। त्यसबिना नयाँ उत्पादन थपेर फाइदा छैन।
विद्युतीय खाना पकाउने, सवारी साधन र उद्योगका लागि वर्षामा सस्तो दर दिएर घरेलु माग बढाउनुपर्छ। कोरिडोर विविधीकरण गर्दै कर्णाली र सुदूरपश्चिमका आयोजना अघि बढाएर जोखिम घटाउनु पर्छ। नयाँ आयोजनामा बाढी तथा हिमताल जोखिम अध्ययन र प्रारम्भिक चेतावनी प्रणाली अनिवार्य हुनुपर्छ।
नेपालको जलविद्युत् क्षेत्र सही दिशामा छ, तर सुरक्षित बाटोमा छैन। क्षमता बढ्यो, निर्यात बढ्यो र आयात घट्यो। तर, प्रसारण लाइन, रोकिएको पीपीए, हिउँदमा बिजुली अभाव, बाढीको जोखिम र भारतको अनुमतिमाथिको निर्भरताले यो प्रगतिलाई कमजोर बनाइरहेको छ। हरित ऊर्जा आगामी दशकमा व्यापारको नयाँ मुद्रा बन्दैछ। हामीले हरित प्रमाणपत्र, दीर्घकालीन सम्झौता, आन्तरिक प्रसारण क्षमता र नीतिगत सुधार सबै काम सँगसँगै गर्न सकेनौँ भने यी अवसर अरू देशले खोसिदिनेछन्। दुइतिहाइ बहुमतको शक्तिशाली सरकार भए पनि सरल देखिएका प्रधानमन्त्रीको नेतृत्वले यी विषयहरूमा भारतसँग कूटनीतिक सफलता पाउने अपेक्षा गर्न सकिन्छ।
फुयाल एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् ।